November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीको रेसमा को–को छन् ?

भैरहवा– करिब साढे तीन वर्ष एमालेका नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर काम गरे । उनको कार्यकालमा सबैभन्दा उपलब्धी भनेकै प्रदेश स्थायी राजधानी दाङको देउखुरी उपत्याकामा तोक्ने र प्रदेशको नामाकरण गर्ने रह्यो । नेकपा फुट्यो, पार्टी विभाजन भयो । त्यसपछि पाँच वर्ष मुख्यमन्त्री रहीरहने पोखरेलको सपना तुहियो । २०७८ को साउन २८ मा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भए ।

Advertisement

त्यसयता केसीले लुम्बिनी सरकारको नेतृत्व गरिरहेका छन् । नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले केसीलाई मुख्यमन्त्री बन्दा साथ दिएका थिए । जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप खेपेका केसीले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीबाट टिकट नै पाएनन् । पाँच दलीय सत्ता गठबन्धन हुँदा उनी टिकटबाट बञ्चित भएका हुन् । अब, उनले मंसिर पछि नयाँ सरकार नबनुन्जेल लुम्बिनी सरकारको नेतृत्व गर्ने छन् । त्यसपछि आगामी पाँच वर्ष मुख्यमन्त्री बन्ने उनको ढोका पूर्णरुपमा बन्द भएको छ ।

Advertisement

लुम्बिनी सरकारको संस्थापक मुख्यमन्त्री बनेका एमाले महासचिव शंकर पोखरेलले यसपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा उम्मेदवार बनेसँगै उनको पनि मुख्यमन्त्रीको ढोका बन्द भएको छ । यसअघि मुख्यमन्त्री भएका केसी र पोखरेल पुनः नदोहोरिने भए पछि अब नयाँ अनुहार लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

त्यसो भए अब को बन्ला त लुम्बिनी प्रदेशको मुख्यमन्त्री ? हालको सत्ता गठबन्धनले सरकार बनाउला की विपक्षी गठबन्धनले ? जुन गठबन्धनले जिते पनि सम्भावित मुख्यमन्त्री बन्ने नेता कुन हुन ? केन्द्रमा पहुँच भएका नेता कुन हुन् ? उनीहरुको गुटगत समीकरण कुन नेतासँग छ ? यावत् प्रश्नको लख काट्न सुरु भइसकेको छ । यी प्रश्न स्वतन्त्र मतदाताले मात्रै होइन्, स्वयं राजनीतिक दलहरुले पनि गर्न थालेका छन् ।

तर, अहिलेसम्म दलहरुले कसैलाई पनि अघि सारेका छैनन् । सम्भावित मुख्यमन्त्रीका दावेदार नेताहरुले पनि मुख खोलेका छैनन् । यद्यपि कतिपय नेताहरुले मतदाता समक्ष मत माग्न जाँदा अबको मुख्यमन्त्री म हो भनिरहेको बताइन्छ । लुम्बिनीका १२ जिल्लाबाट प्रदेशसभामा ५२ जना निर्वाचित हुनेछन् । यी निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ३३ सिटमा उम्मेदवार दिएको । बाँकी सिट सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादी प्रदेशसभामा कुनै सिट पाएको छैन । यद्यपि एकीकृत समाजवादीले केही प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । लुम्बिनी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा र लोसपाले १–१ सिटमा मात्र उम्मेदवारी दिएका छन् ।

खासगरी सत्ता गठबन्धनबाट अहिले मुख्यमन्त्रीको रेसमा १० जना नेता छन् । काँग्रेसमा भावी मुख्यमन्त्रीको दौडमा रहेका मुख्य दावेदार नेतामा पर्छन्, रुपन्देहीका काँग्रेस नेता अब्दुल रज्जाक गद्दी । उनी रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । संघीय सांसद भइसकेका र पूर्वराज्यमन्त्री पनि रहीसकेका रज्जाकलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित उम्मेदवार बनाइएको बताइन्छ । रज्जाक प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । तर, पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण निकट उनलाई प्रदेशसभाको उम्मेदवार बनाउनुको मुख्य कारण नै भावी मुख्यमन्त्री बनाउन रहेको दावी काँग्रेस नेता कार्यकर्ताहरुको छ । रज्जाकले भने पार्टी र गठबन्धनले जिते मुख्यमन्त्री को बन्ने भन्ने पछिको कुरा भएको बताउँछन् ।

‘पहिला त गठबन्धनले जित निकाल्न जरुरी छ । म अहिले नै मुख्यमन्त्री हो भन्दैनँ, अहिले हाम्रो उद्देश्य भनेकै प्रतिगमनलाई पराजित गरी गठबन्धनलाई जिताउने हो’, उनले भने । रज्जाकलाई प्रदेशमा उठाएर सत्ता गठबन्धनले क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका बैचारिक एवं बामपन्थी नेता घनश्याम भुसाललाई समर्थन गरेको छ । यस्तै, काँग्रेसबाटै भावी मुख्यमन्त्रीको दौडमा रहेको नेता हुन्, अमरसिंह पुन । काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुन मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभाको निर्वाचन लड्दै छन् । पुन रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन् । मुख्यमन्त्री बन्ने गरी पार्टीभित्र गृहकार्य पनि उनले सुरु गरिसकेको बताइन्छ ।

