November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै ‘गोलिगढ टोल सुधार समिति’

भैरहवा– सिद्धार्थनगर–९ स्थित ‘गोलिगढ टोल सुधार समिति’ आफ्नो टोल समाजमा सरसफाइको कार्यमामात्र सीमित छैन । आपसी एकता र सद्भावलाई अझ प्रगाढ बनाउँदै सामाजिक कार्य र विकास निर्माणका कार्यमा समेत आफूलाई अग्रपङ्तीमा उभ्याउन सफल भएको छ ।

Advertisement

हुनत प्रत्येक शनिवार बिहान गोलिगढ क्षेत्रको सरसफाइका कार्यमा टोल सुधार समितिले बिहानै आफ्नो सक्रिय उपस्थिति देखाइसकेको हुन्छ । स्थानीय जनप्रतिनिधिदेखि टोलमा रहेका प्रायः सवै घरबाट एक–एक जना हातमा झाडु कुचो, कुटो, बेल्चा लगायतका सरसफाइका सामानसहित आफ्नो टोलको सरसफाइमा जुट्ने गर्छन् ।

Advertisement

सरसफाइमा महिला, पुरुष, बृद्ध, बालक सवैको स्वस्फूर्त रुपमा उपस्थिति रहने गर्छ । पछिल्लो समयमा गोलिगढ टोल सुधार समितिले स्थानीय समाज र छरछिमेकमा पर्ने आपसी विवाद, भैmझगडा मिलाउनुको साथै विकास निर्माणका लागि पहलकदमी समेत गर्न थालेको छ । विकास निर्माणका कार्यमा विवादमा परेर स्थानीय वडा र नगरपालिकाले समेत अगाडि बढाउन नसकेका कार्यमा समितिले आफूलाई एकताबद्ध बनाउँदै हिम्मतकासाथ अगाडि बढेर नगरपालिका र जनप्रतिनिधिलाई साहस दिन थालेको छ ।

‘समितिको आपसी एकता र सद्भाव साँच्चै नै उदाहरणीय छ’, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे भन्छन्, ‘समिति, समाजको सरसफाइमामात्र सीमित नरहेर छरछिमेकमा उत्पन्न द्वन्द्वको समाधान र विकास निर्माणका कार्यमा समेत स्थानीय तहलाई साथ दिँदै आगाडि बढ्न थालेको छ ।’

भदौ १६ गते शनिवार । टोलमा आवद्ध अधिकांश घरबाट निस्किएर जम्मा भए, सयौंको उपस्थितिमा बिहानै अञ्चलपुर प्रहरी चेकपोष्ट अगाडि भेला भए । त्यहाँ स्थानीय जम्मा हुनुको कारण थियो, विवादका कारण बर्षौं अघिदेखि अलपत्र परेर जिर्ण निर्माण र मर्मत समेत हुन नसकेको सडक निर्माणका लागि पहल गर्नु ।

एशियाली विकास बैंकको सहयोगमा नगरपालिकामा सडक र ढल निर्माण गर्ने योजना अन्तर्गत प्रहरी चेकिङ स्थलस्थित गोदार इञ्जिनियरिङबाट पूर्व जाने गोलिगढको मूल सडक विवादका कारण करिव १ सय फिट निर्माण र मर्मत समेत नहुँदा सडकको दुर्दशा थियो । विवादका कारण देखाउँदै नगरपालिकाले निर्माण र मर्मत गर्न समेत चासो देखाएको थिएन । जसका कारण सडक खाल्डोमा परिणत भएको थियो । हिउँदमा धुलो र बर्षामा पानीको आहालसहित हिलाम्मे सडक हुँदा पैदल र सवारी साधनसहितका यात्रुले बर्षौदेखि सास्ती खेप्दै आएका थिए । बिशेषगरि बिद्यार्थी, नेपाल घुम्न आएका भारतीय पर्यटक र गाडी सहितका यात्रु बढी प्रताण्डित हुने गरेका छन् ।

सडकको चोकमा सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाको स्वागत बोर्ड टांगिएका छन् । स्वास्थ्य कार्यालय, रुपन्देही क्याम्पस, भानु मावि, बृहष्पति स्कुल, यातायात कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय जानेमात्रै नभएर गोलिगढ, जितपुर, दुमदुमुवा, बढ्की दुमदुमुवा र ओमसतिया गाउँपालिका जाने मुख्य सडक हो ।

