November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भीम अस्पतालको व्यवस्थापन र सेवा उत्कृष्ट

भैरहवा– तीनवटा शय्यासहित नौ दशक अघि संचालनमा आएको भैरहवास्थित भीम अस्पताल केही वर्ष अघिसम्म निकै दयनीय थियो । अस्पतालमा न दक्ष चिकित्सक, नत भौतिक पूर्वाधार र उपचारका लागि आवश्यक आधुनिक उपकरण । अहिले भने यो अस्पतालको अवस्थाले कांचुली फेरेको छ । अस्पतालको प्रशासनिक व्यवस्थापन तथा बिरामीलाई उपलब्ध गराइने सेवा सुविधा धेरै गुणस्तरीय र प्रभावकारी रहेको पाइएको छ ।

Advertisement

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा गठित न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले गरेको मूल्यांकनको आधारमा भीम अस्पतालको प्रशासनिक व्यवस्थापन र विरामीसंग सम्बन्धित सेवा सुविधा गुणस्तरीय रहेको पाइएको हो । गत बर्षको तुलनामा यस बर्ष अस्पतालले आफ्नो कार्य सम्पादन र बिरामीलाइ उपलब्ध गराउने सेवामा धेरै सुधार ल्याएको समितिले उल्लेख गरेको छ ।

Advertisement

५–६ बर्ष अघिसम्म यस अस्पतालको दरबन्दीमा चिकित्सक त हुन्थे । तर, अस्पतालमा उनीहरुको अनुहार देख्न बिरामीले पाउँदैनथे । कतिपय चिकित्सकले भीम अस्पतालबाट तलव भत्ता र अन्य सुविधा लिन्थे तर, उनीहरु भनसुन र पहुँचको आधारमा आफूलाई पायक पर्ने र अनुकुल स्थानमा काज मिलाउँथे । अस्पताल अहेवले धानेका थिए । त्यसपछि भने छात्रबृत्तिमा एममबीबीएसको अध्ययनपछि अभ्यासका लागि इन्टनशिप गर्न आउने चिकित्सकले धाने ।

न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले तीन दिन अघि गरेको पछिल्लो मूल्यांकन अनुसार, ९ सय ३९ वटा सूचांकको आधारमा मूल्यांकन गर्दा गत बर्ष ५६ प्रतिशत अंक प्राप्त गरेको भीम अस्पतालले यस बर्ष ८८ प्रतिशत पर्याएको छ । मूल्यांकन समितिका फोकलपर्सन कौशल भण्डारीले बिगतमा भन्दा हालका समयमा भीम अस्पतालले आफ्नो सेवालाई बिस्तार गर्दै प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको पाइएको बताए ।

‘हालसम्म गरिएको लुम्बिनी प्रदेसको सेकेण्डरी ए लेवलको अस्पतालको मूल्यांकनमा अस्पतालको आन्तरिक व्यवस्थापन र बिरामीलाई उपलब्ध गराउने गुणस्तरीय सेवामा भीम अस्पताल दोस्रो बनेको छ’, भण्डारीले भने, ‘नेपालमैं सेकेण्डरी ए लेवलको अस्पतालमध्ये भीम अस्पतालले पाँचौं स्थान लिएको छ ।’ लुम्बिनी प्रदेशका सेकेण्डरी ए लेवलका १३ वटा अस्पतालमध्ये २ वटाको मूल्यांकन हुन बांकी छ । मूल्यांकन प्रत्येक ६–६ महिनामा गर्ने गरिन्छ ।

अहेव र इन्टनशिप गर्न आउने चिकित्सकको भरमा चल्ने गरेको भीम अस्पतालमा अहिले भने २६ जना चिकित्सक उपलब्ध छन् । जसमध्ये मेडिकल सुपरिटेन्डेन्टसहित एक दर्जन चिकित्सकले बिशेषज्ञको सेवा दिइरहेका छन् । अपांग र अशक्तका लागि लिफ्टसहितको भौतिक सुविधा र अत्याधुनिक उपकरण पनि उपलब्ध छन् ।

‘अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएका छौं’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले भनिन्, ‘बिशेषज्ञ सेवालाई क्रमशः बिस्तार गर्दै लैजाने तयारीमा छौं । विभिन्न समस्या र अभावले गुज्रिँदै आएको यो अस्पतालले अव मुहार फेर्दै जान थालेको छ ।’ अस्पतालको सेवा प्रभावकारी बन्दै जान थालेपछि बिरामीको चाप पनि बढ्दै जान थालेको उनले बताइन् ।

भीम अस्पतालको प्रयोगशालमा ब्लडकल्चर बाहेकको सम्पूर्ण परीक्षण उपलब्ध छ । ब्लड कल्चरका लागि पनि तयारी भैरहेको छ । भण्डारीका अनुसार, अस्पतालको सुशासन र व्यवस्थापन, उपचार तथा क्लिनिक र सहयोग सेवा गरि तीन बिषयममा केन्द्रित रही मूल्यांकन गर्ने गरिन्छ । जसअन्र्तगत अस्पतालको सुशासन र व्यवस्थापनमा २० प्रतिशत, उपचार तथा क्लिनिकमा ६० प्रतिशत र सहयोग सेवामा २० प्रतिशत अंक रहेको हुन्छ ।

अस्पताल विकास समितिको कार्यशैली, आर्थिक पक्ष, सेवाग्राहीको गुनासो र गुनासोको समाधान, अस्पतालको सुरक्षा व्यवस्थापन, प्रशासनिक पक्ष, उपकरणको व्यवस्थापन र मर्मतसम्हार पक्ष, विरामीलाई उपलब्ध गराइने उपचार सम्बन्धि पक्ष, औषधी, प्रयोगशालाको अवस्था, फार्मेसी, शय्या, उपचारसंग सम्बन्धित उपकरणको व्यवस्था, चिकित्सकको सेवा, चिकित्सकको सेवाको प्रभावकारिता, खानेपानी, फोहर व्यवस्थापन, बार्षिक कार्ययोजना, सूचना अधिकारीको व्यवस्था, बिरामीलाई एकद्वार प्रणालीको व्यवस्था, हेल्पडेस्क जस्ता पक्षमा केन्द्रित रहेर मूल्यांकन गरिएको हो ।

न्युनतम सेवा मापदण्ड अनुरुप अस्पतालमा प्रसुती, बालरोग, शल्यक्रिया, औषधि र हाडजोर्नी सम्बन्धि ओपीडी हुनै पर्नेमा भीम अस्पतालमा आँखा, कान, घाँटी गरि थप दुईवटा बिषयको ओपीडी संचालनमा रहेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद गिरीले भीम अस्पतालको व्यवस्थापन र बिरामीलाई उपलब्ध गराइने सेवा सुविधा सोंचे भन्दा राम्रो पाइएको जनाए । भीम अस्पताल बिकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालको यो नतिजा अस्पतालमा कार्यरत सवै कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सामूहिक प्रयासको प्रतिफल रहेको र आगामी दिनमा अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउँदै लगिने बताए ।