चुनाव चर्चाः नवलपरासीका दुई क्षेत्रमा गठबन्धन कि एमाले ?



भैरहवा– जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीका कारण जिल्ला सधै चर्चामा रहन्छ । यसपटक नयाँ दल खोलेका त्रिपाठी आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित होलान ? भन्ने प्रश्न यहाँका स्थानीयमा छ । यहाँबाट त्रिपाठीले ५ पटक निर्वाचन जितेर सांसद भइसकेका छन् । विगतदेखि वर्चस्व राख्दै आएका त्रिपाठीले यसपटक यसलाई जोगाई राख्लान् ? स्थानीयदेखि केन्द्रसम्म चर्चा सुरु भएको छ । जिल्लामा दुईवटा निर्वाचन क्षेत्र छन् ।
त्रिपाठीले नेपाल सद्भावना पार्टीबाट २०४८, २०५१, २०५६, २०६४ मा निर्वाचन जितेका थिए । २०७४ मा नवलपरासी एकबाट उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचित भएका थिए । त्यतिबेला बामगठबन्धन भएकाले पनि उनलाई निर्वाचन जित्न निकै सहज भएको थियो । ५ पटक चुनाव जितेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने काँग्रेस नेता देवकरणप्रसाद कलवारसँग पराजित भएका थिए ।
२०७४ सालमा एमालेसँग सहकार्य गरेर निर्वाचित त्रिपाठीले ३८ हजार ५९२ मत ल्याएका थिए । त्यतिबेला नेपाली काँग्रेसका देवकरणले ३३ हजार ५९१ मत पाएका थिए । गएको स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतको आधार मान्ने हो भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा काँग्रेसको मत ३० हजार ३४२ छ । यस्तै एमालेका वडाध्यक्षहरुले पाएको मत २६ हजार ७७९ छ भने राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एसको १ हजार १४१ मत छ ।
गठबन्धनसँगै प्रतिस्पर्धा गर्न कठिन हुने भएपछि त्रिपाठीले अहिले पनि अन्य पार्टीको साथ लिने निश्चित जस्तै छ । उनी यसपटक सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनी निकट नेताहरु बताउँछन् । निर्वाचन जितेपछि सधैंजसो सत्तामा पुगेका त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रमा खासै काम नगरेको आरोप पनि छ । त्रिपाठीले अहिले पनि एमालेसँगै गठबन्धन गरेर जाने सम्भावना धेरै रहेको जनता प्रगतिशील पार्टीका नवलपरासी संयोजक राधेरमण पाण्डेय बताउँछन् । यहाँ गठबन्धन भए गठबन्धन भित्रका जुन दलले टिकट पाए पनि सहज जित्ने दावी गरिएको छ । तर, एमालेसँग गठबन्धन भए त्रिपाठी निर्वाचित हुने निश्चित रहेको पाण्डेयले दावी गरे ।
हृदयेश त्रिपाठीसँगै गठबन्धनबाट यो नेता नै भिड्छन् भन्ने ठ्याक्कै निश्चित भएको छैन । कतिपयले काँग्रेस नेता एवं उद्योगी विनोद चौधरी उनीसँग भिड्ने बताउँदै आएका छन् । लुम्बिनी प्रदेशका उद्योग, बाािणज्य तथा आपूर्तिमन्त्री अजयबहादुर शाहीले पनि त्रिपाठीसँग निर्वाचन लड्ने मनसाय बनाएका छन् । शाहीले आफू यसपटक संघीय निर्वाचन लड्ने तयारी गरिरहेको बताए । २०७४ मा प्रदेशमा स्वतन्त्र निर्वाचित उनले यसपटक स्वतन्त्र लड्ने की कुनै दलमा प्रवेश गरेर लड्ने भन्ने एकीन नभएको बताए । ‘म सम्भवतः संघीय निर्वाचन लड्छु, केही समयमै सबै जानकारी दिनेछु’, उनले भने ।
