पाल्पा-२ : पूर्वसहकर्मीबीच रोचक प्रतिष्पर्धा



पाल्पा– दुई दशकभन्दा बढी समयदेखि नेकपा एमालेको सङ्गठनमा सँगै काम गरेका पूर्वसहकर्मीबीच आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाल्पा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ मा पतिष्पर्धा हुने भएको छ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेय र एमालेका नेता ठाकुर गैरेबीच मुख्य प्रतिष्पर्धा हुने भएको हो । पूर्वसहकर्मीबीचको प्रतिष्पर्धाले यस क्षेत्रको निर्वाचन थप रोचक बनेको छ ।
आगामी निर्वाचनमा पाण्डेय गठबन्धनको तर्फबाट र गैरे एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा एकै क्षेत्रबाट चुनावी मैदानमा छन् । दुई दशकदेखि पाण्डेय र गैरे एउटै पार्टीमा रहेर काम गरेका थिए । तर एमालेको विभाजनसँगै पाण्डेय नेकपा एकीकृत समाजवादी र गैरे एमालेमै रहेर प्रतिनिधिसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । डेढ वर्षअघिसम्म पाण्डेय एमाले पाल्पाका इन्चार्ज र गैरे सहइन्चार्ज थिए ।
पाण्डेयले पार्टीको राजनीती गर्दै पाल्पाबाट चार पटक चुनाव जितेका नेता हुन् । गैरे भने विद्यार्थी राजनीतिबाट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनिसकेका नेता हुन् । पूर्वसहकर्मी फरक–फरक पार्टीबाट चुनाव लड्दा पाल्पा क्षेत्र नं. २ को निर्वाचन रोचक हुने भए पनि मतदाता र कार्यकर्तालाई अप्ठेरो परेको छ । ‘पूर्वसहकर्मी भए पनि पार्टीले टिकट दिएपछि आपसमा प्रतिष्पर्धा हुने नै भयो’, नेकपा एमालेका जिल्ला स्तरीय नेता दामोदर घिमिरेले भने, ‘चुनाव जसले जिते पनि निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न हुनुपर्ने र मतपरिणामलाई दुबै पक्षले स्वीकार गर्नुपर्ने हुन्छ ।’
यसअघिको तीन–चारा वटा चुनावमासँगै मत माग्न आएका नेताहरू फरक–फरक पार्टीबाट चुनाव लड्ने भएपछि मतदाता भने अन्यौलमा परेका छन् । पहिले एउटै पार्टीबाट पाण्डेय र गैरे चुनावमा मत माग्न आए, अब फरक–फरक पार्टीबाट आएपछि आफूहरू निर्णय गर्न अप्ठेरो परेको पाल्पा क्षेत्र नं. २ का मतदाता बताउँछन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धीसमेत रहेका पाण्डेयले क्षेत्र नम्बर दुईबाट २०७४ मा जित निकालेका थिए । पूर्वमन्त्री समेत रहेका पाण्डेयलाई यसपटक आफ्ना पूर्व सहकर्मी एवं एमालेका युवा नेता गैरेसँग भिड्न कठिन पक्कै हुने छ । नेपालका सम्धी भएकै कारण गैरेले विगतमा यो क्षेत्रबाट टिकट पाउनै मुस्किल थियो । यसपटक भने एमालेले गैरेलाई टिकट दिएको छ ।
२०७४ मा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमालेबाट उम्मेदवार बनेका पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए । पाल्पा २ मा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमाले अगाडि छ । एमालेले यहाँ ३० हजार ५३६ मत पाएको छ भने नेपाली काँग्रेसले २९ हजार ३९ मत पाएको छ । माओवादीले भने ४ हजार ३१३ र नेकपा एसले ४३३ मत मात्रै पाएको छ । स्थानीय तहमा कमजोर देखिएका पाण्डेलाई निर्वाचन जित्न काँग्रेस र माओवादीको भरोसा छ । यद्यपि पाण्डेले आफूले निर्वाचन जित्ने बताउँदै आएका छन् । पाण्डेय यहाँबाट पटक–पटक सांसद भएका छन् । गैरे पहिलोपटक चुनावी मैदानमा छन् ।
प्रतिनिधि सभाको उम्मेद्वार रहेका गैरेले भने पूर्व सहकर्मी पाण्डेयसँगको प्रतिष्पर्धा आफ्ना लागि सहज हुने बताए । मतदाता र केही कार्यकर्ताका लागि प्रतिनिधि छान्न अप्ठेरो भए पनि सक्षम प्रतिनिधिका लागि मतदाताले मत दिने गैरेको विश्वास छ । एमालेको बलियो संगठन रहेकाले आफूले चुनाव जित्ने गैरेले दावी गरे । पाण्डेयले दुई सहकर्मीबीच हुने चुनावी प्रतिष्पर्धालाई आफूले स्वभाविक रुपमा लिएको बताए ।
‘प्रतिष्पर्धा पार्टी आन्तरिक जीवनमा पनि थियो र अहिले बाहिर रहेर पनि हुनेभयो’, उनले भने । पाल्पाली जनताको पक्षमा आफूले लामो समयदेखि काम गर्दै आएकाले मतदाताले विवेक पुर्याएर मत दिने उनको भनाई छ । एमालेभित्र असन्तुष्टि रहेको र गठबन्धनमा आबद्ध दलको आफूलाई बलियो साथ रहेकाले चुनाव जित्ने पूर्वमन्त्री पाण्डेयको दावी छ ।








प्रतिकृया दिनुहोस्