सावधानी नहुँदा सुत्केरी बचाउन मुस्किल



रोल्पा– लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा सुत्केरी बचाउन धौं–धौं हुन थालेको छ । जिल्लामा लामो समयदेखि सुत्केरी भएपछि ज्यान गुमाउने बढिरहेका छन् । सुरक्षित प्रसुती र रेखदेखका लागि धेरै संस्था स्थापना भएका छन् । त्यही अनुसार बजेट खर्च भइरहेको छ । तर, सुत्केरीको मृत्यु हुन भने थामिएको छैन ।
भौगोलिक विकटतासँगै गर्भवती र सुत्केरी अवस्थामा रेखदेख र सावधानी नहुँदा ज्यान गुमाउनु परिहेको छ । यस्तो प्रतिकुल अवस्थामा सुरक्षित प्रसुतीका लागि सघाउन सञ्चालन भएका सरकारी र गैरसरकारी संस्थाको लगानी खेर गइरहेको छ । जिल्लामा सुत्केरीको ज्यान जोगाउन स्थानीय तह, चिकित्सक, राजनीतिक दलका नेता लगायत समाजका अगुवाको ध्यान पुग्न सकेको पाइँदैन ।
गर्भवती भएका बेला कम्तीमा ४ पटक जाँचका लागि अस्पतालमा पुग्नुपर्ने, आमा र बच्चाको अवस्थाबारे जाँच गराउनेबारे स्थानीय स्वास्थ्य संस्थाले सूचित गराउनुपर्ने र सुत्केरी हुँदा उचित व्यवस्थापन गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ । यसतर्फ नागरिकका साथै सरकारी र गैरसरकारी निकायको ध्यान पुगेको पाइँदैन ।
२०७९ साउनमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–१, सेरमको घुसबाङ गाउँकी करिब २५ वर्षकी सुत्केरी आमाको मृत्यु भयो । बच्चालाई जन्म दिएको १६ दिनपछि घरमै उनको मृत्यु भयो । स्वास्थ्यकर्मीको हेरचाहविना सन्तानलाई जन्म दिन सफल भए पनि समयमै उपचार नपाएकाले उनको मृत्यु भयो । सुनछहरीका स्वास्थ्य संयोजक जगतबहादुर बुढामगरका अनुसार उक्त दुःखद् घटनाको अनुसन्धान कार्य अघि बढाउन मुस्किल भयो ।
‘ज्यादै दुर्गम भएकाले समयमै स्वास्थ्यकर्मी जान नमानेको जानकारी आयो’, उनले भने, ‘अर्कातिर सुत्केरीका श्रीमान र परिवारका सदस्यले स्वास्थ्य संस्थामा जाने, सल्लाह लिने र उपचार गर्नेतर्फ चासो देखाएनन् । त्यही कारण ती महिलाको अकालमै ज्यान गयो ।’ बुढाले घटना थाहा पाएपछि जिल्ला तहसम्म खबर गरेको र स्वास्थ्यकर्मीका तर्फबाट विशेष ध्यानाकार्षण गरिएको सुनाए । उनले ती सुत्केरीले बच्चालाई राम्रो अवस्थामा जन्म लिए पनि स्याहार सुसार नपाएको र खासगरी श्रीमानले स्वास्थ्यकर्मीलाई बोलाउन नमानेकाले ज्यान गुमाउनु परेको सुनाए । आमाको मृत्युपछि नाबालकले समेत ज्यान गुमाए । ती महिलाको यसअघि एक बच्चा जन्मिएको थियो ।
सुनछहरी गाउँपालिकाकै ७ नम्बर वडाको जेलबाङ गाउँमा पनि आर्थिक वर्ष २०७७–७८ को वर्षायाममा अर्की एक सुत्केरी महिलाको पनि मृत्यु भयो । स्थानीय स्वास्थ्य चौकीमा बच्चालाई जन्म दिएकी ३० वर्षीया महिलाको मृत्यु सुत्केरी भएको करिब २० दिनपछि भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक बुढामगर भन्छन्, ‘कोभिडको समय थियो, उनलाई हेरचाह गर्ने र स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने अवस्था थिएन । उपचार नपाएरै उनले ज्यान गुमाइन् ।’
सुत्केरी भएपछि मदिरा सेवन गर्नाले उनको मृत्यु हुनमा मद्दत पुगेको उनको टिप्पणी छ । सुत्केरी भएका बेलामा दुःखाई र पिर भुल्न मदिरा सेवन गर्ने गाउँघरको पुरानो चलन हो । सुत्केरी भएपछि आफन्तले ती महिलालाई पनि मदिरा खुवाएका थिए । अभिभावक, समुदाय र सरकारले ध्यान नदिँदा सुत्केरीको अकालमै ज्यान जानु दुःखद् भएको तर्क गर्छन् जेलबाङका स्थानीय युवा बाल्कुराम पुनमगर । उनले सुत्केरी हुनु अघि नै स्थानीय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्नु पर्ने सुझाव दिन्छन् । तीन आर्थिक वर्षमा सुनछहरीमा मात्रै दुई जना सुत्केरी महिलाको ज्यान गयो ।
