November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनीका चार उप-महानगरपालिकामा कसले मार्ला बाजी ?

भैरहवा– स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुमा दौडधुप चलेको छ । यसअघि ठूला नेता जिल्ला–जिल्ला बोलाएर पार्टी प्रवेश कार्यक्रम गरेका राजनीतिक दलले पछिल्लो समय पालिका उम्मेदवार छनोटमा केन्द्रित छन् । कतिपय साना दलले घरदैलो सुरु गरिसकेका छन् ।

Advertisement

लुम्बिनीमा सत्ताघटक दलले गठबन्धन गरेर निर्वाचनमा जाने मोटामोटी सहमति गरिसकेका छन् । एमालेले राप्रपा नेपालसँग गठबन्धन गर्ने केन्द्रमा सहमति गरेको छ । लुम्बिनीका जिल्लाहरुमा एमाले र राप्रपाबीच गठबन्धनको तयारी भइरहेको जनाएका छन् ।

Advertisement

दलहरुमा उम्मेदवार छनोट गर्नेबारे हानथाप छ । आकांक्षाी धेरै हुँदा व्यस्थापनमा दलहरुलाई हम्मेहम्मे छ । यहाँ हामीले लुम्बिनी प्रदेशका १०९ वटा स्थानीय तहमध्ये चार वटा उपमहानगरपालिकामा कुन दल बलियो छ भन्नेबारे लेखाजोखा गर्ने प्रयास गरेका छौं ।

दाङको घोराही उपमहानरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । यहाँ एमाले उम्मेदवार नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी नेपाली काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

यहाँ नेकपा एकीकृत समाजवादीको पनि राम्रो उपस्थिति छ । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले घोरोहीमा आफूहरुले जित हासिल गर्ने दावी गरेको छ । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफ्नो पार्टीले यहाँ एक्लै जित्ने भए पनि गठबन्धन हुँदा एमालेलाई सहजै पराजित गरिने जनाए ।

‘विगतको मत परिणाम हेर्ने हो भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मतमात्रले पनि एमालेलाई हराउन सकिन्छ’, उनले भने, ‘अहिले घोराहीमा एमालेभन्दा एकीकृत समाजवादीको मत धेरै छ । त्यसैले यहाँ गठबन्धनका जो सुकै उम्मेदवार भए पनि जित्नु हुन्छ ।’

दाङकै तुल्सीपुर उपमहानरपालिकामा पनि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको थियो । यहाँ एमाले उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर जितेका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९५ मत ल्याएका थिए । यहाँ पनि एमाले भन्दा गठबन्धन निकै बलियो देखिन्छ । यहाँका मेयर पाण्डेले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप छ । यसले गर्दा पनि गठबन्धन झनै बलियो छ । यो उपमहानगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रले हासिल गरेको मत जोड्दा नेकपा एमालेलाई सहजै पराजित गर्न सक्ने देखिन्छ । यसमा नेकपा एकीकृतको मत जोड्दा मतान्तर धेरै फरक हुने गठबन्धनको दावी छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ४ उपमहानरपालिकामध्ये ३ वटामा नेकपा एमालेले मेयर पदमा जितेको थियो । एक उपमहानगरमा भने राप्रपाले जित हासिल गरेको थियो । एमालेले आफ्नो किल्ला मान्ने बुटवल उपमहानरपालिकामा अहिलेको सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार खेलराज पाण्डेलाई २ हजार ३९८ मतको अन्तरले हराउँदै एमालेका शिवराज सुवेदी विजयी भएका थिए ।

सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने नेपाली काँग्रेसका उम्मेदवार पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । यहाँ जनमुक्ति पार्टीले एक हजार १५१ मत ल्याएको थियो । यहाँ एमाले विभाजित भइसकेपछि ठूलो फरक छ । जनजाति मतदाता धेरै एकीकृत समाजवादीमा लागेको उक्त पार्टीको दावी छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले बुटवल उपमहानगरमा यसपटक आफ्नो पार्टीले १५ हजारभन्दा बढी मत ल्याउने दाबी गरे । सत्ता गठबन्धनबीच तालमेल हुँदा बुटवलमा एमालेलाई सहजै पराजित गर्न सकिने काँग्रेस रुपन्देही कोषाध्यक्ष हरिप्रसाद अर्याललको दावी छ । तर एमालेले भने बुटवल आफूहरुको लालकिल्ला भएकाले जतिसुकै दलबीच तालमेल भए पनि निर्वाचन जित्ने दावी गरेको छ ।

यता बाँकेको नेपालगञ्ज उपमहानरपालिकामा गत निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले १२ हजार ५१५ प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनौडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमाले उम्मेदवार समसुद्दिन सिद्दीकीले ६ हजार ९५ मत ल्याएका थिए ।

अहिले यहाँे एमाले र राप्रपाबीच गठबन्धन हुने सम्भावना भएको बताइन्छ । यदि यस्तो भएमा सत्तारुढ गठबन्धनलाई मेयरमा विजयी हासिल गर्न धौंधौं पर्ने देखिन्छ । त्यतिबेलाको काँग्रेस र माओवादीको मत जोड्दा १५ हजार ९२८ हुन्छ । यसपटक राप्रपा नेता एवं मेयर राणाले उम्मेदवारी नदिने बताइसकेका छन् । त्यसैले यहाँ कसले बाजी मार्ला भन्ने अड्कलबाजी भइरहेको छ ।

यहाँ राप्रपाको पनि राम्रो पकड छ । त्यसैले एमाले र राप्रपाबीच गठबन्धन भएको अवस्थामा यहाँ सत्तारुढ गठबन्धनलाई ठुलो चुनौती देखिन्छ । सत्तारुढ दल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच गठबन्धन हुने निश्चित छ । यद्यपि मतदाताले गठबन्धनमै मत हाल्छन् की हाल्दैनन् भन्ने हेर्न भने मत परिणाम कुर्नैपर्ला । तर, यसपल्ट एमालेले जितेका उपमहानगरमा भने सत्ता गठबन्धनले पक्कै ठूलो धक्का दिने देखिन्छ ।