November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?

भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । लामो समय सामाजिक अभियन्ता र राजनीतिककर्मीको छवि बनाएका चौधरीले यसपटक मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । ८ दलीय गठबन्धनको समर्थनमा उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।

Advertisement

यस्तो छ चौधरीको पृष्ठभूमि
वि.सं.२०२६ असार १५ मा दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्रीगाउँमा आमा सोमती र बुवा टुकलालको कोषबाट जन्मिएका चौधरीले स्नातक (सामुदायिक विकास) सम्म अध्ययन गरेका छन् । नेपाली काङ्ग्रेसको २०६४ देखि निरन्तर महासमिति सदस्य निर्वाचित उनी २०७० मा संविधान सभा सदस्य पनि भएका थिए । २०७३–७४ सम्म संघीय सरकारको श्रम राज्यमन्त्री बनेका मुख्यमन्त्री चौधरी दाङ ३(१) बाट २०७४ र २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७८–८९ पुस २७ सम्म लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री बनेका चौधरी २०७९ को मै काँग्रेस लुम्बिनीको संसदीय दलको नेता चुनिएका थिए ।

Advertisement

१७ वर्षको उमेरमा नै सामाजिक नेतृत्व रहेका उनी २०४२ देखि विभिन्न पदमा रहेर समाजिक र राजनीतिक कार्य गरेको सम्झन्छन् । २०५७ मा कमैया आन्दोलनको अगुवाइ गरि कमैया मुक्तिको घोषणा गर्न सफल बनाउने नेतृत्वकर्तामध्येका उनी एक हुन् । विश्वका ३० वढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव उनीसँग छ ।

कुनैबेला डिल्ली चौधरीको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो । पढाइ लेखाइ उनको समुदायमै आकाशको फल जस्तै थियो । चौधरी समुदायका उनै मान्छे अर्थात् डिल्लीबहादुर चौधरीको यात्रा देसदेखि प्रदेशसम्मै चर्चामा छ । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाइनमा पुगेका हुन् ।

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा सक्रिय चौधरी भारी मतान्तरसहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश समा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका थिए । अहिले लुम्बिनीको नेतृत्वमा पुगेका छन् । चौधरीले थारु समुदाय सहित अन्य अल्पसंख्यक गरीविको रेखामुनी रहेका नागरिकहरुलाइ समेत शिक्षाको उज्यालो दिन व्याकवार्ड सोसाइटी (बेस) मार्फत उनी टुकि लिएर गाउँगाउँ छिरे ।

लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ । कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने चौधरी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने । भारतका वालवचाओ अभियानका कैलास सत्यार्थिसंगको सम्वन्धका कारण उनी वालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल भए ।

१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरे । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाइरहँदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पारेको छ ।

थारु समुदायमा जमिन्दारहरुले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारुहरु माथी गर्ने शोषण झन्झनै वढ्दै गयो र पुस्तौ सम्म थारुहरु ऋणमा अल्झिँदै गए । त्यस पछि कमैया मुक्तीको आन्दोलनमा उनी लागे, सफल पनि भए । राजनीति परिवर्तन र सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउँदै प्रहरी हिरातमा पनि धेरै पटक बसेका छन ।

चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका पुरस्कारहरु पाएका छन् । त्यही कारण उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्कार अमेरिकी भूतपूर्व राष्ट्रिपती जिमि कार्टरबाट प्राप्त भएको हो । द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवापत प्राप्त गरेका थिए । चौधरीले नेपाल सरकारबाट सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३)दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता पनि हुन् ।

दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाइ संघीय सरकारले पनि मूल्यांकन गर्यो । त्यसैले उनी राजनीतिमा समानुपातिक सांसद पनि भए । २०७०—०७४ का संविधान सभा सदस्यको रुपमा रहे । सोहि समयमा उनी श्रमराज्य मन्त्रीको पनि भूमिकामा रहे । बैदेशिक रोजगारलाई सहज र व्यवस्थित बनाउन पनि चौधरीको छोटो समयमै अर्थपूर्ण योगदान रह्यो । दोस्रो पटक प्रदेश सभामा निर्वाचित उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने शौभाग्य पाएका छन् ।

यस अघि उनले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहंदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गरेका थिए । प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैयाँ फिर्ता गराएका थिए । दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै कार्यालका राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो । जनतामा प्रदेशप्रति तिव्र वितृष्णा पैदा भइरहेका बेला अब चौधरीसमक्ष जनताको वितृष्णालाई आशामा बदल्ने चुनौति छ ।