स्वास्थ्य मापदण्ड ‘कागजमा मात्रै’



भैरहवा– २८ पुसमा जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी रोकथाम सम्बन्धी आदेश जारी गर्दै २५ जनाभन्दा बढी जम्मा हुन नपाइने र भीडभाड नगर्न भन्यो । त्यसको दुई दिन पछि जनमत पार्टी रुपन्देहीले भैरहवामा हजारौंको सहभागितामा किसान आन्दोलनको नाममा प्रदर्शन गर्यो ।
सोही दिन सिद्धार्थ जेसिजले भैरहवाको एक पार्टी प्यालेसमा सय जना बढीको सहभागितामा पदस्थापन कार्यक्रम राख्यो । उक्त कार्यक्रमको मंचमा नै २८ जनाले आसन ग्रहण गरेका थिए । जबकी प्रशासनले २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएको छ ।
५ माघमा भैरहवाकै एक होटलमा रुपन्देही क्रिकेट संघको अधिवेशन भयो । त्यहाँ पनि एक सय जना भन्दा बढीको सहभागिता थियो । कपिलवस्तुमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहषराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भए । कोरोनाको कारण लुम्बिनी प्रदेशमा धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई मन्त्री नै सहभागी भएका थिए । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंघन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।
यी केही प्रतिनिधिमूलक घटना हुन् । पछिल्ला दिनमा प्रशासनको आदेश उल्लंघन बढ्दो छ । रोकावट छैन । सत्ता र पहुँचका भरमा कार्यक्रम भइरहेका छन् । तर, प्रशासन मौन छ । कोरोना महामारीको ग्राफ प्रतिदिन उकालो लागिरहेको छ । सभा, जुलुस र भीडभाड उस्तै छ । रुपन्देही प्रशासनले २८ पुस र ४ माघमा जारी गरेको आदेश कार्यान्वयन छैन ।
जिल्लाका होटल, सार्वजनिक स्थल, बजार र यातायातमा स्वास्थ्य मापदण्ड पालना छैन । यी स्थानमा मापदण्ड पालनाको निगरानी गरिएको छैन । कोरोना संक्रमण फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा गत माघ ७ गतेबाट कोरोनाविरुद्ध खोपकार्ड अनिवार्य गरेको छ । यसको पालना पनि कतै छैन ।
‘कागजमा महामारी नियन्त्रणका लागि अनेक मापदण्ड उल्लेख छन,’ भैरहवाका स्थानीय सुुमित चौधरीले भने, ‘व्यवहारमा मापदण्ड पालना छैन । अहिले सर्वसाधरणको खेलाँची हेर्दा त महामारी नै छैन जस्तो छ । नागरिकले कोरोनाको चिन्ता लिन छाडे जस्तो छ ।’ कहिले काँही हेलचेक्र्याइँ गर्दा पछुताउनु पर्ने अवस्था आउन सक्ने भन्दै लापरबाही गर्न नहुने उनले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्वास्थ्य मापदण्ड पालनामा कडाइँ गरिएको दाबी गरे । ‘पहिलेको तुलनामा कडाइँ गरिरहेका छौं,’ उनले भने, ‘व्यवहारमा पालना गर्ने क्रम बढेको छ । अटेर गर्नेलाई सम्झाउने र कारबाही पक्रिया पनि बढाएका छौं ।’ स्वास्थ्यको सवाल भएकाले व्यक्ति स्वयं पनि सचेत हुुनुुपर्ने उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्