November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आफन्त नै पुर्‍याउँछन् बाल सुधार गृहमा सूर्ति र चुरोट

भैरहवा– विभिन्न अपराधमा मुछिएका बालबालिकालाई कानुनले कडा सजायमा छुट दिएको छ । उनीहरुले गरेका अपराधलाई बालबिज्याई मानेको छ । कानुनले कलिला बालबालिकालाई सुधारको मौका दिने गरेको छ । त्यसैले मुलुकमा विभिन्न सहरमा यस्ता बालबालिका राख्न बाल सुधार गृह सञ्चालनमा छन् । यस्ता गृहमा आश्रित बालबालिकामा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी देखिएको छ ।

Advertisement

यसको उदाहरण हो, भैरहवास्थित बाल सुधार गृह । त्यहाँ आश्रित बालाक कतिसम्म अराजक छन् भन्ने मंगलबारको घटनाले प्रष्टयाएको छ । एकसाता अघि उक्त आश्रममा रहेका केही किशोरलाई ठाउँ सारीको पत्र आएपछि त्यहाँ आश्रित सबै बालक (कतिपय किशोर अवस्थाका छन्) उग्र बनेका थिए ।

Advertisement

६० जना बालकहरु राख्न मिल्ने गृहमा बालकहरु कोचाकोच भएको र उनीहरुले पीडा सहनु परेको खबर सार्वजनिक हुन्थे । पछिल्लोपटक आश्रित किशोरका उदण्ड व्यवहार र त्यहाँ भित्र मौलाउँदा विकृति सार्वजनिक भएका छन् । अदालतले मुद्दा टुंगो नलगाउँदा गृहमा बालक मात्रै छैनन् । उमेर भइसकेका युवा समेत छन् ।

लामो समय गृहबाट भइरहेका अश्वभाविक कृयाकलापप्रति मौन रहेका छिमेकीले अलिहे सहनु परेको आपत्तीजनक व्यवहारबारे मुख खोलेका छन् । मंगलबार गृहबाट किशोर स्थानान्तरणका क्रममा हिंस्रक घटना भएपछि अवलोकन गर्न पुगेका सिद्धार्थनगरपालिका प्रमुख इस्तियाक अहमद खानसित स्थानीयले गृह सार्नुपर्ने माग गरे ।

‘यो गृहले हामीलाई अशान्त तुल्यायो,’ गृह अगाडि जुटेका एक स्थानीयले भने, ‘गृहको अगाडिबाट छोरीचेली हिँड्न नहुने भयो ।’ उनका अनुसार सुधार गृहमा रहेका किशोरहरुले गृह सामुन्ने रहेको सडकमा हिंडिरहेका किशोरी र महिलाका तस्बीर खिच्ने, अपशब्द बोल्ने र दुव्र्यवहार गर्दै आएका छन् । गृहको छतबाट सूर्ती, चुरोट माग्ने गरेका छन् ।

‘हो–हल्ला र अपशब्दले घर बाहिर निस्किन गाह्रो हुन्छ,’ उनले भने, ‘सुधार गृह होइन, मान्छे बिगार्ने गृह बनेको छ ।’ गृहमा मंगलबारसम्म १ सय १० जना आश्रित थिए । मंगलबार सांझ १७ किशोरलाई विभिन्न सुधार गृहमा स्थानान्तरण गरिएको छ । मंगलबार प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई समेत दुव्र्यवहार गरेका छन् ।

‘गृहभित्र यिनिहरुले बोलेका शब्द सुन्न पनि गाह्रो पर्छ,’ रेग्मीले भने, ‘मैले मोवाइलमा रेकर्ड गरेर राखेको छु । तपाई सुन्न सक्नु हुन्न ।’ गृहमा किशोरहरुको बिकृतिले हद पार गरेपछि बाध्य भएर ‘अपरेशन’ गरिएको बताए । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले आश्रम सुधार गृह बन्न नसेको बताए ।

‘अब यसलाई सुधार गृह बनाउनु पर्छ,’ उनले भने, ‘हामी विशेष ध्यान दिन्छौं ।’ बालबालिकाको व्यवहारबाट आश्रमका कर्मचारी समेत दिक्क छन् । उनीहरुले सहनै नुसक्ने वातावरण बनेको बताए । सुधार गृहकी प्रमुख सुभद्रा गौतमले अभिभावकले नै खानेकुरामा सूर्ति, चुरोट लुकाएर दिने गरेको बताइन् ।

‘एक बालकका अभिभावकले चनाभित्र सूर्ति लुकाएर दिएको भेट्यौं,’ उनले भनिन्, ‘एकपटक सूर्ति दिएर छोरा सप्रिपो हाल्छ कि भनेर दिने गरेका छन् ।’ गृहबाट रिहा भएर गएका व्यक्तिले लागू औषध पुर्याउने गरेको घटना समेत सार्वजनिक भएका थिए ।