रायमाझीको बिरासतलाई भुसाल चुनौती



अर्घाखाँची– अर्घाखाँचीबाट लगातार चुनाव जित्दैं आएका टोपबहादुर रायमाझीलाई बिरासत जोगाउन यसपटक कांग्रेसकी पुस्पा भुसाल चुनौती बनेकी छन् । यसपटक रायमाझी एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । राजनीतिमा स्थापित रायमाझी र भुसालबीचको प्रतिष्पर्धालाई धेरैले चासोसाथ हेरिरहेका छन् । गत निर्वाचनमा भुसाल समानुपातिक उम्मेदवार थिइन् । चौथोपटक प्रतिष्पर्धामा उत्रिँदा रायमाझीले पूर्वपार्टी माओवादी परित्याग गरिसकेका छन् ।
रायमाझी यसअघि २०६४, २०७० नेकपा माओवादी र २०७४ सालमा नेकपा (एमालेसित गठबन्धन) बाट बिजयी भएका थिए । नेकपा विभाजनपछि उनी एमालेमै बसे । ‘हामीलाई पुष्पकमल दाहालले छाडेर गएका हुन्,’ रायमाझीले भने, ‘नेकपा बनाउन दाहाल र केपी शर्मा ओलबीच वार्ता गराउने मै हुँ ।’ गत निर्वाचनमा एमालेसित एकिकरण नगरेको भए माओवादी अन्तिम दल बन्ने देखेर आफूले एकता पहल गरेको उनले दाबी गरे ।
‘मैले ओलीकहाँ लैजाँदा केही नहुने,’ उनले भने, ‘हामी त्यही बस्दा के को आपत्ती ।’ आफू एमालेमै बसेपछि जिल्लास्थित माओवादीबाट उम्मेदवार हुने व्यक्ति बाँकी नरहेको उनले बताए । राष्ट्रिय राजनीतिमा देखिएको उतारचढावले समय दिन नसक्दा अझै जिल्लामा केही कार्यकर्ता माओवादीमा बचेको उनले टिप्पणी गरे ।
एमाले जिल्ला कमिटिमा अहिले पूर्व माओवादी कार्यकर्ता समेटिएका छन् । रायमाझीको चुनाव परिचालनमा उनीहरुको भूमिका छ । पूर्व माओवादी केन्द्रिय सदस्य तथा एमाले जिल्ला कमिटी सचिव विधान रायमाझीले गत स्थानीय निर्वाचनमा एक उपप्रमुख सहित ९ जना मात्र जनप्रतिनिधि चुनिएको बताए ।
‘एक समय जिल्ला, माओवादी किल्ला थियो,’ उनले भने, ‘भूमिकास्थान नगरपालिकामा उपप्रमुखसहित ९ जनप्रतिनिधि मात्र जितेको छ ।’ उनका अनुसार गत स्थानीय निर्वाचनमा जिल्लाका ६१ वडामध्ये ३० एमाले र ३१ वडा गठबन्धन आवद्ध दलले जितेका छन् । गठबन्धनले जितेका ३१ वडामध्ये २५ मा कांग्रेस, ३ माओवादी र ३ वटामा जनमोर्चाका वडाध्यक्ष छन् । ‘हामी एमालेमै बसेका हौं,’ उनले भने, ‘माओवादीले हामीलाई छाडेको हो ।’
मुख्य प्रतिष्पर्धी भुसाल २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट बिजयी भएकी थिइन । उनी दोस्रोपटक प्रत्यक्ष प्रतिष्पर्धामा होमिएकी छन् । मतदातासित घुलमिल हुन दिनरात भेटघाट व्यस्त रहेको सुनाउँछिन् । ‘पहिले जिल्ला आएर ठूलो समूहमा भेटघाट हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले घरघर पुगेर समस्या सुन्ने, आफ्ना योजना सुनाउने गरिरहेकी छु ।’
