कोरोना रोकथाम आदेशको खिल्ली



भैरहवा– कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि संघीय सरकार र मातहत निकायले रोकथाम आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत् जारी भएका ती आदेशमा २५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ । तर, यहाँ सामान्य भेटघाटमा समेत त्यसभन्दा बढी मानिस जम्मा भएका देखिन्छन् ।
संक्रमण रोकथामका लागि विद्यालय बन्द गरिएको छ । सार्वजनिक स्थलमा भेला हुन कडाई गरिएको छ । यस्ता आदेशविपरीत सर्वसाधरणका गतिविधिले कोरोना रोकथाम भन्दा फैलावट हुने देखिन्छ । यस्ता आदेशको सरकारी निकायबाटै उलंग्घन भइरहेको छ । कहाँ भेला भइरहेका छन् । कुन ठाउँमा धेरै भीड छ, त्यसको निगरानी छैन ।
पहिले पहिले स्थानीय सरकार संक्रमणका लागि तात्ने गरेका थिए । यसपाली उनीहरु औपचारिकतामा सिमित छन् । लुम्बिनी प्रदेशका मन्त्री सहभागी कार्यक्रममा समेत स्वास्थ्य मापदण्ड पालना गरिएको पाइँदैन । त्यस्ता कार्यक्रममा सहभागी मन्त्रीले व्यक्तिगत दूरी त परै जावस् मास्क समेत लगाएको देखिएन । यसले सर्वसाधरणबीच नकारात्मक सन्देश दिने ती कार्यक्रमका सहभागीले बताए ।
बिहीबार अपरान्ह भैरहवा–लुम्बिनी खण्डअन्तर्गत लुम्बिनी गेट नजिकै तीनवटा बस रोकिए । ती बसबाट धमाधम यात्रु ओर्लिरहेका थिए । बसका कर्मचारी सहजीकरण गर्दै थिए । त्यहाँ देखिएका यात्रुले मास्क लगाएका थिएनन । बसका कर्मचारीले लापरबाही गरेको देखियो । उनीहरु यात्रुलाई तानिरहेका थिए ।
जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवलीमा दर्ताका लागि सर्वसाधरणको घुइँचो थामिएको छैन । त्यहाँ ग्रामीण क्षेत्रबाट नाम दर्ता गराउन दिनहुँ लाम लाग्ने गरेको छ । एक महिनादेखि निर्वाचन कार्यालय परिसरमा ठेलमठेल छ । शुक्रबारबाट यस्ता स्थानमा सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । सबै नागरिकले खोप नलगाइसकेको अवस्थामा यस्तो नियम कति पालना होला ? प्रश्न उठिरहेको छ । यसअघि लागू भएका सामान्य र सहज नियम पालना नभएको अवस्था खोपकार्ड देखाउनु पर्ने व्यवस्था अलपत्र पर्ने त होइन ?
खोपकार्ड अनिवार्य गरिएपछि ग्रामीण क्षेत्रमा खोप लगाउनेको भीड बढेको पालिकाका स्वास्थ्य शाखाले बताएका छन् । जिल्लाका विभिन्न अस्पतालमा खोप लगाउने गरिएको छ । सबैभन्दा बढी यस्ता खोप केन्द्रमा स्वास्थ्य मापदण्डको खिल्ली उडाएको देखिन्छ । सर्वसाधरणबीच खोप लगाउन जाँदा कोरोना संक्रमण हुँदैन भन्ने ‘भ्रम’ देखिन्छ । स्वास्थ्यकर्मीका अनुसार खोप केन्द्रको भीडले गर्दा धेरै स्वास्थ्यकर्मी र सर्वसाधरण संक्रमको शिकार बनेका छन् ।
जिल्लाका स्वास्थ्य चौकी, सरकारी कार्यालय, स्थानीय तह, रेस्टुराँ, बजार, बसपार्क जहाँतहीं मानिसको भीडभाड उत्तिकै छ । कोरोना संक्रमण दर बढेसँगै सरकारले गरेको स्वास्थ्यसम्बन्धी निर्देशनलाई स्थानीय प्रशासन, कोभिड व्यवस्थापन समिति र पालिका कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैन । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्ला भित्र भेला र जमघट नियन्त्रण गर्न प्रयास भइरहेको जनाए ।
उनले यस्ता कार्यक्रमबारे जानकारी लिने गरेको बताए । उनका अनुसार शुक्रबारबाट सार्वजनिक स्थलमा खोपकार्ड अनिवार्य गरिएकाले भीडभाडमा कमी आउने र कतै ठूलो जमघटका कार्यक्रम आयोजना गरिएको पाइए रोक लगाउने बताए । चिकित्सकले कोरोना तीब्र फैलिरहेकाले यस्ता जमघट र भेलामा रोक लगाएर स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिनु पर्ने बताएका छन् । उनीहरुले अहिले जोखिम धेरै नदेखिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या बृद्धिसँगैं मृत्यु पनि बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।








प्रतिकृया दिनुहोस्