November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

स्वास्थ्य परीक्षणबिनै भित्रिन्छन् भारतीय चालक

भैरहवा- भारतमा केही दिन बिताएर घर फर्केका नेपाली र लामो दुरी हुँदै नेपाल आउने भारतीय यात्रुलाई नेपाल प्रबेश गर्दा सिमानाकामा अनिबार्य कोभिड परीक्षण गरिन्छ । तर, भारतको विभिन्न स्थानबाट मालबाहक गाडीसहित आएका चालक/सहचालकलाई भने कुनै पनि परीक्षण र स्वास्थ्य चेकजाँच हुँदैन ।

Advertisement

औद्योगिक कच्चा पदार्थ र व्यापारीक सामान लिएर सुनौली-बेलहिया सिमा नाकाबाट दैनिक सरदर ८ सयको संख्यामा भारतीय चालक र सहचालक बिना स्वास्थ्य परीक्षण नेपाल प्रबेश गर्ने गर्छन् । उनीहरु काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, भैरहवा लगायतका शहरमा पुगेर फर्किन्छन् ।

Advertisement

स्वास्थ्य चेकजाँच र कोभिड परीक्षण बिना सहज रुपमा हुने उनीहरुको नेपाल आगमन र नेपालको विभिन्न स्थानसम्म हुने यात्राले कोभिड संक्रमणको जोखिम बढेकोमात्रै छैन । कोभिड संक्रमण न्युनिकरण भन्दै सिमा नाकामा अपनाइएका स्वास्थ्य साबधानीको प्रभावकारीतामाथि पनि प्रश्न चिन्ह थपिएको छ ।

कोेभिड संक्रमण न्युनिकरण तथा स्वास्थ्य परीक्षणका लागि बेलहिया नाकामा खटिएका स्वास्थ्य चिकित्सक अरुण खरेल भारतबाट मालवाहक गाडीसहित आउने चालक तथा सहचालकको कोभिड परीक्षण र अन्य चेकजाँच नहुने गरेको बताउँछन् ।

प्रहरी तथा सुरक्षाकर्मीले जुनजुन व्यक्तिलाई कोभिड परीक्षण गर्न भनेर ल्याउँछन् उनीहरुकोमात्रै परिक्षण गर्ने गरिएको उनले बताए । मालवाहक गाडीको चेकजाँच र स्वास्थ्य परीक्षण गर्ने गरिएको छैन’, खरेलले भने, ‘गाडी चालक हामीले बोलाएर आउँदैनन् । सशस्त्र प्रहरी वा नेपाल प्रहरीले जुनजुनलाई ल्याउछन् उनीहरुकै परीक्षण गर्ने हो ।’

भैरहवा भन्सार कार्यालयको तथ्याकंले सुनौली-बेलहिया नाकाबाट दैनिक साढे ३ सय देखि ४ सय वटा मालवाहक भारतीय गाडी नेपाल भित्रिने गरेको देखाउँछ । एउटा गाडीमा एक/एकजना चालक र सहचालकको दरले पनि दैनिक ८ सय संख्याको हाराहारीमा भारतीय चालक/सहचालकको नेपाल आगमन हुने गर्छ ।

उनीहरु नेपाल आएपछि पसलमा किनेमल गर्छन् । ढावा तथा होटलमा खाना, चिया नास्ता खाने भएकाले एक अर्काको सम्पर्कमा आउने गर्छन् । यसरी नेपाल आउने भारतीय अधिकाशं चालक/सहचालकले मुखमा मास्क लगाउन समेत वेवास्ता गर्ने गर्छन् ।

बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन पौडेल पनि भारतको टाढा टाढादेखि घर आएका नेपाली, बसबाट आउने यात्रु र साना गाडीबाट आउने पर्यटक तथा यात्रुको एन्टिजेन परिक्षण गर्ने गरिए पनि मालबाहक गाडी लिएर आउने चालक र सहचालकको परिक्षण नियमित रुपमा नहुने गरेको बताउँछन् । नेपाल आएका साना गाडी, बस र केही मालवाहक भारतीय गाडीका चालक गरेर दैनिक दश जनाको दरले केही दिन यता स्वास्थ्य परीक्षण गर्दा दुईतीनजना संक्रमित भेटिने गरेको उनले बताए । साना गाडी र बसका चालकलाइ संक्रमित भेटिएपछि फर्काइदिने गरिएको छ’, पौडेलले भने, यसरी दैनिक दशजनाको परीक्षण गर्दा मालवाहक गाडीका चालक भने अहिलेसम्म फेला परेका छैनन् ।’

