लुम्बिनी प्रदेशमा सरकार बनाउन कस्तो बन्ला समिकरण ?



भैरहवा– लुम्बिनी प्रदेशमा मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै दलको बहुमत आएन । दलको मात्रै नभई गठबन्धनको पनि बहुमत नआउँदा सरकार गठन कसरी हुन्छ ? कुन–कुन दल मिलेर सरकार बनाउँछन् ? केन्द्रको राजनीतिक समिकरणले कति प्रभाव पार्ला ? भन्ने चासो बढीरहेको छ । प्रदेशमा निर्वाचनमा गठबन्धन गरेका सत्ताघटक पाँच दल र नेकपा एमाले, राप्रपा र जसपाको तीन दलीय गठबन्धनको पनि बहुमत पुग्दैन । लुम्बिनीमा सरकार बनाउन गठबन्धन बाहिरका साना दल र स्वतन्त्र प्रदेशसभा सदस्य निर्णायक देखिएका छन् ।
अहिले प्रदेशमा कसको सरकार बन्ने भनेर अझै मार्गचित्र बाहिर आएको छैन । केन्द्रिय राजनीतिक समिकरणले पनि प्रदेशमा प्रभाव राख्ने भएकाले दलहरुले भित्रभित्रै आन्तरिक तयारी गरे पनि खुलेर सरकार बनाउने खेलमा लागेका छैनन् । ‘केन्द्रमा समिकरण कस्तो बन्छ, त्यसपछि हामी सरकार बनाउने तयारीमा लाग्छौं’, काँग्रेस केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अब्दुल रज्जाक गद्दीले भने, ‘अहिले सरकार गठनका लागि लुछाचुँडी गरिहाल्नुपर्ने अवस्था छैन ।’
अहिले लुम्बिनी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको छ । माओवादीका नेता कुलप्रसाद केसी मुख्मन्त्री छन् । यसपटकको निर्वाचनमा उनले माओवादीबाट टिकट नपाए पछि अब प्रदेशबासीले नयाँ अनुहारलाई मुख्यमन्त्रीका रुपमा पाउने पक्कापक्की छ ।
अहिलेसम्म सरकार कसरी र कसेको बन्छ भन्ने स्पष्ट मार्गचित्र बाहिर नआउँदा दलहरुमा मात्रै नभई आमजनमानसमा पनि कौतुहलता र जिज्ञासा छाइरहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा ५२ जना प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधित्व गर्दा ३५ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका छन् । लुम्बिनीमा एमालेले प्रत्यक्षमा १८ र समानुपातिामा ११ गरी २९ सिट जितेको छ । प्रदेशमा एमाले पहिलो दल बनेको छ । नेपाली कांग्रेससँग प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कुल २७ प्रदेशसभा सदस्य छन् ।
प्रदेशमा तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी ९ जना सांसद छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले प्रत्येक्षमा २–२ सिट जितेका छन् । समानुपातिकमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीले २–२, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन् । प्रत्यक्षमा एक सिट जितेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा २ सिट जितेको छ । यस्तै, लुम्बिनी प्रदेश सभामा माओवादीबाट विद्रोह गरेर बागीबाट स्वतन्त्र उम्मेदवारी दिएका तीन जनाले प्रत्यक्ष निर्वाचन जितेका छन् ।
प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ । २०७४ मा नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपाले सरकार बनाएको थियो । तत्कालीन समयमा हालका नेकपा एमाले महासचिव शंकर पोखरेल प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । पछि नेकपा विभाजन भयो भने एमाले पनि टुक्रियो । त्यसपछि काँग्रेस, माओवादी, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल मिलेर सरकार बनाएका थिए । अहिले माओवादीका नेता कुलप्रसाद केसी मुख्यमन्त्री छन् ।
सम्भावित समिकरण
लुम्बिनीमा बहुमतको सरकार बनाउन ४४ प्रदेशसभा सदस्यको आवश्यक पर्छ । ४४ सांसद पुराउन दलहरुले साना दलहरुलाई अथवा स्वतन्त्रलाई साथमा ल्याउनुको विकल्प छैन् । सरकार बन्न लुम्बिनीमा हुनसक्छन् यी विकल्प :–
पहिलोः पाँच दलीय सत्ता गठबन्धनसँग ४१ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन गठबन्धनलाई ३ जना प्रदेशसभा सदस्य अपुग हुन्छ । गठबन्धनको सरकार बन्न यहाँ ३ जना माओवादीका बागी उम्मेदवारले साथ दिए पुग्छ । नेकपा माओवादीका केन्द्रिय सदस्य विनोद पहाडीले स्वतन्त्र उम्मेदवारहरुले गठबन्धनलाई साथ दिने दावी गर्छन् । ‘निर्वाचनमा विविध कारणले साथीहरुले टिकट पाउनुभएन, पहिला माओवादीमै हुनुहुन्थ्यो । अब पनि उहाँहरुले माओवादीले र गठबन्धनले सरकार बनाउँदा साथ दिनुहुन्छ ।’ यहाँ स्वतन्त्र साथ दिए गठबन्धनको सरकार बन्न सक्छ । अर्कातर्फ ४–४ प्रदेशसभा सदस्य रहेका राप्रपा र नागरिक उन्मुक्ति पार्टी तथा ३ सांसद रहेको जनमत पार्टीमध्ये कुनै एक पार्टीले साथ दिए पनि लुम्बिनीमा गठबन्धन सरकार बन्ने देखिन्छ ।