स्थानीय स्वास्थ्य संस्थाको विकास र व्यवस्थापन स्थानीय तहलाई दिइएको सन्दर्भमा जनप्रतिनिधिले पनि यसतर्फ ध्यान दिन सकेको पाइँदैन । अझै पनि जिल्ला वा केन्द्रमै सहयोगका लागि हात थाप्ने चलनले गाउँघरमा सिर्जनात्मक र आवश्यक योजना बनाउन जनप्रतिनिधि कमजोर नै देखिएका छन् । जिल्लामा तीन आर्थिक वर्षमा दुई जना सुत्केरी महिलाको ज्यान गुमाएको अर्को गाउँपालिका हो– माडी गाउँपालिका । सहिद मार्गमा पर्ने मध्य रोल्पामा अवस्थित माडीमा आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को साउनमा एक–एक जना सुत्केरी महिलाको ज्यान गएको हो ।
उक्त गाउँपालिको वडा नम्बर ४ तालाबाङको रिजा गाउँकी २६ वर्षीया सुत्केरी महिलाले दोस्रो सन्तानलाई जन्म दिएपछि ज्यान गुमाइन् । बच्चा पेटमा हुनुअघि देखि नै मृगौला रोगी उनलाई चिकित्सकले बच्चा नजन्माउन सल्लाह दिएका थिए । गाउँपालिकाकी स्वास्थ्यकर्मी पूर्णिमा घर्तीमगर भन्छिन्, ‘उनले बच्चालाई जन्म दिन सक्षम भइन्, तर ज्यान जोगाउन सकिएन । धैरै प्रयास गर्दा पनि उनको ज्यान जोगाउने प्रयास सफल भएन ।’ सुत्केरी व्यथा लागेपछि उनलाई स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थामै सुत्केरी हुन लगिएको थियो ।
माडीकै ५ नम्बर वडा भावाङको एनाबाङ गाउँकी करिब २८ वर्षीया अर्की एक सुत्केरी महिलाले पनि ज्यान गुमाइन् । दोस्रो सन्तानकी आमा बन्न गर्भवती हुँदा नै आफन्तले जिल्ला अस्पताल रेउघामा पनि पुर्याएका थिए । उनी अस्पतालमै सुत्केरी भइन् । सुत्केरी भएर घर फर्केको १० दिनमै उनको मृत्यु भयो । स्वास्थ्यकर्मी पूर्णिमाका अनुसार अत्यधिक टाउको दुखेको कारण सुत्केरीको ज्यान गएको हो । गर्भवती भएका बेलामा सम्पर्कमा आएकाले स्वास्थ्यकर्मीले नै दुई पटक स्वास्थ्य जाँच गरेका थिए । मृत्यु हुनुअघि थप उपचारका लागि अस्पतालमा लैजाने तयारी गरेका बेला अस्पताल नपुर्याउदै उनको ज्यान गयो । तर सुत्केरीको मृत्यु भएको कारण बुझ्ने प्रयासमा न स्वास्थ्य संस्था सक्रिय भए न त जजनप्रतिनिधि नै अग्रसर छन् ।
मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रम (एमपीडीएसआर) अन्तर्गत मृत्युको कारण अनुसन्धान गर्न चिकित्सक घटनास्थल पुग्नु पर्ने प्रावधान छ, तर चिकित्सक गाउँ पुगेका छैनन् । एमपीडीएसआरको प्रावधान अनुसार स्थानीय तहले चिकित्सकलाई खर्च दिएर घटना अनुसन्धान गर्न लगाउनुपर्छ । तर, त्यसो गरेको पाइँदैन । सुनछहरी र माडी लगायत अन्य पालिका गरी तीन आर्थिक वर्षमा रोल्पाका ९ स्थानीय तहमा ९ जना सुत्केरीको ज्यान गएको छ ।
आर्थिक वर्ष २०७९–८० मा ४ जनाको ज्यान गयो । उक्त वर्षमा सुनछहरी, थबाङ, माडी र रुन्टीगढीमा १–१ जना सुत्केरीले ज्यान गुमाए । आर्थिक वर्ष २०७८–७९ मा ३ जनाको ज्यान गयो । त्यस वर्षमा रोल्पा नगरपालिका तथा माडी र रुन्टीगढी गाउँपालिकामा १–१ सुत्केरीले ज्यान गुमाए । यस्तै, आर्थिक वर्ष २०७७–७८ मा सुनछहरी र त्रिवेणीमा १–१ जना सुत्केरीको मृत्यु भयो ।








प्रतिकृया दिनुहोस्