कोभिड संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि सिमानामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका, स्वास्थ्य कार्यालय, रेडक्रस, युनिसेफ लगायतका निकायको लहरै हेल्पडेस्क र होल्डिगंसेन्टर छन् । भारतबाट नेपाल प्रबेश गर्नासाथ सुरुमैं हेल्पडेस्क कक्षमा सोधपुछ गरेर टाढाबाट आएका वा शंकास्पद यात्रुलाई सुरक्षाकर्मीले प्रयोगशालामा ल्याउँछन् ।

परीक्षणको रिपोर्ट नआएसम्म होल्डिगं सेन्टरमा राखिन्छ । रिपोर्टमा संक्रमित भेटिएका यात्रुलाई अलग्गै स्थानमा जम्मा पारेर राखिन्छ । तत्काल आफ्नै खर्चमा गाडी वा ट्याक्सी रिजर्भ गरेर जान सक्ने हैसीयता भएका यात्रुलाई बिबरण लिएर छाड्ने गरिन्छ । रिजर्भ गर्न नसक्ने यात्रुलाई रेडक्रस र युनिसेफको गाडीबाट सिमानादेखि करिव ३ किमी वर भैरहवाको बसपार्कमा रहेको आइसोलेशन सेन्टरमा ल्याएर छाड्ने गरिन्छ ।

संक्रमित यात्रुले आफै गाडी वा ट्याक्सी रिजर्भ गरेर जाने भएपनि सम्पुर्ण बिबरण लिएर सम्बन्धित जिल्लाको पालिका र प्रहरीमा खबर गरि संक्रमितको व्यवस्थापन गर्ने गरिएको प्रहरी निरिक्षक पौडेल बताउछन् । तर, आफै रिजर्भ गरेर घर जाने यात्रुको विवरण लिएर सिमानादेखि पठाउने गरेपनि गन्तब्यसम्म पुग्दा बिच बाटोमा संक्रमित र गाडीवालाले अपनाउने गतीबिधीका वारेमा भने सवै निकाय बेखबर छन् ।

रिजर्भमा गएको गाडीले बिचमा अन्य यात्रु राख्ने/नराख्ने ? संक्रमित यात्रुले होटलमा खाना चिया नास्ता खादा कस्तो खालको स्वास्थ्य सावधानी अपनाउने गर्छन् ? भन्ने बिषय महत्वपूर्ण छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक ऋषिराम तिवारीले संक्रमित यात्रुलाई गन्तब्यमा पुर्याउँदासम्म अपनाउनु पर्ने स्वास्थ्यमापदण्डको पालनाका वारेमा रिजर्भमा जाने चालकलाई जिम्मेवार बनाउने गरिएको बताए । नेपाल आउने भारतीय मालवाहक गाडीका चालकको स्वास्थ्य परीक्षण गर्ने वारेमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले बेलहियासुनौली नाकाबाट ७७ रै जिल्लाका यात्रुकोे र भारतीय यात्रुकोपनि सर्वाधिक आवागमन हुने हुँदा अत्याधिक यात्रुको चापका कारण व्यवस्थापनमा समस्या हुने गरेको बताए । भारतीय मालवाहक गाडीका चालक/सहचालकको स्वास्थ्य परीक्षण गराउन थाल्दा सिमानामा गाडीको जाम हुने समस्या रहेको उनले बताए । यस वारेमा के गर्न सकिन्छ ? बैठकमा कुरा राखिने छ,’ ढकालले भने, सिमानामा जुन ढंगबाट कडाइ गर्न पर्ने हो त्यस ढंगबाट कडाइ हुन सकेको छैन ।’

चालक/सहचालकको ७२ घण्टे पीसीआर रिपोर्ट अनिबार्य चाहिने प्राबधान बनाएर पनि स्वास्थ्य सावधानी अपनाउन सकिने तर्क उनले गरे ।