November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

यसपालीको कोरोना, छैन ‘रोनाधोना’

भैरहवा– छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र फैलिन थालेपछि नेपाल सरकारले भित्रिन नदिन सीमा नाकामा कडाई थाल्यो । भारतबाट आउने सर्वसाधरणलाई कोरोना परीक्षण र कोरोनाबिरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरियो । नाकामा रहेको हेल्थ डेस्क सक्रिय तुल्याइयो । स्वास्थ्यकर्मी खटाएर एन्टिजेन परीक्षण तीब्र तुल्याइयो । तर, सीमापारी किनमेलका लागि जाने यहाँका सर्वसाधरणको धुइरो थामिएन ।

Advertisement

कोरोना संक्रमण बढ्यो । मुलुकमा कोरोनाको तेस्रो लहर चल्यो । सरकारले रोकथाम र नियन्त्रणका लागि विभिन्न मापदण्ड जारी गर्यो । विद्यालय बन्द गरियो । सार्वजनिक स्थलमा भीड रोक्न स्वास्थ्य मापदण्ड जारी गरिए । जिल्ला जिल्लामा प्रशासन कार्यालय मार्फत् निषेध आदेश जारी गरिए । स्वास्थ्यसंस्थामा सतर्कता अपनाइयो । तेस्रो लहर भन्ने वित्तिकै झस्किएका सर्वसाधरणले सावधानको पाटो भुले । उनीहरु नियमित कामकाजमा सक्रिय देखियो । यसक्रममा स्वास्थ्य मापदण्डको खिल्ली उडाइयो । सरकारले जारी गरेका आदेश जनताका सामु फितलो सावित भए । कार्यान्वयन गराउने निकाय मौन देखिए ।

Advertisement

पहिले कोरोनाको नाम सुन्ने वित्तिकै छिछि र दुरदुरको वातावरण थियो । संक्रमण भएका व्यक्तिलाई माया भन्दा हेला गरेको देखिएको थियो । पहिलो लहरका बेला संक्रमितप्रति दुव्र्यवहारका घटना भएका थिए । दोस्रो लहरमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर पुग्यो । संक्रमण स्वास्थ्यकर्मीको निगरानीमा सिमित भएन । परिवार नै संक्रमित हुने र आफैले रेखदेख गर्नुपर्ने अवस्था सृजना भयो । आफन्तको ज्यान जोगाउन नागरिक क्रियाशील हुनुपरेपछि संक्रमणप्रतिको भय र त्रासमा कमी आयो । जसले गर्दा सर्वसाधरणको मनोबल बढ्यो ।

त्यस्तो बेहाल अवस्थाकाबीच कोरोनाबिरुद्धको खोप प्राप्त हुन थाल्यो । खोप लगाउन ठेलमठेल भयो । जसोतसो खोप लगाउनेको संख्या बृद्धि भयो । सहरदेखि ग्रामीण क्षेत्रसम्म खोपमा पहुँच बृद्धि हुँदै गयो । बिस्तारै खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपछि अवस्था जटिल हुन छाड्यो । जसले गर्दा केही महिना अघिसम्म भरिभराउ अस्पतालका बेड खाली हुन थाले ।

मृत्यु दरमा कमी आयो । बिस्तारै कोरोना छैन कि भन्ने माहोल बन्दै गयो । सरकारी, नीजि कार्यालय, संघसंस्था, बजार, व्यापार, कल कारखाना र विद्यालय खुले । सार्वजनिक जीवन सहज बन्दै गयो । फेरि समाजमा रमाइलो माहोल बन्यो । राजनीतिक घटनाक्रमले तीब्रता पाए ।

यससँगैं सुरु भएको कोरोनाको तेस्रो लहर पहिले जस्तो डरमर्दो बनेन । सर्वसाधरणबीच ‘रोनाधोना’ र डरत्रासको वातावरण छैन । स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्ने धेरै छन् । जसले गर्दा संक्रमण र कोरोनाका लक्षण भएका बिरामी घरघरै छन् । यसपाली एक महिना शीतलहर चल्यो । जसले गर्दा रुघाखोकीका बिरामी बढे । कोरोना र रुखाखोकीका लक्षण मेल खाने भएकाले पनि सर्वसाधरणले कोरोना परीक्षणलाई बेवास्ता गरेको पाइयो ।

स्वास्थ्यमा जटिल समस्या नदेखिएकाले कोरोनाका बेला आराम गरे निको भइहाल्छ भन्ने मान्यता बिकास भएको छ । लुम्बिनी प्रदेशका कोरोना अस्पतालमा अहिले गम्भीर बिरामीको संख्या न्यून छ । अस्पतालमा बिरामीको घँुइचो देखिन्न । स्वास्थ्यकर्मीलाई धपडी छैन ।

बाँकेस्थित भेरी अस्पतालका कन्सल्टेन्टफिजिसियन डा. राजन पाण्डेले सर्वसाधरणमा कोरोना भाइरसको त्रास कम हुनु स्वाभाविकै भएको बताए । कोरोनासँग भाग्न नमिल्ने, लागि हाले जुध्ने शक्ति विकास गरेरै मानिस अघि बढिरहेको उनको भनाई छ । ‘विश्वभरि नै यो फैलिएकाले एउटा समुदायवा देशमा रोक्छु भनेर सम्भव छैन,’ उनले भने, ‘लागेमा निकास के त भन्ने जानकारी लिई जीवन यापनका लागि मानिस अघि बढिरहेको अवस्था हो ।’

यसअघि कतिका आफन्त गुमे, कति आफैं कोभिडविरुद्ध लडेर जितेका उदाहरण छन्, त्यसैले पनि अहिलेको भेरियन्टका विषयमा नतिजा देख्दा मानिस नआत्तिएको पाण्डेले जनाए । उनकाअनुसार कोरोनाबाट बच्न अपनाइएका उपायले समेत काम नगरे संक्रमित हुने र निको हुने नै बेस रहेछ भन्ने मानसिकता बनाई चलायमान प्राणी मानिसले सहजतापूर्वक यसलाई लिनथालेको उनको भनाइ छ । मानिस अहिलेको भाइरस निको हुन्छ भन्नेमा ढुक्क भएको उनले बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले खोपले मनोबल बढ्न र मानिस विश्वस्त हुनुले कोरोनात्रास कम भएको बताए । भाइरस सम्बन्धी हरेक चेतना मानिसमा भएकैले पनि अप्ठ्यारो मानेर चिन्तित हुने अवस्था अन्त्य भएको उनले बताए । ‘बिस्तारै मानिस आफैंमा ढुक्क हुने र परिहाले जुध्न सकिन्छ भन्ने उपायबारे ज्ञान राखेरै बसेका छन्,’ उनले भने, ‘सतर्कता र सावधानी नछोडे अहिलेको भेरियन्ट रेसियोमा गम्भीर अवस्था आएर समस्या परेको देखिएको छैन ।’