November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी सरकार विस्तारमा ‘दीपेन्द्रले अड्याएको हलो’

भैरहवा– लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएको ७ महिना पुगेको छ । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन । यति लामो समयसम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै मुख्यमन्त्री चौधरीको आलोचना भइरहेको छ । तर, खासमा सरकार विस्तारमा ‘अड्को’ थाप्ने काम भने मुख्यमन्त्रीको पार्टी काँग्रेस र मुख्य सत्ता साझेदार दल माओवादीले गरेका छन् ।

Advertisement

स्वतन्त्र उम्मेदवारी दिएर रोल्पाबाट प्रदेशसभामा निर्वाचित सांसद् दीपेन्द्र पुनलाई मन्त्री बनाउनुपर्ने माओवादीको अडान र उनलाई कुनै पनि हालतमा मन्त्री बन्न नदिने काँग्रेस लुम्बिनी प्रदेश समितिको अडानले सरकारले पूर्णता पाउन नसकेको हो । आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएको भन्दै दीपेन्द्रलाई कुनै पनि हालतमा मन्त्री बन्न नदिने जोडबलमा काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन छन् । निर्वाचित भए पछि माओवादी प्रवेश गरेका दीपेन्द्रलाई जसरी हुन्छ मन्त्री बनाउने दाउमा माओवादी छ । यहाँनिर ‘हलो अड्किएको’ छ ।

Advertisement

सत्तासाझेदारबीच अन्य विकल्पमा छलफलसमेत भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा गर्दावित्तीकै माओवादीले दीपेन्द्रको नाम अघि सार्ने गरेको छ । तर, काँग्रेसले दीपन्द्रको नाम सुन्तावित्तिकै नाक खुम्च्याउँछ । आफ्नै पार्टी र माओवादीको घेरामा मुख्यमन्त्री छन् । उनले प्रदेशमा सत्ता साझेदारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् । निकास अझै निस्केको छैन ।

आठ दलीय गठबन्धनको समर्थन पाएर मुख्यमन्त्री बनेका चौधरीले आठ महिना भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसक्दा उनी आफै खिन्न छन् । माओवादीले सरकारमा सहभागिताका लागि यसअघि नै दिपेन्द्रको नाम पठाएको थियो । तर गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस लुम्बिनी सभापति पुनलाई पराजित गरेपछि दिपेन्द्रलाई मन्त्री बनाउन कांग्रेस कुनै पनि हालतमा तयार छैन ।

कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीलाई प्रदेश सभापति अमरसिंहले दिपेन्द्रलाई मन्त्री नबनाउन दवाव दिइरहेका छन् । सभापति पुनले यो विषय नेपाली कांग्रेसका केन्द्रीय समितिको बैठकमा समेत राखेका थिए । यहि कारण सत्तारुढ दलभित्र असमझदारी बढेको छ । माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन जसरी पनि दिपेन्द्रलाई मन्त्री बनाउने बताइरहेका छन् ।

स्वतन्त्रबाट चुनावमा विजयी भएका दिपेन्द्रलाई वर्षमान पुनले मन्त्रीको आश देखाएर माओवादीमा तानेका थिए । तर, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी भने दिपेन्द्रलाई मन्त्री बनाउने पक्षमा छैनन् । यही कारणले पनि कांग्रेसले माओवादीलाई दिपेन्द्रको स्थानमा नयाँ नाम माग्न खोजिरहेको छ ।

सरकार विस्तारको सन्दर्भ र दिपेन्द्रलाई मन्त्री बनाउनेबारे मुख्यमन्त्री चौधरी, माओवादी नेता वर्षमान पुन, नेता ओनसरी घर्ती, माओवादीका संसदीय दलका नेता महरासहितका नेताहरू छलफल समेत गरेका थिए । तर मन्त्री थप्नेबारे एकमत देखिए पनि दिपेन्द्रबारे सहमति बन्न नसकेपछि अहिले सबै अन्यौलमा छन् । १० सदस्यीय मन्त्रिपरिषदमा अहिले ६ जना मात्र मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित एक मन्त्रालय लिएको छ । गठबन्धनका साझेदार दलहरू माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीबाट एक–एक जना मन्त्री छन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित स्वास्थ्य पाउँदा माओवादीबाट अर्थमन्त्रीमा टेक बहादुर मास्की सरकारमा छन् । लोसपाले प्रहरीविनाको गृह मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन् । सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई भागबन्डा पुगेको छैन । मुख्यमन्त्री चौधरीले भने केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने जनाएका छन् ।

सरकार गठनअघि माओवादी केन्द्रले तीन वटा मन्त्री पाउने सहमति भएको थियो । माओवादीले अहिलेका अर्थमन्त्री मास्कीबाहेक कृष्णा केसी ‘नमुना’ र दीपेन्द्र पुनको नाम पनि सिफारिस गरिसकेको छ । हाल लुम्बिनी प्रदेशमा जम्मा तीन वटा मात्र मन्त्रालय खाली छन् । मुख्यमन्त्री चौधरीले मन्त्रालय फुटाएर भए पनि सरकार विस्तार गर्ने अन्तिम तयारीमा छन् । तर पार्टीले मन्त्रालय नबढाउने र हालकै अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने निर्णय नै गरेको छ । यसले उनी चेपुवामा परेका छन् ।

सहमतिअनुसार माओवादीले दुई वटा मन्त्रालय पाउनुपर्छ । यसो भएमा नेपाली कांग्रेस एउटा मात्र मन्त्रालयमा खुम्चन्छ । कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकार विस्तारका बारे छलफल भइरहेको र माओवादीसँग कुरा मिलेपछि तुरुन्त भइहाल्ने बताउँछन् । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशको बैठकले अहिलेको अवस्थामा आर्थिक भार सरकारलाई बढि नपर्ने गरी भागबन्डा मिलाउन निर्देशन दिएको बताए । मन्त्रालय थप्नु अहिलेको परिस्थितिमा पार्टी र देशकै लागि उचित नहुने उनको भनाइ छ ।

यसअघि अहिलेकै गठबन्धन सरकारले प्रदेशमा १० मन्त्रीबाट बढाएर १७ जना बनाएको थियो तर त्यसपछि एमाले नेतृत्वको सरकारले त्यसलाई घटाएर १० मन्त्रालयमा सीमित बनाएको थियो । लुम्बिनीमा तीन मन्त्रालय खाली छन् । माओवादीले दुई मन्त्रालयको अडान नछाड्दा कांग्रेसको भागमा एउटा मात्र मन्त्रालय हुनेछ । तर कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको लर्को छ ।

यस्तोमा पनि मुख्यमन्त्री चौधरीले कांग्रेसभित्र संस्थापन र इतर पक्ष मिलाउनुपर्ने दवावमा छन् । हाल सरकारमा गएका मुख्यमन्त्री चौधरी र स्वास्थ्यमन्त्री ढकाल संस्थापन पक्षका हुन् । त्यसैले इतर समूहले आफ्नो सहभागिता खोजिरहेको छ । इतर समूहबाट वीरबहादुर राना, विश्वप्रेम पाठक र भुवनेश्वर चौधरीमध्ये एकलाई छान्ने तयारी गरिएको छ । यदि संस्थापनबाट मन्त्री बनेमा बाँकेका बादशाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की मन्त्री बन्ने सम्भावना बढी छ । काँग्रेसमा मन्त्री बन्नेको लर्को र माओवादीको अडान तथा मन्त्रालय नबढाउने काँग्रेस लुम्बिनीको निर्णयले मुख्यमन्त्री हलचल गर्न सकेका छैनन् ।