नेपाली काँग्रेसमा यस अघि त्रिपाठीसँगै पराजित भएका नेता देवकरण प्रसाद कलवार र नेपाली काँग्रेस प्रदेश महामन्त्री विक्रम खनाल उठ्ने सम्भावना पनि रहेको कार्यकर्ताहरुबीच चर्चा छ । यद्यपि यहाँ उद्योगी विनोद चोधरीको नाम पनि उम्मेदवारका लागि पार्टीले सिफारिस गरेको छ । त्रिपाठीले अहिले अन्य पार्टीसँग हकार्य गरे पनि चुवान चिन्ह भने आफ्नै पार्टीको कोदालो वोकेको किसान चिन्ह लिएर मैदान जाने अध्यक्ष पाण्डेयले जनाए ।
सत्तामा रहेका गठबन्धन दलबीच जितेका ठाउँ नछाड्ने र हारेकालाई छलफल गर्ने एक प्रकारको सहमति भएको बताइन्छ । त्रिपाठीको ठाउँमा काँग्रेसका विनोद चौधरीसँगै तीन जनाको दावी छ । तर ठ्याक्कै यही नेता उठ्छन् भन्ने अझै निश्चित छैन । दुई निर्वाचन क्षेत्र रहेका जिल्लामा क्षेत्र नम्बर २ मा भने अहिलेका संघीय सांसद काँग्रेसका देवेन्द्रराज कँडेल उठ्ने निश्चित जस्तै छ । यहाँबाट उनको नाम एकल सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ मा यस अघि नेपाली काँग्रेसले हारेको ठाउँ भएकाले गठबन्धन भित्र कसले टिकट पाउँछ भन्नेमै दलहरुबीच हुने सहमतिले काम गर्ने नेताहरु बताउँछन् । क्षेत्र नम्बर एकमा खास गरी ठुला दल नेपाली काँग्रेस, एमाले र त्रिपाठीको पार्टीको प्रभाव छ । त्रिपाठीले एमालेसँग गठबन्धन गरेनन् भने हालका प्रदेश सभा सदस्य तथा एमाले जिल्ला अध्यक्ष दीपेन्द्रकुमार अधिकारी उठ्ने सम्भावना बलियो रहेको एमाले नेताहरु बताउँछन् । यहाँ उद्योगी विनोद चौधरी, नेता देवकरणप्रसाद कलवार र नेपाली काँग्रेस प्रदेश महामन्त्री विक्रम खनाल उठ्ने सम्भावना उत्तिकै छ ।
नवलपरासीमा २ भने कँडेल उठ्ने पक्कापक्की जस्तै भएको नेताहरुको दावी छ । २०७४ सालमा क्षेत्र नम्बर २ मा काँग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भएका थिए । उनले नेकपा माओवादी केन्द्रका घनश्याम यादव ‘अहिर’ लाई पराजित गरेका हुन् । अहिले पनि काग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री कँडेल दोहोरिएर उम्मेदवार बन्ने निश्चित जस्तै भएको नवलपरासी २ (ख) प्रदेश सभा सदस्य बैजनाथ कलवारले जानकारी दिए ।
‘यहाँको निर्विकल्प उम्मेदवार नै कँडेलजी हुनुहुन्छ’, उनले भने, ‘यहाँ अरु उठेर जित्न पनि ग्राहे छ ।’ कँडेल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता मानिन्छन् । त्यसैले पनि उनले नै टिकट पाउने निश्चित जस्तै छ । २०७४ मा कँडेलले ३४ हजार १३० मत ल्याएर विजयी हुँदा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका घनश्याम यादवले जम्मा २३ हजार ८९८ मत ल्याएका थिए ।
यादव माओवादी केन्द्रबाट अहिले पनि दाबेदार छन् । तर, गठबन्धन भए यो क्षेत्र नेपाली काँग्रेसको भागमा पर्ने बताइन्छ । यादवको दाबी भने फितलो भएको दावी गरिएको छ । यहाँ एमालेबाट बजैनाथ चौधरीलाई अगाडि सार्ने तयारी छ । बजैनाथ एमाले लुम्बिनी प्रदेशको सहइन्चार्ज हुन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका चौधरी २०७४ मा क्षेत्र नम्बर २ (क) बाट जितेका थिए ।
क्षेत्र नम्बर २ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका वडाध्यक्षहरुले पाएको मत २५ हजार ६८६ छ । एमालेकाले २३ हजार ३४२, माओवादीकाले ९ हजार १५१, राप्रपाकाले ८ हजार ८७८, जसपाकाले ३११, लोसपाकाले ४५८० मत पाएका छन् । गठबन्धन हुँदा एमालेलाई गाह्रो पर्ने निश्चित छ । यहाँ गठबन्धन ढुक्क छ भने एमालेमा भय छ ।








प्रतिकृया दिनुहोस्