November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रुपन्देही–२ : गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई ‘लट्री’ !

भैरहवा– सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङको उम्मेदवारी खारेजी भएको छ । बैंकिङ कसूरलाई देखाउँदै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यससँगै गुरुङसँग प्रतिस्पर्धा गर्न लागेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई चुनाव जित्न निकै सहज भएको छ ।

Advertisement

पैडेल उनै नेता हुन्, जसले रुपन्देही क्षेत्र नम्बर २ बाट लगातार ३ वटा निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । मुख्य प्रतिस्पर्धी गुरुको उम्मेदवारी नै खारेज भए पछि पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेललाई यसपटक भने ‘लट्री’ नै परेको छ । गुरुङको उम्मेदवारी खारेज हुँदा अब यहाँ पौडेलसँग प्रतिस्पर्धा गर्न सक्ने ‘राजनीतिक हाइट’का उम्मेदवार छैनन् । सत्ता गठबन्धनले यहाँ अन्य ‘डमी’ अर्थात् गोप्य स्वतन्त्र उम्मेदवार पनि नउठाएकाले पौडेललाई सहज भएको एमाले नेताकार्यकर्ता र स्वयं गठबन्धनका नेताहरु पनि स्वीकार्छन् ।

Advertisement

लगातार तीनपटक निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका पौडेलले २०७४ मा कांग्रेसका युवराज गिरीलाई दोब्बर भन्दा बढी मतले पराजित गरेका थिए । पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसका गिरीले २१ हजार ९४६ मत ल्याएका थिए । पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीकै नेता डा.बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने ०५१ मा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए । पौडेलले २०६४ यताका तीन वटा निर्वाचन लगातार जित्दै आएका छन् ।

गठबन्धन र पौडेलमाथि लागेका केही आरोपहरुले गर्दा यसपटक पौडेललाई भने केही चुनौति थियो । तर, गुरुङको उम्मेदवारी खारेजीपछि भने उनलाई राहत मिलेको छ । गत स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका, सैनामैना र तिलोत्तमा नगरपालिका नेपाली काँग्रेसले जितेको छ । अर्कातर्फ गठबन्धनले गर्दा उनलाई थप चुनौति थियो । पौडेलले एमाले फुटको असर पनि यसपटकको निर्वाचनमा पक्कै भोग्नुपर्ने थियो । गुरुङको उम्मेदवारी खारेजीसँगै यी सबै कुरा सामाना गर्नबाट पौडेलले छुटकारा पाएका छन् ।

लामो समय पौडेलसँग सँगै काम गर्दै आएका नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव गुरुङले गठबन्धनबाट उम्मेदवार बनेर उनलाई बलियो चुनौति दिएका थिए । युवाहरुमाझ लोकप्रिय गुरुङले पौडेललाई टक्कर दिने सबैभन्दा बलिया उम्मेदवार थिए । यहाँबाट हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका डा.कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी खारेजी पछि पौडेलका लागि बाधक बन्ने अब कोही छैन । रुपन्देही र त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याएकाले गुरुङको उम्मेदवारी खारेजी नभएको भए पनि पौडेलले नै सहजै निर्वाचन जित्ने एमाले नेताहरु बताउँछन् ।

जिल्लामा ठूला योजना क्षेत्रमा पार्न सफल पौडेलले सबैलाई समेट्न सक्ने खुबी राख्छन् । तर, धेरै कारण आगामी मंसिरमा हुने निर्वाचन उनी अनुकुल नहुने सत्ताघटक दलहरुको दावी थियो । बालुटार जग्गा प्रकरण, प्रदेश राजधानी दाङ लैजान भूमिका खेलेको र पदसँग राजधानी साटेको, पार्टी विभाजन, झुटा आश्वासन बाँडेको उनीमाथि आरोप थियो । बुटवल उपमहानगरमा २४ वर्षपछि नेपाली कांग्रेसले जित्नुको मुख्य कारण नै बुटवलबाट प्रदेश राजधानी सर्नु भएको रहेको एमालेले यसअघि निष्कर्ष निकालेको थियो ।

यही मौकामा गठबन्धनले आगामी निर्वाचनमा जित निकाल्ने बताएको थिया भने आफ्नो क्षेत्रमा सबैलाई समेट्न सक्ने भएकाले अन्य पार्टीको मत चोरेर भए पनि लगातार चौथो जित निकाल्ने दाऊमा पौडेल थिए । तर, उनलाई अब त्यति संघर्ष गर्नै नपर्ने भएको छ । व्यक्तिगत लेनदेनको मुद्दालाई दिएर उम्मेदवारी खारेजी गरिएको भन्दै गुरुङ भने सर्वोच्च अदालत जाने भएका छन् । यसका लागि उनी काठमाडौं गइसकेको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव सरिता श्रीसले निर्वाचन आयोगमा उजुरी नै नपर्दा पनि निर्वाचन अधिकृत उदयवीर नेपालीले पौडेलको स्वार्थमा परेर उम्मेदवारी खारेज गरिएको बताइन् । व्यक्तिगत कारोबारलाई देखाएर उम्मेदवारी राखेज गरिन दुःखद् भएको बताउँदै आफूहरु सर्वोच्च जाने उनले बताइन् ।

गठबन्धनको मुख्यघटक दल नेपाली काँग्रेसले भने नेताहरुले समयमै ध्यान नदिँदा निर्वाचन क्षेत्र नै खाली भएको बताएको छ । एकीकृत समाजवादीका नेताहरुले भने विष्णु पौडेलको डिजाइनमा योजनाबद्ध रुपमा गुरुङमाथि प्रहार हुँदै आएको आरोप लगाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलको सहायक ठेकेदार भएर काम गर्दा गुरुङको कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिकाको करोडौं रुपैयाँ डुवेको थियो । विमानस्थल निर्माणका क्रममा स्थानीय सप्लार्यको रुपमा काम गरेका गुरुङको टोलीलाई पौडेलकै जोडबलमा त्यहाँबाट निकालिएको आरोप छ । त्यसपछि गुरुङसहितका लगानीकर्ताहरुको करोडौं रुपैयाँ ठेकेदारले नदिँदा उनी आर्थिक रुपमा पीडित भएको बताइन्छ ।

अहिले पनि विमानस्थलको ठेकेदारसँग गुरुङको कम्पनीले २० करोड बढी रुपैयाँ लिन बाँकी छ । विमानस्थलमा काम गरेको पैसा नपाएर डुवेपछि गुरुङ संकटमा पर्दै आएका थिए । अदालतले बैंकिङ कसुरमा गुरुङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरुङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरुङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका छन् ।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रुपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो । गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरुविरुद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरुमाथि जरिवाना गर्ने फैसला गरेको थियो । गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रुपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो ।

गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरुविरूद्ध उजुरी परेको थियो ।

रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १–४ नम्बर वडाहरु र तिलोत्तमा नगरपालिकाका १–६ नम्बर वडा पर्छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो पार्टी बनेको छ । उक्त निर्वाचनमा काँग्रेसले ३४ हजार ९५९, एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादीले ३ हजार १८८, नेकपा एसले १ हजार ३८२ र जसपाले १८३ मत पाएका थिए । यो मतका आधारमा यहाँ गठबन्धन बलियो छ ।