November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

दाङका तीन क्षेत्रमा ‘मेन भर्सेज वुमेन’

दाङ– लुम्बिनी प्रदेश अन्तर्गत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि दाङको निर्वाचन रोचक देखिन्छ । प्रदेशमा महिला उम्मेदवारको संख्या नगन्य रहेका बेला दाङका तीन क्षेत्रमा स्थापित पुरुष नेतालाई लामो समय राजनीतिमा बिताएका र विभिन्न क्षेत्रमा संघर्ष गरेका तीन महिलाले चुनौती प्रस्तुत गरेका छन् । उनीहरु उम्मेदवारी मनोनयन पूरा गरेपछि मत माग्न घरदैलोमा व्यस्त छन् । चलनचल्तिको भाषामा ‘हेभिवेट’ मानिएका नेताबिरुद्ध चुनावी स्पर्धामा रहेका तीनै महिलाले यसअघि संसदको अनुभव हासिल गरिसकेका छन् ।

Advertisement

यसपटक प्रत्यक्षबाट निर्वाचन जितेर संसदमा पुग्ने लक्ष्यसाथ उनीहरु भोट मागिरहेका छन् । यसका लागि उनीहरुले लैंगिक मुद्दालाई मात्रै उठाएका छैनन्, जिल्लाको समग्र बिकास निर्माण योजना प्रस्तुत गरिरहेका छन् । ठूला राजनीतिक दलबीच हुने ‘मेन भर्सेज वुमेन’ प्रतिष्पर्धाले जिल्ला बाहिरका राजनीतिकमा चासो राख्ने व्यक्तिको ध्यानाकर्षण गरिरहेको छ ।

Advertisement

जिल्लास्थित मुख्य निर्वाचन कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीविरुद्ध एमालेकी शान्ता चौधरी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. २ मा एमाले महासचिव शंकर पोखरेलविरुद्ध गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मा मैदानमा उत्रिएकी छन् । क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीविरुद्ध एमाले केन्द्रीय सदस्य कोमल वलीले टक्कर दिइरहेकी छन् ।

राष्ट्रिय राजनीतिमा स्थापितसित उनीहरुले प्रतिस्पर्धा गरिरहेका हुन् । महिला उम्मेदवार महिलाका विषयभन्दा समग्र जिल्लाको विकासका एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन् । महिलाहरुले मुख्य दलबाट संघमा उम्मेदवार बन्न पाउनु सकारात्मक कुरा भए पनि समग्र विकासका एजेन्डा लिएर जनतामाझ गइरहेको क्षेत्र नं. १ की एमाले उम्मेदवार शान्ता चौधरीले बताइन् । ‘महिलाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान पाइरहेका छन् । यो उपलब्धिमूलक कुरा हो,’ उनले भनिन्, ‘जनतामाझ महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, विकास निर्माणजस्ता सबै विषय लिएर गइरहेका छौं ।’

महिलाहरु लामो समय राजनीतिमा पछि परे पनि अहिले जिल्लाको हकमा टिकट पाउन सफल हुनु राम्रो पक्ष रहेको क्षेत्र नं. २ की गठबन्धनकी उम्मेदवार शर्माले बताइन् । ‘देशभर महिलाको उपस्थिति कमजोर भए पनि दाङमा संघतर्फ राम्रो देखिएको छ । ‘यसले हामीलाई उत्साहित बनाएको छ,’ उनले भनिन्, ‘हामी महिलाहरुको सशक्तीकरण र राजनीतिक उन्नतिका लागि काम गर्ने प्रण गरेर चुनावी मैदानमा गएका छौं ।’

मुख्य प्रतिस्पर्धामा महिला उम्मेदवार देखेपछि जनता उत्साहित भएको क्षेत्र नं. ३ की एमाले उम्मेदवार कोमल वलीले बताइन् । ‘जनताले पहिलोपटक मुख्य प्रतिस्पर्धामा यति धेरै महिला देख्न पाएका छन्,’ उनले भनिन्, ‘यो ठूलो राजनीतिक उपलब्धि हो । हामी पछाडि परेको वर्ग र समुदायको हितमा लड्ने एजेन्डासहित मतदातामाझ गइरहेका छौं ।’ पुरुषसरह विकास निर्माण र नीति निर्माण तहमा काम गर्ने योजना पनि प्रस्तुत गरिरहेको उनले बताइन् ।