काँग्रेसबाट मुख्यमन्त्रीका अर्का दावेदार हुन्, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया । कपिलवस्तु ३ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका उनी यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता थिए । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पार्न माओवादीसँग ८–८ महिना सरकार चलाउने सहमति गर्दा कानौडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको थियो । तर, पछि माओवादीले नछोडेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । अहिले निर्वाचित भए कनौडिया काँग्रेसमा मुख्यमन्त्रीको बलिया दावेदार हुन् । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री एवं काँग्रेस नेता डिल्लीबहादुर चौधरी, काँग्रेस नेता वीरबहादुर राना पनि मुख्यमन्त्रीको दौडमा छन् । चौधरी दाङ ३ (क) बाट र राना पाल्पा २ (क) बाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

गठबन्धनबाट भागवण्डामा १७ सिटमा खुम्चिएको माओवादी केन्द्रमा जोखबहादुर महरा र सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दाबेदार हुन् । माओवादी केन्द्रले यसका लागि चुनावपछि कि त काँग्रेससँगको गठबन्धन जारी राखेर उसलाई मनाउनुपर्छ, नभए एमालेसँग तालमेल गरी मुख्यमन्त्री बन्नुपर्ने हुन्छ । माओवादीका नेता आफ्नै बलबुतामा मुख्यमन्त्री बन्ने सम्भावना भने न्युन छ । महरा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए । उनी अहिले रोल्पाको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार छन्न् । यसअघि सोही क्षेत्रबाट कुलप्रसाद केसीले चुनाव जितेका थिए । केसी अहिले मुख्यमन्त्री छन् भने प्रदेशसभाको टिकट पाएनन् । बराल गुल्मी क्षेत्र नम्बर १ (क)बाट निर्वाचन लड्दै छन् ।

प्रदेश योजना आयोगमा उपाध्यक्ष रहिसकेका माओवादी नेता बामदेव क्षेत्री घिमिरे पनि मुख्यमन्त्री बन्ने आकांक्षासहित रुपन्देही क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्दै छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएर काम गरेका बराल माओवादीबाट मुख्यमन्त्रीका सबैभन्दा बलिया दाबेदार रहेको माओवादी नेताहरुले बताउने गरेका छन् ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यद्वय लिला गिरी र दधिराम न्यौपाने मुख्यमन्त्रीका दावेदार हुन् । गिरी रुपन्देही क्षेत्र नम्बर २ (क) बाट चुनाव लड्दै छन् भने न्यौपाने क्षेत्र नम्बर १ (ख) बाट प्रतिष्पर्धामा छन् । त्यस्तै, एमालेबाट रुपन्देहीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचन लडेका भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी पार्टीका प्रदेश उपाध्यक्ष छन् । त्यस्तै एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्रीको आकांक्षासहित दाङको ३ (क) बाट चुनावी रेसमा छन् । एमालेका अर्का केन्द्रीय सदस्य भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी हुन् । उनी यसअघि प्रदेशसभाको प्रमुख सचेतक थिए । उनी रुपन्देहीको ५ (क) बाट उम्मेदवार छन् ।

यी पाँच नेतामध्ये एमालेले यदि प्रदेश सरकार बनाउने अवस्था आए सबैभन्दा बलिया मुख्यमन्त्रीका दावेदार गिरी हुन् । यद्यपि गिरीले आफूलाई तत्काल मुख्यमन्त्रीको दावेदावर भने प्रस्तुत गरेका छैनन् । अनौपचारिक छलफलहरुमा गिरीले पार्टीले जिते मुख्यमन्त्री जसलाई गराए पनि आफूलाई स्वीकार्य हुने बताउँदै आएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न एमालेमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल फ्याक्टरले काम गर्छ । त्यसैले निर्वाचित हुने नेता जो पोखरेल र पौडेल निकट छन्, उही नै मुख्यमन्त्री बन्नेछन् । यसमा पनि पोखरेल निकट फ्याक्टरले बढी काम गर्ने एमालेबृत्तमा चर्चा छ ।

यसअघि २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ । उसले जसपा र राप्रपासँग तालमेल गरी प्रदेशमा बहुमत ल्याउने दावी गरिरहेको छ । राजनीतिक विश्लेषक उमेशचन्द्र रिजालले भने जो मुख्यमन्त्री बने पनि जनचाहनाअनुसार काम गर्नुपर्ने बताउँछन् । ‘यसअघिका मुख्यमन्त्रीले राम्रो काम गर्न नसक्दा जनतामा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा भएको छ, अबका मुख्यमन्त्रीले भने राम्रो काम गर्नुपर्छ । पात्रले फरक पार्दैन, उसले गर्ने कामले जनतासँग प्रत्यक्ष सरोकार राख्ने हो’, उनले भने । यसपल्ट कुनै पनि दलले भावी मुख्यमन्त्रीको रुपमा कसैलाई अगाडि सारेका छैनन् । यद्यपि मुख्य दलबाट विभिन्न नेताले मुख्यमन्त्री बन्ने गृहकार्य भने गरिरहेका छन् ।