November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गाउँमा मलामी अभाव

प्यूठान– गाउँमा युवा देख्न मुस्किल पर्छ । घरायसी कामदेखि खेतीपातीमा महिला व्यस्त भेटिन्छन् । परिवारका सदस्य बिरामी परे स्वास्थ्यचौकी दगुर्नेदेखि छरछिमेकमा सघाउन महिला अग्रसर हुन्छन् । प्यूठान नगरपालिका–४, की ३० वर्षीया सीता थापाले गाउँघरमा पहिले महिला मलामी जाने चलन नरहे पनि अहिले मलामीमा महिला अनिवार्य बनेको बताइन् । अहिलेसम्म तीनपटक मलामी जानु परेको उनले बताइन् । उनका अनुसार सहरबजारतिर घाटसम्म महिला पुग्छन् । तर, गाउँघरमा महिला मलामी जान थालेको धेरै भएको छैन ।

Advertisement

गाउँमा पुरुषको संख्या कम भएकाले यस्तो जिम्मेवारी आफूहरुको काँधमा आएको उनले सुनाइन् । गाउँमा बसुञ्जेल इष्टमित्र बनेका दुःखी बिरामीका बेला काम लाग्ने गरेको उनले बताइन् । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने उखानै छ,’ उनले भनिन्, ‘घरमा पुरुष हुनुहुन्न, त्यसैले आफै मलामी जान्छौ ।’ आफ्ना श्रीमान बैदेशिक रोजगारीका क्रममा भारतको पन्जावमा रहेको उनले बताइन् । ‘छोरा सानो भएकाले मलामी जान डराउँछ,’ उनले भनिन्, ‘श्रीमान बिदेश हुनुहुन्छ, अरु बिकल्प छैन्, त्यसैले आफै आएकी हुँ ।’

Advertisement

मल्लरानी गाउँपालिका–४, पाण्डेडाँडाकी लक्ष्मी बस्नेतले बैदेशिक रोजगारीका लागि युवा र प्रौढ पलायन हुँदा पुरुषको जिम्बेबारी महिलाको काँधमा आइपरेको उनले बताइन् । ‘पुरुष नभएर महिला मलामी जान थालेका हुन्,’ उनले भनिन्, ‘यस्ता कामका लागि पुरुष खोज्न थाल्ने हो भने शब उठ्ने अवस्था छैन् ।’

उनका अनुसार जिल्लाा पहिले महिला मलामी जान हुँदैन भन्ने संस्कार थियो । त्यो अहिले हराइसकेको उनले बताइन् । छ–सात बर्षअघिसम्म महिला मलामी जाने संस्कार नरहेको उनले सुनाइन् । ‘गाउँमा एक–दुई जना युवा छन्,’ उनले भनिन्, ‘तिनले एक्लैले के गर्नु । अहिले मर्दापर्दा र अर्मपर्म सबै महिलाकै भरमा छ ।’

जिल्लाका बजार क्षेत्रमा ब्यापार ब्यवसाय गरेर बसेका युवा भेटिन्छन् । गाउँमा पुरुष फेला पार्न मुस्किल हुन थालेको छ । जिल्लाका विभिन्न तहको तथ्यांक अनुसार यहाँका ५२ हजार पुरुष विभिन्न मुलुकमा छन् । कोरोना महामारीका बेला यहाँका स्थानीय तहले संकलन गरेको तथ्यांक अनुसार गाउँमा १० प्रतिशत युवा पनि नभएको देखाएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए ।

खेतबारी बाँझै राखेर युवा रोजगारी खोज्दै बिदेश जाने गरेको पाइन्छ । भिमसेन आधारभूत बिद्यालय बौडाका शिक्षक धर्मेन्द्र बिक्रम जिसीले आजकल मलामी जानेमा धेरै महिला हुने गरेको सुनाए । युवा नभएपछि पुरुषले निभाउने सबै जिम्मेवारी महिलाले पूरा गरिरहेको उनले बताए । उनका अनुसार जिल्लाका अधिकांश गाउँ नै बैदेशिक रोजगारीबाट धानिएका छन् । ‘कृषिकर्म गर्नेहरु धरासायी भएर बिदेश पलाएन भएका छन्,’ उनले भने, ‘किसानले कहिले बजार पाउँदैन्, कहिले मलबिउ ।’ किसानमैत्री सरकार नहुँदा गाउँमै कृषि गरेकाहरु पनि छाडेर बिदेश जाने गरेका छन् । गाउँमा काम गर्नेको इज्जत समेत हुन छाडेको उनको अनुभव छ । बालवालिकामात्रै भेटिने गाउँमा बिपत्ती परे त्यससँग जुध्ने जनशक्ति छैन् ।