November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेशमा नमूना विद्यालयदेखि विश्वविद्यालयसम्मको आकर्षण

भैरहवा– पहाड र तराईमा शैक्षिक अवस्था तुलना गर्ने हो भने अवस्था उस्तैउस्तै छ । शैक्षिक खाडलको अवस्था पनि पहाड र तराईको उस्तै गहिराइमा छ । कतिपय विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा साथै उच्च तहको शिक्षा प्रदान गर्ने र नमूना छन् । प्रायः सबै जिल्लामा तल्लो स्तरका विद्यालय पनि छन् । ‘यस्ता पनि विद्यालय छन् र ? भन्ने अवस्थाका पनि छन्,’ शैक्षिक अगुवा माधवराज पाखरेल भन्छन्, ‘प्रायः सबै जिल्लामा उच्च तहका नमूना विद्यालय पनि नभएको होइन । तर सबै राम्रा र सफल छैनन् ।’

Advertisement

शिक्षाको क्षेत्रमा लुम्बिनी प्रदेशको अवस्थालाई मूल्यांकन गर्ने हो भने सबै भन्दा राम्रा, नमुना, शिक्षामा राष्ट्रिय पहिचान बनाएका विद्यालय, उच्च शिक्षा दिने क्याम्पस छन् । लुम्बिनी प्रदेशमा कक्षा १–५ का २६४९ सामुदायिक र ३७५ निजी गरी ३०२४ विद्यालय छन् । कक्षा ६–८ का सामुदायिक ८३३ र संस्थागत १८९ गरी १०२२ छन् । कक्षा ९–१० सामुदायिक ६०९ र संस्थागत ३८९ गरी १००७ रहेको छ । यसैगरी कक्षा ११–१२ संचालन भएका सामुदायिक ४९४ र संस्थागत १५० गरी ६४४ को संख्यामा छ ।

Advertisement

लुम्बिनी प्रदेशमा पहाड र तराईमा ६–६ जिल्ला पर्छ । तराईमा पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया छन् । पहाडमा रुकुमपूर्व, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी र पाल्पा जिल्ला पर्छन् । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार ४३२ वटा धार्मिक विद्यालय छन् । उच्च शिक्षा प्रदान गर्ने सामुदायिक ८८, आंगिक १६ र निजी ८० गरी १८५ वटा क्याम्पसहरु रहेका छन् । लुम्बिनी प्रदेशमा दुई विश्वविद्यालय पनि छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय रुपन्देही र नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुण्डीमा छ ।

संविधानले दिएको अधिकार अन्तर्गत शिक्षा एक आधारभूत मौलिक अधिकार हो । प्रारम्भिक अवस्थादेखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्नेदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको शिक्षा विकास तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज गैरेको भनाई छ । २०६२–०६३ पश्चात् विद्यालयीय शिक्षामा समायनुकूल परिवर्तन आउने अपेक्षा नभएको होइन । यसका लागि संस्थागत, सरकारी एवम् गैरसरकारी तवरमा विभिन्न प्रयासहरु पनि भएका हुन् । मुलुकभरका जस्तै लुम्बिनी प्रदेशमा पनि सामुदायिक शिक्षामा खासै सुधार हुन सकेको छैन । फेरि सुधार नै नभएको भन्ने पनि होइन । सुधार अधिक भएका छन् ।

राम्रा र नमुना विद्यालय पनि छन् । तर ती सीमित मात्र रहे । नेपालको संविधान २०७२ लागू भई सकेपछि शिक्षा ऐन परिवर्तन गरी परिवर्तित ऐनमा शिक्षक व्यवस्थापनको लागि केही प्रावधान राखिएको छ । शिक्षा ऐनको आठौं संशोधन कार्यान्वयन नहुँदै नवौं संशोधन गरिएको छ । सरोकारवालाहरुको विरोधपछि भने ऐन संशोधन भए पनि कार्यान्वयन अझैसम्म हुन सकेको अवस्था छैन ।

