बाइपासः अघोषित यौन अखडा



भैरहवा– स–सना होटल तथा रेष्टुरेन्ट छन् । प्रत्येक होटल तथा रेष्टुरेन्टपिच्छे कामदार भनेर राखिएका युवतीहरु धेरै छन् । होटल तथा रेष्टुरेन्टको अवस्था र कामदार भनिएका युवतीहरुको संख्या हेर्दा पत्याउनै गाह्रो हुन्छ । सामान्य रेष्टुरेन्ट, दिनमा दश–बीस जनामा मात्रै खाना–नास्ता खान आउनेमा यति धेरै कामदार ? ती होटल तथा रेष्टुरेन्टमा पुग्ने जो कोहीको मनमा उठ्ने प्रश्न हो यो ।
ती होटल तथा रेष्टुरेन्टमा झट्ट हेर्दा लाग्छ, खाना–नास्ता मात्रै पाइन्छ । युवतीले कुक र वेटरको मात्रै काम गर्छन् । तर, भित्री कथा भने फरक छ । माथि उल्लेखित शब्द चित्र हो, भैरहवाको बाइपास सडकको । रुपन्देहीको बेलहिया नाकाबाट छ–सात सय मिटर अगािड आएपछि बसन्तपुर निस्किएर भैरहवा–परासी हुलाकी सडकखण्ड जानका लागि बाइसपास सडक बनाइएको छ ।
खासगरी भारतबाट सामान ल्याएर नेपाल आएका मालबाहक सवारीले यो बाइपास सडक बढी मात्रामा प्रयोग गर्छन् । तीन किलोमिटर लामो बाइपास सडक छेउछाउमा दर्जन बढी साना होटल तथा रेष्टुरेन्ट खुलेका छन् । यस क्षेत्रमा दुईवटा डान्सबार समेत छन् । यी सबै नेपालमा सामान ल्याएर आउने भारतीय सवारी चालक–सहचालक र भारतीय अन्य नागरिक लक्षित छन् ।
बाइपासमा रहेका आधा बढी होटल तथा रेष्टुरेन्टको भित्री धन्दा भने फरक छ । होटल र रेष्टुरेन्टका नाममा यहाँ खुलेयाम अवैध यौनधन्दा हुने गरेको छ । यसबारे इलाका प्रहरी कार्यालय बेलहिया, बेलहियातर्फको बाइपास चोकमा दैनिक बस्ने ट्राफिक प्रहरी, सशस्त्र वीओपी डण्डा, सेजमा रहेको सशस्त्रको टोली सबैलाई थाहा छ । पटक–पटक–प्रहरी र ट्राफिक प्रहरीले अवैध धन्दा हुने यहाँका होटल तथा रेष्टुरेन्ट अगाडि नै बसेर सवारी चेकजाँच गर्छन् । तर, अवैध यौन धन्दा रोक्नमा भने चासो हिँदैनन् । यसले सुरक्षा निकायको पनि मिलेमतोको आशंका गरिएको छ ।
बाइपास सडकखण्ड अघोषित यौन अखडा बनेको स्थानीयको गुनासो पछि पब्लिक कुराको टीम सोमबार र मंगलबार त्यस क्षेत्रमा रहेका केही होटल तथा रेष्टुरेन्टमा पुगेको थियौं । हाम्रो टिम पुग्दा त्यहाँ स्थानीयले गरेको गुनासो सत्य सावित भएको छ । यहाँका अधिकांश होटल तथा रेष्टुरेन्टमा युवतीको मोलमलाई हुनेगर्छ । त्यस्तो काममा भारतीय नागरिक धेरै छन् । मालबाहक सवारीका चालक–सहचालक पनि ती यौन अखडामा पुग्ने गरेका छन् ।
यो खण्डमा रहेको विके रेष्टुरेन्ट, कमलेश रेष्टुरेन्ट, अर्घाखाँची रेष्टुरेन्ट एण्ड लज, न्यू सिद्धार्थ रेष्टुरेन्ट, रुचि रेष्टुरेन्ट लगायतमा अवैध यौन धन्दा हुने गरेको स्थानीयले बताएका छन् । यस्तै, यहाँ रहेको एम.आर. रेष्टुरेन्ट एण्ड डान्सबारले पनि अवैध यौन धन्दा गराउने गरेको स्थानीयको दावी छ । डान्सबारले अन्य होटल तथा रेष्टुरेन्टमा युवतीहरु पठाएर कमिसन लिने गरेको एक रेष्टुरेन्ट संचालकले जनाए । यहाँ अवैध धन्दा चलाउने केही रेष्टुरेन्टको बोर्ड समेत राखेका छैनन् ।
यौनधन्दा चलाइरहेका विके रेष्टुरेन्टका संचालकले आफ्नो नाम बताउन चाहेनन् । उनले आफ्नो रेष्टुरेन्टमा रहेका युवती कामदार रहेको दावी गरे । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले अवैध यौनधन्दाबारे आफूहरुको जानकारीमा आएको बताए । उनले भने, ‘एकदुई पटक हामी गएर निरीक्षण समेत गरेका थियौं तर त्यस्तो केही पाएनौं । फेरि त्यस ठाउँलाई निगरानीमा राख्छौं ।’
नाम बताउन नचाहेका त्यहाँका एक होटल संचालकले विदेशी मुद्रा भित्र्याउन आफूहरुले योगदान दिएको भन्दै यौनधन्दाको बचाउ गरे । उनले भने, ‘यहाँ नेपालीहरु आउँदैनन्, सबै भारतीय आउँछन्, यसबाट कमसेकम भारतीय रुपैयाँ नेपालमा भित्रिएको छ । यस्तो व्यवसायलाई प्रहरी–प्रशासन, स्थानीय सरकार, स्थानीय र पत्रकारहले सहयोग गर्नुपर्छ ।’ उनले यौनधन्दालाई निश्चित ठाउँ तोकेर बैधता दिनुपर्ने धारणा राखे । उनले बेरोजगार धेरै युवती स्वेइच्छाले आफ्नो होटलमा आएको जनाए । यहाँ प्रत्येक होटल तथा रेष्टुरेन्टमा ३ देखि ६ जनासम्म युवतीहरु राखेर यौन धन्दा गराइँदै आएको नाम नखुलाउने सर्तमा स्थानीयले आरोप लगाए ।








प्रतिकृया दिनुहोस्