November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

दिपावलीलाई उल्लासमय बनाएका रईस

भैरहवा– भैरहवाका एकजना युवा व्यवसायीले दिपावली तथा तिहारलाई उल्लासमय बनाउन बर्षेनि लाखौं रुपैयाँ व्यक्तिगत रुपमा खर्च गर्ने गरेका छन् । सिद्धार्थनगरको मिलन चोकस्थित युनिक साउण्डका संचालक ३५ बर्षीय रईस खानले दिपावली तथा तिहारलाई भैरहवामा आकर्षक बनाउन यसरी खर्च गर्ने गरेका हुन् । यस बर्ष पनि उनले लाखौं रुपैयाँ खर्चेर दिपावली लक्षित कार्यक्रम संचालन गरेका छन् ।

Advertisement

‘कोभिड संक्रमण सुरु भएपछि नै भैरहवामा दिपावली तथा तिहारको रौनक उति सारो छैन’, खानले भने, ‘भैरहवालाई गुल्जार र उल्लासमय बनाउन एक्लो प्रयाश र लगानीमा विभिन्न कार्यक्रम गर्ने गरेको छु । आइत्बार साँझ लक्ष्मी पूजाको अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।’ एक पटकको दिपावलीको वेलामा ६ देखि ७ लाख रुपैयाँसम्म खर्च गरेर यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताए ।

Advertisement

तिहारको धनतेरस आउनु भन्दा तीन–चार दिन अघिदेखि नै उनले मिलन चोकस्थित सडकमा झिलीमिली बनाउन लाइटमा ३ लाख जति खर्च गर्ने गर्छन् । लक्ष्मी पुजाको दिन भैरहवामा सांीगतिक तथा मनोरञ्जन दिनका लागि स्टेज तयार पारेर स्थानीय र राष्ट्रिय कलाकार जुटाउने गर्छन् । कलाकार सहितको सांगीतिक कार्यक्रमका लागि साढे ३ देखि ४ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

सडकमा सजावटका लागि विभिन्न रंगिबिरंगी बत्तिको लाइटका लागि खर्च हुने गर्छ । स्टेज तयार पार्न र कलाकारलाई पारिश्रमिक दिन पनि खर्च लाग्छ । यो खर्च जुटाउन खानले न कुनै संघसंस्था र सरकारी निकायमा मग गर्ने गरेका छन् । न त स्थानीय व्यवसायीसंग चन्दा तथा सहयोगको उठाउने गरेका छन् ।

याहाँसम्मकी उनले अहिलेसम्म कुनै पनि उद्योग व्यवसायीबाट कार्यक्रमका लागि स्पोन्सर समेत जुटाएका छैनन् । सांगीतिक कार्यक्रम खुल्ला हुने भएकाले दर्शकले निःशुल्क हेर्ने गर्छन् । उनले यसरी व्यक्तिगत खर्चमा कार्यक्रम संचालन गर्दै आएको आठ बर्ष भयो ।

सामान्य एउटा राजनीतिक कार्यक्रम आयोजना गर्न भन्दै उद्योग व्यवसायीसंग अकुत चन्दा र सहयोग उठाउने गरेका विभिन्न राजनीतिक दल, तिनका भातृ संगठन, चुनावका वेला उठ्ने उम्मेदवार र पर्यटन प्रबद्र्धनका कार्यक्रमका नाममा स्थानीय तह र सरकारी बजेट अपरादर्शी रुपमा खर्च गर्ने गरेका कतिपय नीजि क्षेत्रका संघसंस्थाका लागि उनले गर्दै आएको कार्यक्रम अनुशरणीय छ ।

बिगत केही बर्षदेखि खानले संचालन गर्दै आएको यस खालको कार्यक्रमका वारेमा स्थानीय व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव बिजय पाण्डे खुलेर प्रशंसा गर्छन् । ‘स्थानीय बजारलाई गुल्जार बनाउने र आन्तरिक पर्यटन प्रबद्र्धनका लागि उनले खेल्दै आएको यो एकल प्रयाससहितको लगानी हामी सवैका लागि अनुकरणीय छ’, पाण्डेले भने, ‘सामाजिक भावना र सामाजिक योगदानको वारेमा उनी भैरहवाका नमुना पात्र हुन् ।’

स्थानीय कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसरका लागि सांगीतक कार्यक्रम आयोजना गरि आफूले एउटा प्लेटफर्म तयार पारिदिएको खानले बताए । ‘धेरैजना यस्ता स्थानीय कलाकार छन्, जो आफ्नो प्रतिभा देखाउने अवसर पाएका छैनन्’, उनले भने, ‘त्यस्ता स्थानीय कलाकारलाइ प्रोत्साहित गर्नका लागि पनि मैले व्यक्तिगत रुपमा यो लगानी गर्ने गरेको हुँ ।’

आइतबार हजारौं दर्शकले उनको लाइभ कार्यक्रम अवलोकन गरे, हेरे, मनोरंजन लिए । कलाकारको पस्तुतीले आनन्दित भए । राति १० बजेसम्म संचालन भएको कार्यक्रममा सहरका कुनाकाप्चाबाट सर्वसाधरण आएका थिए । नाचगान र रंगीचंगी उज्यालोमा उनीहरु खुबै रमाए ।