हुन त मुलुकमा सरकार परिवर्तन हुनासाथ शिक्षा आयोग बन्छ । आयोगले सरकारलाई प्रतिवेदन पेश गर्ने गर्छन् । शिक्षा विकास भने हुन सकेको छैन । लुम्बिनी प्रदेशमा पनि उस्तै अवस्था हो । २०७४ सालको स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार बनेको छ । प्रादेशिक सरकार बनेको छ । संविधानले नै प्रत्याभूत गरेको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन स्थानीय सरकारले लिन पनि थुप्रै प्राविधिक तथा नीतिगत समस्या छ । शिक्षा विकास तथा सामाजिक विकास निर्देशनालयका निर्देशक गैरेका अनुसार लुम्बिनी प्रदेश सरकारको पञ्चवर्षीय योजना अन्तिम अवस्थामा छ ।

‘गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेशकै योजना आउनेछ,’ उनले भने, ‘सामुदायिक र संस्थागत विद्यालयको विकासका लागि ५ वर्षे योजनाले समेटेको छ ।’ सामुदायिक विद्यालय धेरै छन् । तर विद्यार्थी संख्या हेर्ने हो भने २४ प्रतिशत विद्यालय छ । ३३ प्रतिशत विद्यार्थी संस्थागत रहेका छन् । अंग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षा भनियो । विद्यार्थीलाई सिकाईको थलो बनाउने कि घोकाई थलो बनाउने भन्ने हो । गैरेको बुझाईमा नमुना भनिएका विद्यालयमा तल्लो तहमा विद्यार्थी संख्या कम हुनु राम्रो होइन । माथिल्लो कक्षामा विद्यार्थी संख्या धेरै हुनु सिकाई गुणस्तरीय नहुने उनको बुझाई छ । तल्लो स्तरबाटै सिकाउँदै लग्नुपर्ने हो त्यो हुन सकेको छैन ।

शिक्षा पत्रकार समूहका अध्यक्ष मल्लको बुझाईमा स्थानीय तह पाँच वर्षदेखि विद्यालय शिक्षाका विषयमा अलमलमै रहे । संघीय शिक्षा ऐन संशोधन भएर नआउँदा प्रदेश र स्थानीय सरकारका ऐन बन्न सकेका छैनन् । कतिपयले आङ्खनै ढंगले निर्माण गरेका छन् । तर उनीहरुको बनाएको ऐन भनेको कामचलाउ मात्र हो । मुलुकका ७ प्रदेशमा तुलना गर्ने हो भने लुम्बिनी प्रदेश शिक्षाको विकासमा धेरै अगाडी छ । लुम्बिनी प्रदेशमा पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके लगायतका जिल्लामा नमुना विद्यालय छन् । त्यस्ता विद्यालयहरु मुलुकमै ख्यातीप्राप्त छन् । मुलुककै प्रतिनिधित्व गर्ने विद्यालय लुम्बिनी प्रदेशमा छन् ।

रुपन्देहीकै कुरा गर्ने हो भने विगतमा लोकप्रिय बनेको नविन औद्योगिक कदरबहादुर रिता रायमाझी विद्यालय पहिलो नमुना विद्यालय थियो । अहिले नविनसंगै कालिका, कान्ति, शान्ति नमुना मावि लगायत दर्जन विद्यालय लोकप्रिय छन् । रुपन्देहीमै संस्थागत विद्यालय पनि उस्तै गरी अघि उच्चस्तरको शिक्षा दिँदै अघि बढेका छन् । तर त्यही रुपन्देहीमा यस्ता पनि विद्यालय हुन् र ? भन्ने पनि नभएको होइन । बाँके, दाङ, कपिलवस्तुमा पनि राम्रा विद्यालय छन् । तर त्यही जिल्लामा समुदायस्तरमा कमजोर विद्यालय छन् ।

पाल्पामा पनि दमकडा, रामतुल्सी, दरैठाँटी, गंगा, जनता मावि पनि नमुना छन् । गुल्मी, अर्घाखाँचीमा पनि केही विद्यालय नमुनाका रुपमा शिक्षा प्रदान गरेका छन् । प्यूठान, रोल्पा र रुकुम पूर्वमा पनि त्यस्ता विद्यालय नभएका होइनन् । ‘निजी भन्दा सामुदायिक धेरै अघि बढेका छन्,’ शैक्षिक अगुवा पोखरेलले भने, ‘तर खाडल भने धेरै गहिरो छ । माथि उकासिन नसकेका सामुदायिक विद्यालय तल्लो तहमै बसेको अवस्था छ ।’ विद्यालय शिक्षा सुधारका लागि शिक्षा विकास तथा समन्वय इकाई पनि जिल्लामा छन् । शिक्षा शाखा स्थानीय तहमा छन् । तर सुधार आउन भने सकेका छैनन् । संघीय सरकारले मावि तहसम्म स्थानीय तहलाई शिक्षाको अधिकार दियो । तर सीप, क्षमता, बजेट दिएको छैन ।