अन्य क्षेत्रमा महिला उम्मेदवार कम भइरहेका बेला जिल्लामा मुख्य प्रतिस्पर्धामा महिला नै पर्नुलाई राजनीतिमा महिला सहभागिताको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुशीला पौडेलले बताइन् । ‘जिल्लामा पहिलोपटक संघमा महिलाहरु मुख्य प्रतिस्पर्धामा आएका छन् । यो महिला सशक्तीकरणको उच्च उदाहरण हो,’ उनले भनिन्, ‘नीति निर्माण तहमा महिलाहरू पुग्ने अवसर हो । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरुविरुद्ध महिला उम्मेदवार खडा हुनु उदाहरणीय पक्ष हो ।’

क्षेत्र नं. १ बाट मेटमणी दोस्रोपटक चुनावी मैदानमा छन् । उनी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । अहिले उनी समाजवादीका तर्फबाट सहरी विकास मन्त्री छन् । महिला नेतृसँग प्रतिस्पर्धा गर्न पाउनुलाई रोचक रुपमा लिइरहेको उनले बताए । ‘मैले यसअघि पहिलोपटक चुनाव लडेर जितेको छु । अहिले सहकर्मी महिला उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछु,’ उनले भने, ‘यसले चुनाव रोचक बनाएको छ । हामी जसले जिते पनि काम गर्ने सबै वर्ग, समुदायका लागि हो ।’

शान्ता पूर्वकमलरी हुन् । उनी भूमिअधिकार आन्दोलनबाट राजनीतिमा आएकी हुन् । उनी २०६४ र २०७४ मा समानुपातिक सांसद भएकी थिइन् । २०७० मा क्षेत्र नं. २ मा कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । शान्तालाई निर्वाचनमा असर गर्ने गरी एमाले केन्द्रीय सदस्य गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् । एमालेले टिकट नदिएपछि उनले एमाले छोडेर उम्मेदवारी दिएकी हुन् ।

जिल्लामा दाङ र देउखुुरी उपत्यकाको क्षेत्रगत भावना पनि छ । शान्ता दाङ उपत्यकाकी भएका कारण देउखुरीबासीको भावनात्मक सम्बन्ध जोडिएमा केही समस्या हुने देखिन्छ । मेटमणीको पार्टीको मत निकै कम छ । गठबन्धनबाट इमानदारीसाथ मत आएमा मात्र उनलाई जित्न सम्भव हुन्छ । शान्ता, मेटमणी र गंगा तीनै जना विगतमा एउटै पार्टीमा सहकर्मी थिए । अहिले आपसी प्रतिस्पर्धी भएका छन् । पोखरेल २०५१ मा क्षेत्र नं. २ बाट कांग्रेसका दीपक गिरीलाई पराजित गर्दै पहिलोपटक सांसदमा निर्वाचित भएका थिए ।

२०५६ मा क्षेत्र नं. २ बाट कृष्णकिशोर घिमिरेसँग पराजित भए । २०६४ मा समानुपातिक सांसद भए । २०७० मा क्षेत्र नं. ४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । २०७४ मा क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए । शर्मा २०७० मा समानुपातिक सांसद भएर सामान्य प्रशासन मन्त्री भइन् । २०७४ मा पनि समानुपातिक सांसद भइन् । उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् ।

क्षेत्र नं. २ मध्ये घोराही उपमहानगरपालिका एमालेले जितेको छ । बंगलाचुली माओवादी र कांग्रेस गठबन्धनले जितेको छ । एमाले महासचिव नै उम्मेदवार भएपछि पार्टी पूर्ण जोडबलका साथ निर्वाचन प्रचारमा होमिएको छ । गठबन्धनलाई पनि एमाले महासचिवलाई पराजित गर्ने चुनौती छ ।