खोपको पूरा मात्रा छैन तर खोपकार्ड अनिवार्य !



भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये अधिकांशले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेश गर्दा र सरकारी सेवा लिँदा कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । यही हप्ता रुपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिँदा कोपकार्ड देखाउनु पर्ने अनिवार्य व्यवस्था लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा भनिएको छ, ‘सार्वजिनक स्थलमा जाँदा र सेवा लिँदा कार्ड देखाउनु पर्ने छ । नभए प्रवेश पाइने छैन ।’ दाङ प्रशासनले पनि ७ गतेदेखि जिल्लाका सार्वजनिक स्थानहरुमा प्रवेश गर्न कोरोनाविरुद्ध लगाइको खोप कार्ड अनिवार्य गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईमार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय गरिएको हो । ती क्षेत्रहरुमा जाँदा खोप कार्ड साथ भएको हुनुपर्ने वा मोवाइलमा फोटो राखेको हुनु पर्नेछ ।
बाँके, बर्दिया, कपिलवस्तु लगायतका जिल्लामा पनि यो नियम लागू गरिएको छ । तर, आमनागरिक अझै खोपको पहुँचमा छैनन् । सबै नागरिकलाई पूर्ण मात्रामा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएको छ ।
‘पहिला सबै नागरिकलाई पूर्ण मात्रामा खोप दिनुपर्छ । हचुवाको भरमा खोप कार्ड अनिवार्य गरेर हुँदैन’, सिद्धार्थनगर–१२ की अस्मिता केसीले भनिन्, ‘नागरिकलाई खोप दिनु कता हो कता कार्ड अनिवार्य गर्नु सरकार र प्रशासनको नागरिकमाथि गरिने निरंकुश दवाव हो ।’
यसअघि भीडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेको छ । सोही निर्देशनअनुसार धमाधम जिल्ला प्रशासनले निर्णय गर्दा दुबै खोप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बचित हुनसक्ने देखिएको छ ।
प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा थप कडाई गर्ने निर्णय गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्नुपर्ने बताउँछन् । प्रदेशका सबै जिल्ला प्रशसनले कुनै पनि स्थानमा २५ जनाभन्दा बढी भेला भइ कार्यक्रम, मेला , महोत्सव आयोजना गर्न नपाइने नियमलाई थप कडाई गर्ने निर्णय गरेका छन् ।
तर, भीडभाड, सभाजुलुस भइरहेका छन् । रोकावट छैन । यसले महामारी थप फैलने जोखिम बढेको छ । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् ।
प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् ।
रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए । अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए ।
जिल्लाको तिलोत्तमा नगरपालिकामा एक लाख बढीले खोप लगाएका छन् । तर पूर्ण मात्रा लगाउन अझै बाँकी छन् । तथ्यांक अनुसार प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ छ ।
प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छाडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् । दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै छन् ।
पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको गाउँपालिकाले जनाएको छ । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने जनाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन् । जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले जनाए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए ।
८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप छैन । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँचदेखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको जनाइएको छ ।
कतै खोप लगाउने चाहना हुँदा पनि आम नागरिकले पाएका छैनन् भने कतै नागरिकमै इच्छा देखिँदैन । यस्तो अवस्थामा सरकारले नागरिकलाई सचेतनाका कार्यक्रम पनि गर्नुपर्छ । तर, त्यसो हुन सकेको छैन । बालबालिका खोपबाट बञ्चित छन् । यदि उनीहरु सार्वजनिक स्थल जानुपर्यो वा सरकारी सेवा लिन पर्यो भने के गर्ने भन्नेबारे प्रशासनले केही जनाएको छैन । हचुवाको भरमा खोपकार्ड अनिवार्य गरिँदा सरकार र प्रशासनको चौतर्फी आलो चना भएको छ ।








प्रतिकृया दिनुहोस्