स्थानीय तह पछिल्लो समयमा एक्लो जस्तै भएको छ । स्थानीय तह, प्रदेश र संघीय मिलेर काम गर्ने हो भने विद्यालय सुधार्न केही बेर लाग्दैन । अहिले सिकाई आदानप्रदान गर्ने चेन ब्रेक भएको छ । शिक्षा विकास तथा समन्वय इकाई अहिले बेकामे जस्तै भएका छन् । तर स्थानीय तहका शिक्षा शाखा पनि सही ढंगले काम गर्न नसक्दा नै विद्यालय शिक्षाले फड्को मार्न नसकेको हो । लुम्बिनी प्रदेशमा शिक्षाको अवस्थाबारे सन् २०२१ मा गरिएको अध्ययनमा २ सय ५६ जना बालबालिका विद्यालयको पहुंच बाहिर छन् । उनीहरुमध्ये १ सय ८९ जना विवाहित छन् । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमै सन् २०२० मा बालिकाहरुमा गरेको सर्वेक्षणले ३ सय ६ जना बालिका विद्यालय बाहिर भेटिएको तथ्यांक छ ।

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयको २०७७ सालको प्रदेश शैक्षिक दर्पणको तथ्यांक अनुसार बालविकास केन्द्रमा २ लाख २२ हजार २ सय २८ विद्यार्थी छन् । बालविकाससहित कक्षा १२ सम्म भने १३ लाख ९४ हजार ५ सय १० जना विद्यार्थी अध्ययन गर्छन् । गरिबी र विपन्नताका कारण विद्यालय नजाने समस्या लुम्बिनी प्रदेशका १२ वटै जिल्लाामा छ । गरिबी र अभिभावकको चेतना अभाव जहाँतही छ । प्राथमिक तहमा पढ्ने उमेरका ११ हजार बालबालिका विद्यालय बाहिर छन् । माध्यमिक तहमा ५५ हजार बालबालिका विद्यालय बाहिर छन् । बालबालिकालाई पढाइमा जोड्न घरदेखि विद्यालय र शिक्षकसम्मको सहयोग र समन्वय हुन सकेको छैन ।

श्रमिक बालबालिकामा विद्यालय गएपनि नियमित नहुने र पढाइ पूरा नहुने समस्या जहाँसुकै छ । दिगो विकासको लक्ष्यको ४ नम्बरले गुणस्तरीय शिक्षालाई उल्लेख गरेको छ । नेपालले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्ति गर्ने कार्ययोजना सार्वजनिक गरिसकेको छ । लुम्बिनी प्रदेशले छुट्टै नीति र कार्यक्रम बनाएर सबै बालबालिकालाई शिक्षाको पहुंचमा पु¥याउनुपर्ने हुन्छ । सबै बालबालिकाको पहुँचमा गुणस्तरीय शिक्षा पुर्याउन बजेट र शिक्षाप्रतिको संवेदनशीलता बढाउनुपर्छ । संघीयता आएको छ । तर पनि शिक्षाप्रति हेर्ने दृष्टिकोण र बजेट नै पर्याप्त छैन । संघीय, प्रदेश र स्थानीय सरकारले शिक्षा क्षेत्रलाई बजेट नबढाउँदा अत्यावश्यक काम समेत गर्न सकिने अवस्था छैन ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीको बुझाईमा पनि विद्यालय शिक्षामा प्रदेश सरकारको खासै भूमिका देखिएको छैन । विद्यालय शिक्षा स्थानीय सरकारलाई दिएको छ । संघ र प्रदेशको अधिकार सूचिमा विद्यालय शिक्षा राखेको छ । तर बाँडफाँड भएको छैन । विद्यालय शिक्षामा प्रदेश सरकारले सामाजिक विकास डिभिजन कार्यालय खडा गरेर लगानी गरेको छ । तर पूर्वाधार भन्दा पनि शिक्षकको टड्कारो समस्या हो । स्वयंसेवक भए पनि गणित, विज्ञान, अंग्रेजी, कम्प्युटर शिक्षामा शिक्षक थप्नु पर्छ । स्थानीयतहदेखि संघीय सरकारसम्मलाई शिक्षामा बजेट बढाउन र संवेदनशीलता बढाउनमा घच्घच्याउनुपर्ने शिक्षाका जानकार तथा शिक्षाका लागि राष्ट्रिय अभियानका अभियन्ता चोपलाल गिरीले बताए । लुम्बिनी प्रदेशभित्र तथ्यांक हेर्ने हो भने एक वर्षमा ५ अर्बको हाराहारीमा निजी स्रोतमा शिक्षक व्यवस्था गरेका छन् ।