दोस्रोः प्रदेशमा एमालले निर्वाचनमा सहकार्य गरेका राप्रपा र जसपालाई मिलाएर सरकार बनाउन सक्छ । तर, यी तीन दलको पनि यहाँ बहुमत पुग्दैन । तीन दलका गरी ३६ प्रदेशसभा सदस्य छन् । उसलाई सरकार बनाउन ८ जना प्रदेशसभा सदस्य अपुग हुन्छन् । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेमा लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र जनमोर्चा लगायतलाई मनाएर सरकारमा ल्याउनुपर्छ । निर्वाचन लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुको एमालेसँगको सहकार्य टुंगिसकेको घोषणा गरेका छन् । यसले गर्दा प्रदेशमा एमालेलाई सरकार बनाउन धौ–धौ छ ।
एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरीले तत्काल सरकार बनाउनका लागि आफूहरुले प्रयास नगरेको बताउँछन् । ‘संघमा कसको सरकार बन्छ, समिकरण के हुने हो भन्ने अझै केही टुंगिएको छैन’, उनले भने, ‘हामीले प्रदेशमा सबैजसो दलहरुसँग सामान्य कुराकानी गरेका छौं तर सरकार बनाउन पहल गरेका छैनौं ।’ उनले अहिलेको परिस्थितिमा सरकार बनाउन धेरै प्रयास गरेर अर्थ पनि नरहेको जनाउँदै सम्भवतः एमाले प्रमुख प्रतिपक्ष दल बनेर बस्ने बताए ।
तेस्रोः प्रदेशमा एमाले र काँग्रेस मिले भने सजिलै सरकार बन्छ । यसका लागि साना दलहरु र स्वतन्त्रलाई गुहार्नु पर्दैन । यी दुई दल मिल्दा मात्रै उनीहरुका पक्षमा ५६ सांसद हुन्छन् । तर, केन्द्रिय राजनीतिका कारण यी दुई दल मिलेर सरकार बनाउने सम्भावना निकै कम छ । यदि संघमा यी दुई दल मिलेर सरकार गठन गरेमा प्रदेशमा पनि त्यो सम्भव नहोला भन्न सकिँदैन ।
चौथोः यदि प्रदेशमा काँग्रेस बाहेकको गठबन्धन बनाउन सबै दल एक ठाउँ भए भने पनि बहुमतको सरकार बन्न सक्छ । यसका लागि २९ प्रदेशसभा सदस्य रहेको एमालेलाई सबै दलले स्वीकार्नुपर्छ । साना एकदुई दलले साथ नदिए पनि एमालेले सरकार बनाउन सक्छ । यो काँग्रेसका हकमा पनि लागू हुन्छ । अथवा अरु कुनै दललाई मुख्यमन्त्री दिएर एमाले–काँग्रेसले चित्त बुझाउनुपर्छ । यसो गर्दा काँग्रेस बाहेक अन्य ९ दलका प्रदेशसभा सदस्य ६० जना हुन्छन् । तर, अहिलेको राजनीतिक परिस्थितिमा माओवादी, समाजवादी लगायतका दलले एमालेलाई साथ दिने अवस्था अझै बनिसकेको छैन ।
प्रदेशमा एमाले र काँग्रेसलाई बाहिर राखेर अरु सबै मिल्दा सरकार बन्ने सम्भावना छैन । अहिलेको अवस्थामा केन्द्रिय राजनीतिक प्रभाव पर्ने भएकाले कसले सरकार बनाउँछ भन्ने अवस्था छैन । तर, स्वतन्त्रको साथ लिएर गठबन्धनको सरकार बन्ने सम्भावना भने बलियो देखिन्छ । जनमत पार्टी पनि सरकारमा जानसक्ने बताउँदै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले केन्द्रिय नीति अनुसार आफूहरु अघि बढ्ने बताउँछन् ।
एमालेले केन्द्रको राजनीतिक समिकरण आफूहरु अनुकुल भए आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने गिरीले जनाए । ‘यदि अवस्था हाम्रो अनुकुल भयो भने हाम्रो नेतृत्वमा अन्य दललाई मिलाएर सरकार बनाउने प्रयास हुनेछ’, उनले भने । तपाईंहरुको नेतृत्वमा सरकार बनाउने अवस्था आए कसको नेतृत्वमा बनाउनुहुन्छ ? भन्ने प्रश्नमा गिरीले संसदीय दलको नेता जो हुन्छ, उही नै मुख्यमन्त्री बन्ने बताए । गिरी एमाले नेतृत्वमा सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका बलिया दावेदार हुन् ।
माओवादीले पनि अहिले सरकारको नेतृत्व गरिरहेकाले समिकरण मिल्यो र अहिलेकै गठबन्धनले सरकार बनायो भने मुख्यमन्त्री दावी गर्ने बताउँदै आएको छ । काँग्रेस केन्द्रिय सदस्य रज्जाकले पनि गठबन्धनको सरकार बन्ने अवस्थामा आफूहरुले मुख्यमन्त्री दावी गर्ने बताए । ‘विगतमा माओवादीलाई मुख्यमन्त्री छाडेका थियौं, यसपटक हाम्रो दावी स्वभाविक रहन्छ’, उनले भने । यद्यपि केन्द्रिय राजनीतिकले केही प्रभाव भने पार्नसक्ने उनले बताए ।








प्रतिकृया दिनुहोस्