२०४८ साल यता जिल्लामा निर्माण थालिएका योजना लामो समयदेखि अलपत्र रहेको उनले बताइन । ‘अलपत्र योजना पूरा गर्ने र जनताकालागि आवश्यक योजना लागू गर्ने प्रतिवद्धता व्यक्त गरेकी छु,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कार्यक्रम, बजेटलाई बिकासमा रुपन्तरण गर्ने कुरामा जोड दिइएकी छु ।’ बाँदर र बँदेल नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको उनले बताइन् । जिल्लामा थालनी भएर अलपत्र परेका योजना पूरा गर्नेतर्फ उनको जोड छ ।
बजेट बिकासमा रुपान्तरण हुन नसक्दा तम्घास–सन्धिखर्क सडक २० वर्ष र सालझण्डी–ढोरपाटन सडक १८ वर्षदेखि अलपत्र परेको उनले बताइन् । सडक पूर्वाधारको विकास, नौमुरे जलविद्युत आयोजनाको सञ्चालन, धार्मिक पर्यटन क्षेत्रको प्रवद्र्धन, स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्थापनका लागि गठबन्धनले साझा विकास अवधारणा अघि सारेको उनले बताइन् ।
प्रविधिको बढ्दो प्रयोगले मतदाताका आकांक्षा फेरिएपनि विकासमा अभैm प्रविधि प्रयोग हुन नसकेको उनले बताइन् । ‘हामीले प्रविधि मैत्री बिकास योजना बनाउनु जरुरी छ’, उनले भनिन्, ‘यहाँ आएको बजेट सदुपयोग छैन । गठबन्धनले बजेट सदुपयोगमा जोड दिएको छ ।’
जिल्लामा सञ्चालन भइरहेका बिकास योजना देखाएर रायमाझीले भोट मागिरहेका छन् । जिल्लामा सडक, बिजुली, विमानस्थल लगायत आधा दर्जनभन्दा बढी ठूला बिकास योजना सञ्चालन गरेको उनको दाबी छ । ‘मनोनयन दर्तापछि घरघरै पुगेर जनताका अपेक्षा र माग बुझेका छौं,’ उनले भने, ‘जनतासित फेस टु फेस हुने अवस्था छ ।’ अहिलेसम्म सञ्चालन भएका काम राम्रो भएको र नयाँ योजना ल्याउनु पर्ने जनाताको माग रहेको उनले बताए ।
‘शिक्षा, स्वास्थ्य र रोजगारका माग धेरै छन’, उनले भने, ‘अहिले सामूहिक माग धेरै छन् । व्यक्तिगत तर्फ रोजगारी र सरकारी सेवाबारे पाएका छौं ।’ २०६६ सालमा सुरु भएको सालझण्डी ढोरपाटक सडक १ सय ९२ किलोमिटर निर्माण भैसकेको, वार्षिक ४० करोड बजेट नियमितआउने गरेको, मदन भण्डारी लोकमार्ग गुल्मीको रिडी हुँदै बल्कोट खण्डमा निर्माण भइरहेको, गोरुसिंगे सन्धिखर्क ऐतिहासिक सडक ३० करोड लागतमा बहुबर्षिय ठेक्का लागेको उनले बताए । जिल्लाको ठुला खोला, बागी खोलमामात्र ३५ वटा पक्की पुल निर्माण गरिएको रायमाझीको दावी छ ।
जिल्लामा स्थानीय तहको मत परिणाम अनुसार एमालेभन्दा ५ दलीय गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा एमालेको ४८ हजार २ सय ६०, कांग्रेसको ३७ हजार ९ सय २५, माओवादीको ७ हजार ७ सय ९०, राजमोको ४ हजार २ सय ९४ र नेकपा एसको ३ हजार ७ सय ६३ मतभार छ । यसआधारमा गठबन्धन ५ हजार ५ सय १२ मतले अगाडि देखिन्छ ।








प्रतिकृया दिनुहोस्