November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सुनसान मनाइँदै माघी

भैरहवा– थारु समुदायले तराईका जिल्लामा उल्लासपूर्वक बनाउने माघी पर्व यस वर्ष पनि कोरोनाको चपेटामा परेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट मुलुकमा भित्रिएसँगै सरकारले मेला र महोत्सवमा रोक लगाएको छ ।

Advertisement

जिल्ला प्रशासनले २५ जना भन्दा बढी व्यक्ति भेला हुन रोकेका छन् । यसले लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा माघी पर्व लक्षित कार्यक्रम स्थगित भएका छन् । माघीमा विभिन्न धार्मिक पिठ र मन्दिरमा लाग्ने मेला र पूजा रोकिएका छन् ।

Advertisement

प्रशासनको आदेशपछि बर्दियाको ऐतिहांसिक ठाकुरबाबा मन्दिरमा परम्परादेखि लाग्दै आएको माघी मेला रोकिएको छ । त्यहाँ स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने व्यवस्था गरिएको छ । माघी मेलाका लागि स्थल सरसफाई गरेर स्टल विक्री गरिसकिएको थियो । अहिले सबै कार्यक्रम स्थगित गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

पर्वको अवसरमा विभिन्न संघसंस्थाले माघी मेला र जमघट आयोजना गरेका थिए । ती सबै रमाइला मेला स्थगित भएका छन् । पश्चिम तराईका दाङ, बाँके र बर्दियामा थारु समुदायको बाक्लो बसोबास छ । त्यहाँ बस्तीबस्तीमा उल्लासपूर्वक पर्व मनाउने गरिएको छ । ती बस्ती अहिले सुनसान छन् ।

स्थानीयले घरभित्रै पर्व मनाइरहेका छन् । माघी थारु समुदायको नयाँ वर्ष हो । माघीकै दिनबाट नयाँ योजना तय गरिन्छ । अगुवा छनौट र गाउँको योजना तयार गरिन्छ । बिगत तीन वर्षदेखि कोरोना महामारीका कारण समुदायले पर्व मनाउन पाएका छैनन् ।

स्वास्थ्य मापदण्ड अपनाएर सीमित व्यक्तिबीच मनाउनु पर्ने बाध्यता छ । रुपन्देहीको तिलोत्तमामा तय गरिएको माघी महोत्सव रद्ध भएको छ । आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सव भव्य बनाउने घोषणा गरेका थिए । कपिलवस्तुमा तय यस्ता कार्यक्रम स्थगित गरिएका छन् ।

माघी पर्व केन्द्रित दाङमा गत मंगलबार र बुधबार घोराहीमा माघी सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । कोरोना संक्रमण बढ्न थालेपछि अन्तमा कार्यक्रम स्थगित भयो । गाउँगाउँमा पनि माघीसँग सम्बन्धित बिभिन्न कार्यक्रमहरु तय भएका थिए तर कोरोना संक्रमणका कारण स्थगित भैरहेको थारु अगुवा सन्तराम चौधरीले बताए ।

कोरोनाका कारण यसपालीको माघीले रौनक ल्याउन नसकेको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘सबै तयारी भैसकेको बेला अन्तिम समयमा माघी महोत्सव स्थगित गर्नुपर्यो,’ उनले भने, ‘बिभिन्न कला र संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेका कलाकार निराश भएका छन् ।’ यसपालीको माघीले थारु गाउँहरुमा उत्साह ल्याउन नसकेको उनले बताए । यसपाली पहिले जस्तो माघी मेलाहरु पनि नहुने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले मेला महोत्सवहरु सञ्चालन गर्न नदिने निर्णय गरेपछि सबै कार्यक्रमहरु स्थगित भएका छन् । माघीको अवसरमा घोराहीको बाह्रकुने र लमहीको रिहारमा ठूला मेला लाग्ने गर्थे । बाह्रकुनेमा दाङका साथै सल्यान, रोल्पा लगायतका जिल्लाबाट भक्तजनहरु आउने गर्थे ।

रिहारमा भारतबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्थे । कोरोनाको संक्रमण फैलने अवस्था आएपछि माघी मेलाहरुमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । थारु समुदायका लागि माघी सबैभन्दा ठूलो पर्व हो । थारु समुदायमा यसलाई नयाँ वर्षका रुपमा मनाउने चलन छ । माघी पाँच दिनसम्म चल्छ ।

पुसका अन्तिम तीन दिन र माघका दुई दिन धुमधामसँग माघी मनाइन्छ तर यसपटक त्यस्तो कुनै तयारी छैन । पुसका अन्तिम तीन दिनमध्ये पहिलो दिन माछा मार्ने, दोस्रो दिन खसी, सुंगुर, कुखुरा मार्ने र तेस्रो दिन तरुल, गन्जी खन्ने गरिन्छ । माघ १ अर्थात माघीको दिन नुहाउने, अग्रजसँग टिकाटाला गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ ।

अन्तमा नाचेको पैंसाबाट भोज गरेर समापन गर्ने चलन छ । माघीको दिन विहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराऊ छुने र त्यसपछि गाउँका मान्यजनको घरमा गएर टिकाटाला लगाउने पुरानो चलन छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भीडभाड गर्न रोक लगाइएपछि माघी मेला स्वतः स्थगित हुने बताए ।