सडकको मुख्य प्रवेशद्वारमैं त्यो हविगतले स्थानीय पालिका र ति कार्यालय लगायत् गाउँ टोललाइ नै गिज्याइरहेको भान हुने गर्छ । तर, नगरपालिका भने विवादमा परेको र अदालतमा मुद्दा समेत परेको भन्दै मुद्दा नटुंगिएसम्म निर्माण कार्यलाई अगाडि बढाउने पक्षमा थिएन । विवादित स्थललाइ छाडेर सडक कायम रहेको स्थलमा नाली निर्माण गर्न समेत नगरपालिकाले हिम्मत गरेको थिएन । नाली नभएकाले सडकको खाल्टा हिलाम्मे छन् ।

जनप्रतिनीधिले त्यसतर्फ ध्यान नदिएको गुनासो स्थानीयको थियो । विवाद सुल्झाउन नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, वडाध्यक्ष र टोलसुधार समितिका पदाधिकारी लगायत् स्थानियवासीको पटकपटकको आग्रहलाई गोदार इञ्जिनियरिङका संचालकले मुअब्जा र क्षतिपूर्तिको माग गर्दै अस्विकार गर्ने गरेका थिए ।

उक्त सडक खण्डमा सर्वसाधारणले पाएको सास्तीका वारेमा धेरैले सामाजिक संजालमा कुरा राखे, दुखेसो पोखे । तर कतैबाट पनि सुनुवाइ हुन सकेन । शनिवार जम्मा भएको टोलसुधार समितिमा आवद्ध समूहले एक्साभेटरसहित सडक किनारमा नाली निर्माणका लागि खाल्टो खन्ने साहस देखायो । माटोले पुरेर खाल्टो सम्यायो । नगरपालिका र वडा कार्यालयसँग मिलेर गिट्टी, मिस्कट राख्ने तयारी गर्दैछ । यतिमात्रै होइन, खाल्टो खन्ने वेलामा गोदार इञ्जिनियरिङका संचालकलको तर्फबाट आएको अवरोधको सामना गर्यो । मुद्दा झेल्नु पर्ने धम्कीको परवाह नगरेर समिति आफ्नो काममा अघि बढ्यो ।

‘हाम्रो यो पहल र अगुवाइ हाम्रा जनप्रतिनिधिलाई विकास निर्माणमा अघि बढ्न र विवादित स्थानमा पनि सकेसम्म विवाद सुल्झाएर, नभए समग्र जनताको हितमा हुने गरि काम गर्नमा साहस जुट्न सकोस् भन्ने हो’, टोल सुधार समितिका उपाध्यक्ष अनवर खानले भने, ‘विवाद सुल्झेला र नगरपालिकाको पहलमा निर्माण कार्य होला भनेर बसेको भए यो सडकको दुर्दसा र हविगत अझ कहिलेसम्म हुने हो ? एकिन थिएन ।’

गोदार इञ्जिनियरिङका संचालकले नाली खन्ने वेलामा मुद्दा दिने धम्की दिँदा उपस्थित सवैले एक स्वरमा भनेका थिए, ‘मुद्दाको परवाह गर्दैनौं, परे हामी सवैले बेहोर्छौं ।’ सिद्धार्थनगर–९ का वडा सदस्य बसन्त भट्टराइले टोलसुधार समितिले नालीका लागि खाल्टो खन्दा सडक कायम भएकै क्षेत्रमा खनेको र गोदार इञ्जिनियरिङको जमिन नछोएको बताए । ‘गोलिगढ टोलसुधार समितिको सरसफाइ र विकास निर्माणप्रतिको यो लगाव हामी जनप्रतिनिधिका लागि समेत अनुकरणिय बनेको छ’, भट्टराइले भने, ‘यो टोलसुधार समिति नगरकै नमुना बनेको महशुस गरेको छु ।’

सडक मर्मत र नालीका लागि खाल्डो खन्दा उपस्थित हुन पुगेका सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमख खानलाई टोल सुधार समितिमा आवद्ध स्थानीयको स्वर पछाडिबाट आइरहेको थियो, ‘मेयर साव, परेमा मुद्दा हामीले पनि बेहोर्छौं तर विवाद भन्दै विकास निर्माणका काममा पछि नहट्नुस् । हामी साथ दिन्छौं ।’