November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

नबुझिकन फेसबुकमा स्टाटस राख्दा …

भैरहवा– पछिल्लो समयमा सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । फेसबुक, म्यासेन्जर, भाइवर, ह्वाट्सएप, ट्विटर, टिकटकको प्रयोग नगर्ने मोबाइलकर्ता बिरलै होलान् । सूचनाको प्रबिधिले हाम्रो दैनिक जनजीवन र कार्य शैलीलाई सरल र सहज बनाएको छ ।

Advertisement

तर, यसको प्रयोग राम्ररी नबुझिकन गरियो भने के हुन्छ ? र, यसले के असर पार्छ ? भन्ने कुराको पछिल्लो उदाहरण बन्न पुगेको छ, भैरहवास्थित भीम अस्पताल । यतार्थता नबुझिकन एक व्यक्तिले कुनै विषय लेखेर आफ्नो फेसबुकमा राखिदिनाले अस्पतालमा निर्माण गर्न लागिएको योजना नै करिब तीन महिनासम्म रोकिन पुगेको छ । र, धेरै समस्या झेल्नु परेको बताउँछन्, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारी ।

Advertisement

भण्डारीका अनुसार, सुत्केरी हुन आउने गर्भवती र अन्य समस्या भएका महिलाको चाप बढेपछि उनीहरको सुबिधाका लागि अस्पतालमा अत्याधुनिक प्रसूति गृह निर्माण गर्ने योजना अघि बढेको थियो । करिब १४ करोड रुपैयाँमा टेण्डर भएको तीन तल्ले प्रसूती गृह निर्माण गर्नका लागि पुराना र जीर्ण दुईवटा भवन भत्काउनु पर्ने थियो ।

जीर्ण भवन भत्काएर योजनाको शिलान्यास गर्ने तयारी गरिरहेकाबेला कुनै एक अमुक व्यक्तिले आफ्नो फेसबुकमा तत्कालीन प्रधानमन्त्री भीम शम्शेरको पालामा निर्माण भएको अस्पतालका ती भवन पुरातात्विक सम्पदामा पर्ने भएकाले भत्काउन नहुने आसयको स्टाटस लेखेर पोष्ट गरिदिए । उनले पोष्ट गरेको त्यस स्टाटसलाई कतिपय अन्य व्यक्तिले पनि नबुझेर समर्थन पनि गरिदिए ।

गर्दा गर्दै यो विषय जिल्ला प्रशासन कार्यालयमा पुग्यो । जिल्ला प्रशासन कार्यालयले पनि तत्कालै ठोस निर्णयमा पुग्न सकेन । रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि विवादमा पर्नु भन्दा पुरातत्व बिभागको स्वीकृति लिनु पर्ने भन्दै राय दिए ।

‘यसका लागि पुरातत्व बिभागमा पत्राचार गर्यौ’, आफ्नो कार्यकाल सकिएर बिदाइ हुने क्रममा आयोजित एक कार्यक्रममा भण्डारीले भने, ‘अनि विभागबाट अनुगमन गर्न आउनका लागि मात्रै डेढ महिना लाग्यो ।’ पुरातत्व विभागबाट ती भवन पुरातात्विक सम्पदामा नपर्ने भएकाले भवन बनाउन पाउने स्वीकृतिसहितको पत्र आएपछि बल्ल काम अघि बढेको उनले बताए ।

‘ती प्रक्रिया पुरा गर्न तीन महिना लाग्यो’, भण्डारीले भने, ‘यदि सुरुदेखि बिना रोकावट काम गर्न पाएको भए यतिबेलासम्म भवनको काम धेरै अघि बढ्ने थियो । चाँडो सेवाग्राहीले सुबिधा पाउने थिए ।’ अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्ता पनि नयाँ प्रसूती भवन बनाउँदा पुराना ती भवन भत्काउनै पर्ने भएको र पुराना भवन कतिपय ठाउँमा भत्किसकेको बताइन् ।

ती भवन पुरातात्विक सम्पदा हो भनेर दावी गरिएपछि निर्माण कार्य अवरुद्ध भएको र पुरातत्व विभागबाट भवन पुरातात्विक संरचनामा नपर्ने भनेर पत्र आएपछि बल्ल काम अघि बढेको उनले बताइन् । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले एक सय वर्ष पुरानो शिवालय देवालय, मठ मन्दिर, प्राचिन पौवा लगायतका सार्वजनिक महत्वको स्मारक वा संरचना पुरातात्विक विषय अन्तर्गत पर्ने भनेर ऐनले निर्दिष्ट गरेको बताए । भीम अस्पताल सन् १९९० सालमा निर्माण भएको हो ।