विद्यालयले आङ्खनै स्रोतबाट त्यति धेरै लगानी गरेका छन् । शिक्षकले ज्ञान, सीप, क्षमता कति डेलिभरी गर्छन् भन्ने प्रश्न भने रहेको छ । हुन त प्रदेश सरकारले शिक्षामा सुधार एवं सामुदायिक विद्यालयको भौतिक सुधार गर्न तथा गणित र विज्ञानको नतिजा सुधार गर्न लागि परेको छ । शिक्षाको सन्तुलित विकास विना अन्य क्षेत्रको विकास सम्भव हुँदैन । यथार्थलाई आत्मासात् गर्न नसक्ने हो भने विद्यालय शिक्षाले गति लिन नसक्ने शिक्षाका लागि राष्ट्रिय अभियानका अभियन्ता शालिकराम पाण्डेयको बुझाई छ । संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको छ । तर, त्यसको कार्यान्वयन भएको छैन । विभिन्न बहानमा विद्यार्थीसंग शूल्क असुल्ने काम भइरहेको छ । शिक्षा भनेको निश्चित दर्शन, मूल्य मान्यता तथा मौलिक सिद्धान्तबाट निर्देशित हुनपर्ने पाण्डेयको तर्क छ ।

वर्तमान शिक्षाले पूर्वीय मान्यताका असल अभ्यास र परम्परालाई आत्मसात् गरेको छैन भने पश्चिमा दर्शनको व्यवहारिक पक्षलाई नै पहिचान गर्न नसक्दा शिक्षा मार्कसिट लिने मात्र भएको छ । यसमा लुम्बिनी प्रदेश सरकार, स्थानीय तहले पनि नविन सोंच बनाएर अघि बढ्ने हो भने राम्रो हुने उनले सुझाव दिए । विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयलाई संस्थागत गरी शिक्षालाई प्रदेशको विकासको लागि आवश्यक मानवपूँजी निर्माण गर्ने संयन्त्रको रुपमा रुपान्तरण गर्ने योजना शिक्षा तथा सामाजिक विकास निर्देशनालयको ध्यय छ । प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको निर्देशक गैरेले जानकारी दिए । कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन गर्ने सामुदायिक विद्यालयहरुलाई आकर्षक शैक्षिक संस्थाको रुपमा विकास गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई लक्षित गरी स्थानीय तहसँगको सहलगानीमा ‘एक स्थानीय तह, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

मुस्लिम समुदायका छात्राहरुको शिक्षामा सहभागिता वृद्धि गर्न नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका छ वटा विद्यालयहरुमा विशेष पूर्वाधार विकास गरी मुस्लिम छात्राहरुको नमूना विद्यालयको रुपमा विकास गर्ने योजनामा निर्देशनालय अघि बढेको छ । शैक्षिक क्षेत्रको रुपान्तरण गर्न प्रदेश शिक्षा नीति तर्जुमा गरिएको छ । प्रदेशमा विश्वविद्यालयसम्बन्धी ऐन निर्माण गरी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सोंचका साथ अघि बढेको छ । प्रदेशमा उच्च शिक्षा प्रदान गरिरहेका विभिन्न विश्वविद्यालय र क्याम्पससँगको सहकार्य रहेको निर्देशक गैरेले जानकारी दिए । सामुदायिक क्याम्पसहरुको सवलीकरणमा जोड दिएको छ ।

अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी स्थानीय तथा संघीय सरकारसँगको सह–लगानीमा आवासीय सुविधा सहितको विशेष विद्यालय निर्माणका काम अघि बढेका छन् । लुम्बिनी प्रदेशमै संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यतालाई प्रवाहित गराउन नेपाल संस्कृति विश्वविद्यालय (तत्कालिन महेन्द्र संस्कृत विश्वविद्यालय) स्थापना भएको छ । संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्न यस विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको छ ।संस्कृत विश्वविद्यालयको स्थापनामा संस्कृत शिक्षाको संरक्षण भएको छ । विश्वविद्यालय संचालन गर्न दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैंयाँ परिवारबाट दाङको देउखुरी उपत्यकामा १२०० बिगाहा भूमिदान गरेका छन् । २०११ सालमै दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भएको हो ।

२०२६ सालमा घोषणा भएपनि २०४३ सालमा मात्र सार्थकता पायो । संस्कृति विश्वविद्यालय स्थापनामा योगी नरहरिनाथको महत्वपूर्ण भूमिका छ । पहिले महेन्द्र सस्ंकृत विश्वविद्यालय रहेपनि गणतन्त्रको स्थापनापछि २०६३ सालमा नेपाल संस्कृत विश्वविद्यालय भएको हो । उच्च तहसम्म संस्कृत शिक्षाको पठन–पाठन गराई दक्षजनशक्ति उत्पादन गर्दे आएको छ । दाङ बेलझुण्डी परिसरमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, कुलसचिवको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, अनुसन्धान केन्द्र, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, सेवा आयोगको कार्यालय, केन्द्रीय पुस्तकालय र आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय रहेको छ । लुम्बिनी प्रदेशको अर्को गहना भनेको लुम्बिनी बौद्ध विश्वविद्यालय हो ।

बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्न यस विश्वविद्यालयको ठूलो भूमिका छ । २०६१ सालमा स्थापना भएर २०६७ देखि विद्यावारिधि कार्यक्रम थालेको छ । २०६९ देखि सम्बन्धन प्राप्त कलेजमा बौद्ध अध्ययनअन्तर्गत थेरबाद बुद्धधर्मस, महायान बुद्धधर्मस, एप्लाइड बुद्धिज्म, बुद्धधर्म र पिस स्टडिज, बुद्धधर्म र हिमालयन स्टडिज विषयमा स्नातकोत्तर तहको अध्ययन–अध्यापन गर्दै आएको छ । २०७०।७१ देखि लुम्बिनीमा स्नातकोत्तर तहमा एप्लाइड बुद्धिज्मको समेत पढाइ भइरहेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।

तानसेनमा शैक्षिक गतिविधिबारे जानकारी गराउन आयोजित छलफलमा रजिष्ट्रार आचार्यले भनेका थिए, ‘अब घर–घरमा बौद्ध अध्ययन पु¥याउने र आधारभूत बौद्ध अध्ययन विषय न्यूनतम कक्षाभार अनिवार्य हुने गरी क्षेत्र विशेषको आवश्यकता र माग भएका रोजगारीमूलक आधुनिक विषयलाई जेनरल विषयमा राखिएको छ । जसअन्र्तगत स्नातक तथा स्नातकोत्तर तहमा मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि विषयको अध्यापन गराई ‘घरघरमा बौद्ध अध्ययन’ पुर्याउने लक्ष्य राखिएको छ ।’ लुम्बिनी प्रदेशमा महिला तथा खुला विद्यालय पनि रहेको छ । रुपन्देहीमा साधना महिला विद्यालय, पाल्पामा जनता मावि खुला विद्यालय, कपिलवस्तुमा दुर्गा भवानी कन्या मावि, दाङमा स्वर्गद्वारी प्रावि (महिला विद्यालय) रहेका छन् । जे होस् लुम्बिनी प्रदेश स्तरमा संचालन हुने विद्यालयदेखि उच्च शिक्षा प्रदान गर्ने क्याम्पस र विश्वविद्यालयले दिगो विकासका लक्ष अन्तर्गतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रारम्भिक पठन सीप परियोजना, शिक्षाका लागि खाद्य कार्यक्रम लगायतमा सहयोग पुगेको छ ।

विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धनका लागि प्रदेश सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । प्रादेशिक स्तरमा शिक्षाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमनर परीक्षण गर्ने व्यवस्थालाई सही ढंगले संचालन गर्नुपर्ने आवश्यकता छ ।