चुनाव चर्चाः रूपन्देही–३ मा प्रभावशाली नेताबीच भिडन्त, स्वतन्त्रको अवस्था कस्तो रहला ?



भैरहवा– यसपटकको निर्वाचनमा रुपन्देहीमा सबैभन्दा रोचक भिडन्त क्षेत्र नम्बर ३ मा हुने देखिन्छ । काँग्रेस, एमाले र राप्रपाका प्रभावशाली नेताहरु चुनावी मैदानमा उत्रिने भए पछि यहाँ रोचक भिडन्त हुने भएको हो । काँग्रेस केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र राप्रपाका बरिष्ठ नेता दीपक बोहरा यही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् ।
खाँण बहालवाला गृहमन्त्री हुन् भने भुसाल र बोहरा पूर्वमन्त्री हुन् । खाँण र भुसाल अहिले पनि प्रतिनिधि सभा सदस्य छन् । खाँण २०७४ मा समानुपातिक सांसद हुँदा भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रत्यक्ष निर्वाचन जितेका थिए । खाँण रुपन्देही क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवार सिफारिस भएका छन् । भुसाल र बाहरा क्षेत्र नम्बर १ र ३ बाट उम्मेदवार सिफारिस भएका छन् ।
निर्वाचन लड्ने तयारी स्वरुप पछिल्लो समय गृहमन्त्री खाँणले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई बढवा दिइरहेका छन् । उनी उद्घाटन, शिलान्यास र कार्यकर्ता भेटघाटमा जिल्ला आएका बेला व्यस्त हुने गर्छन् । उनका अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित छन् । यी तीन प्रभावशाली नेताहरुमध्ये पछिल्लो समय निर्वाचन क्षेत्रमा सबैभन्दा बढी दौडधुप गर्नेमा खाँण अग्रस्थानमा पर्छन् । उनले भैरहवाका उद्योगी–व्यवसायी र मोतिपुर औद्योगिक क्षेत्रका स्थानीयसँग पनि छलफल गरिसकेका छन् । काँग्रेसका एक जिल्ला नेता भन्छन्, ‘खाँणजी यसपटक प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्नुहुन्छ र भारी मतले जित्नुहुन्छ । उहाँले क्षेत्र विकासमा धेरै योगदान दिनुभएको छ ।’
बौद्धिक र अध्ययनशील नेताको छवि बनाएका भुसाल पनि आन्तरिक तयारीमा जुटेका छन् । पछिल्लो समय गृहजिल्ला खासै नआएका भुसालले आफू निकटका नेता तथा कार्यकर्ता परिचालन गरेर भित्रभित्रै चुनाव प्रचारप्रसार गरिरहेका छन् । यसो त उनीमाथि निर्वाचन क्षेत्रमा खासै ध्यान नदिएको आरोप छ । तर, उनले नीति निर्माण तहमा भूमिका खेल्ने भएकाले व्यवस्तता बढी भएको बताउँदै आएका छन् । बोहराले एमालेसँग गठबन्धन हुन्छ की भन्ने दाउ हेरेर बसेका छन् । कतिपयले एमालेसँग गठबन्धन भए बोहरा क्षेत्र नम्बर ३ बाट खाँणसँग निर्वाचन लड्ने र नभए क्षेत्र नम्बर एकमा जाने चर्चा पनि गरिरहेका छन् । तुलनात्मक रुपमा निर्वाचन क्षेत्रमा खाँण र भुसाल भन्दा बोहरा कमजोर मानिन्छन् ।
स्वच्छ छवि, बौद्धिकता, पदका लागि मरिहत्ते नगर्ने, मन्त्री हुँदा निर्वाचन क्षेत्रमा गरेको विकास, स्थानीय स्तरमा भिजेकाले र पार्टी संगठन बलियो हुँदा भुसालले निर्वाचन जित्ने उनी निकट एमाले नेताहरुको दावी छ । तर, उनलाई त्यति सहज नहुने कतिपय एमाले नेताहरु नै बताउँछन् । खाँण बहालवाला गृहमन्त्री हुनु, पार्टी संगठन बलियो, स्थानीय निर्वाचनमा क्षेत्र नम्बर तीनमा पर्ने सबै पालिका प्रमुख तथा अध्यक्ष लगायतमा जित निकाल्नु, शालिनता, गठबन्धन, मतदातासँगको सुमुधुरता र विकासप्रेमी नेता भएकाले उनले निर्वाचन जित्ने काँग्रेस नेताहरुको जिकिर छ ।
