November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रोकिएन लापरबाही

भैरहवा- पछिल्ला दिनमा प्रशासनको आदेश उल्लंघन बढ्दो छ ।रोकावट छैन । सत्ता र पहुँचका भरमा कार्यक्रम भइरहेका छन् । तर, प्रशासन मौन छ । कोरोना महामारीको ग्राफ प्रतिदिन उकालो लागिरहेको छ । सभा, जुलुस र भीडभाड उस्तै छ । रुपन्देही प्रशासनले २८ पुस र ४ माघमा जारी गरेको आदेश कार्यान्वयन छैन ।

Advertisement

जिल्लाका होटल, सार्वजनिक स्थल, बजार र यातायातमा स्वास्थ्य मापदण्ड पालना छैन । यी स्थानमा मापदण्ड पालनाको निगरानी गरिएको छैन । कोरोना संक्रमण फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा गत माघ ७ गतेबाट कोरोनाविरुद्ध खोपकार्ड अनिवार्य गरेको छ । यसको पालना पनि कतै छैन । सर्वसाधारण मास्क समेत लगाउँदैनन् ।

Advertisement

‘कागजमा महामारी नियन्त्रणका लागि अनेक मापदण्ड उल्लेख छन,’ भैरहवाका स्थानीय हिरा प्रजापतिले भने, ‘व्यवहारमा मापदण्ड पालना छैन । अहिले सर्वसाधरणको खेलाँची हेर्दा त महामारी नै छैन जस्तो छ । नागरिकले कोरोनाको चिन्ता लिन छाडे जस्तो छ ।’ कहिले काँही हेलचेक्र्याइँ गर्दा पछुताउनु पर्ने अवस्था आउन सक्ने भन्दै लापरबाही गर्न नहुने उनले बताए ।

संक्रमण रोकथामका लागि विद्यालय बन्द गरिएको छ । सार्वजनिक स्थलमा भेला हुन कडाई गरिएको छ । यस्ता आदेशविपरीत सर्वसाधरणका गतिविधिले कोरोना रोकथाम भन्दा फैलावट हुने देखिन्छ । यस्ता आदेशको सरकारी निकायबाटै उलंग्घन भइरहेको छ । कहाँ भेला भइरहेका छन् । कुन ठाउँमा धेरै भीड छ, त्यसको निगरानी छैन ।

पहिले पहिले स्थानीय सरकार संक्रमणका लागि तात्ने गरेका थिए । यसपाली उनीहरु औपचारिकतामा सिमित छन् । लुम्बिनी प्रदेशका मन्त्री सहभागी कार्यक्रममा समेत स्वास्थ्य मापदण्ड पालना गरिएको पाइँदैन । त्यस्ता कार्यक्रममा सहभागी मन्त्रीले व्यक्तिगत दूरी त परै जावस् मास्क समेत लगाएको देखिएन । यसले सर्वसाधरणबीच नकारात्मक सन्देश दिने ती कार्यक्रमका सहभागीले बताए ।

खोपकार्ड अनिवार्य गरिएपछि ग्रामीण क्षेत्रमा खोप लगाउनेको भीड बढेको पालिकाका स्वास्थ्य शाखाले बताएका छन् । जिल्लाका विभिन्न अस्पतालमा खोप लगाउने गरिएको छ । सबैभन्दा बढी यस्ता खोप केन्द्रमा स्वास्थ्य मापदण्डको खिल्ली उडाएको देखिन्छ । सर्वसाधरणबीच खोप लगाउन जाँदा कोरोना संक्रमण हुँदैन भन्ने ‘भ्रम’ देखिन्छ । स्वास्थ्यकर्मीका अनुसार खोप केन्द्रको भीडले गर्दा धेरै स्वास्थ्यकर्मी र सर्वसाधरण संक्रमको शिकार बनेका छन् ।

जिल्लाका स्वास्थ्य चौकी, सरकारी कार्यालय, स्थानीय तह, रेस्टुराँ, बजार, बसपार्क जहाँतहीं मानिसको भीडभाड उत्तिकै छ । कोरोना संक्रमण दर बढेसँगै सरकारले गरेको स्वास्थ्यसम्बन्धी निर्देशनलाई स्थानीय प्रशासन, कोभिड व्यवस्थापन समिति र पालिका कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैन । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्ला भित्र भेला र जमघट नियन्त्रण गर्न प्रयास भइरहेको जनाए ।

चिकित्सकले कोरोना तीब्र फैलिरहेकाले यस्ता जमघट र भेलामा रोक लगाएर स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिनु पर्ने बताएका छन् । उनीहरुले अहिले जोखिम धेरै नदेखिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या बृद्धिसँगैं मृत्यु पनि बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले स्वास्थ्य मापदण्ड पालनामा कडाइँ गरिएको दाबी गरे । ‘पहिलेको तुलनामा कडाइँ गरिरहेका छौं,’ उनले भने, ‘व्यवहारमा पालना गर्ने क्रम बढेको छ । अटेर गर्नेलाई सम्झाउने र कारबाही पक्रिया पनि बढाएका छौं ।’ स्वास्थ्यको सवाल भएकाले व्यक्ति स्वयं पनि सचेत हुुनुुपर्ने उनको भनाइ छ ।