भुसाललाई राप्रपासँग गठबन्धन भए कतै टिकट बोहराले पाउने पो हुन की भन्ने चिन्ता पनि भएको कतिपयको आशंका छ । उनी पार्टी अध्यक्ष केपी ओलीको कठोर आलोचक भएकाले पनि ओलीले भुसाललाई पाखा लगाउन यस्तो रणनीति गर्न सक्ने धेरैको अनुमान छ । अर्कातर्फ तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पनि एमालेबाट टिकट पाउन सक्ने चर्चा गरिएको छ । भुसाल क्षेत्र नम्बर एकबाट निर्वाचन लड्ने पनि कतिपयले बताएका छन् । यद्यपि उनलाई यहाँबाट निर्वाचन लड्न नदिन एमाले भित्रै रोक्ने प्रयास गरिएको छ ।
क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा उम्मेदवार घोषणा गरेर उद्योगी केशवविक्रम खड्का चुनावी प्रचार प्रसारमा होमिएका छन् । यस्तै, स्वतन्त्रबाटै प्रख्यात बन्जाडे चुनावै मैदानमा उत्रिएका छन् । यी दुई स्वतन्त्र उम्मेदवारले पनि राम्रै मत काट्ने देखिन्छ । खाँण र बोहरा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुँदा भुसाल भने भएनन् । क्षेत्र नम्बर ३ बाट एमालेले भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको छ ।
यहाँ जस्तोसुकै अवस्थामा खाँण र बोहरालाई टक्कर दिने नेता भुसाल भएको र उनको छविले पनि एमालेबाट भुसाल नै उम्मेदवार बन्ने दावी उनी निकटका नेताहरुको छ । खाँण र बोहरालाई टिकटको कुनै समस्या छैन । उनीहरु पार्टीबाट एक्ला दावेदार हुन् । खाँण र बोहराको विपक्षीमा क्षेत्रमा उभिने नेता पनि छैनन् । बोहराले मौका हेरिरहेका छन् भने गठबन्धनबाट आफैले नै टिकट पाउँछु भनेर ढुक्क रहेका खाँण निर्वाचन केन्द्रित कार्यक्रममा लागिसकेका छन् । भुसाल र बोहरा पनि अब निर्वाचनमा होमिने तयारीमा छन् ।
भुसाल र खाँणको घर क्षेत्र नम्बर १ मा पर्छ । भुसाल निकट एमाले नेताहरुले भुसाललाई क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न आग्रह गरिरहेका छन् । यो क्षेत्रबाट एमालेका सचिव छविलाल विश्वकर्मासँगै भुसाल पनि सिफारिसमा परेका छन् । तर, भुसाललाई यहाँबाट नभएर क्षेत्र नम्बर ३ बाट निर्वाचन लडाउन एमालेका ओली पक्षीय नेताहरु लागि परेका छन् । जसरी हुन्छ भुसाललाई निर्वाचन जित्न नदिने दाउमा उनीहरु छन् । २०७४ मा राप्रपाका नेता बोहरा र एमाले नेता भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए । यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै वियजी भएका थिए ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा काँग्रेस पहिलो र एमाले दोस्रो बनेका छन् । काँग्रेसले ३४ हजार १५३ मत पाउँदा एमालेले २९ हजार ४८ पाएको थियो । यस्तै, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए । राप्रपा र एमालेबीच गठबन्धन भएमा भुसाल, बोहरा र घिमिरे जसले टिकट पाए पनि खाँणलाई चुनौती दिन सक्छन् । तर, यी दलबीच गठबन्धन भएन भने खाँण निकै बलिया मानिन्छन् ।
दावी गर्ने धेरै भए पनि अन्ततः यस क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार हुने पक्कापक्की भएका खाँण र भुसालबीच नै कडा प्रतिस्पर्धा हुने सम्भावना छ । दुबै नेता क्षेत्रलाई चाहिने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने भएकाले उनीहरुबीच सामान्य मतान्तरमा जितहार हुने आँकलन यहाँका मतदाताको छ । बोहरा पनि प्रतिस्पर्धी नै मानिन्छन् ।
पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका बोहरा निर्वाचन नलड्ने पो हुन की भन्ने चर्चा पनि क्षेत्रमा छ । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।








प्रतिकृया दिनुहोस्