‘मोस्ट वान्टेड’ खाँनले पाए ५ मुद्दामा सफाई



भैरहवा– ‘मोस्ट वान्टेड’ नसिम अहमद खाँन (बादशाह)ले अदालतबाट सफाई पाएपछि हलचल मच्चिएको छ । उनीबिरुद्धका मुद्दामा गत आइतबार र सोमबार अदालतमा अन्तिम बहस भएको थियो । अदालतले उनीमाथिका पाँचवटा मुद्दा किनारा लगाइदिएपछि जिल्लाभर चर्चाको विषय बनेको छ ।
कपिलवस्तुका खाँनविरुद्ध कर्तव्य ज्यानसम्बन्धि ६ वटा मुद्दा चलिरहेका थिए । पाँचवटा मुद्दामा पनि उनले सफाई पाएका छन् । ०६४ माघपछि ९–१० वर्ष यता जिल्लामा भएका विभिन्न ६ वटा हत्याका घटनामा संलग्न भएको आरोप खाँनमाथि छ । जिल्ला न्यायाधीश नवाहरप्रसाद सिंहको आइतबार र सोमबार बसेको इजलाशले उनीविरुद्धका मुद्दामा फैसला सुनाएको थियो ।
जिल्ला अदालत स्रोतका अनुसार खानले ०६४ चैत्र ९ गते भएको साविक हथिहवा–३, का शिवपुजन कुर्मीको हत्या मुद्दामा उनले सफाई पाएका छन् । त्यस्तै, ०६४ फागुन ६ गते साविक मोतीपुर गाविस–१ का भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको मुद्दामा पनि उनले सफाई पाएका छन् ।
खाँनबिरुद्ध शान्ति परियारले जाहेरी दिएकी थिइन । उक्त मुद्दाको ०७५ असार २५ गते मुल्तबी जगाई अदालती प्रक्रिया सुरु गरिएको थियो । ०६७ बैशाख १३ गते साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या मुद्दामासमेत उनले सफाई पाएका छन् । त्यस्तै, ०६५ कार्तिक ७ गते पिपरा गाविसका तत्कालीन सचिब राममिलनप्रसाद गुप्ताको हत्या गरिएको मुद्दामा पनि अदालतले खाँनलाई सफाई दिइएको छ ।
पारसनाथ गुप्ताले जाहेरी दिएको मुद्दा ०७८ साउन २४ गते मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको भए पनि उनले सफाई पाएका हुन् । त्यस्तै सरिता बिकले जाहेरी दिएको कर्तब्य ज्यान मुद्दामा पनि उनले सफाई पाएका छन् । ०७८ भाद्र २५ गते मुल्तबी जगाएर मुद्दा अघि बढाइएको थियो । पारसनाथ कोहाँर जाहेरवाला रहेको कर्तब्य ज्यान मुद्दामा भने खाँनलाई कसुरदार ठहर गरिएको छ ।
एक महिना भित्र कसुरदार ठहर गर्ने न्यायाधीशले सजाय सुनाउने छन् । कानुन व्यावसायीका अनुसार कसुर अनुसार मुलुकी ऐनको १६ नम्बरमा १० देखि १५ वर्ष कैदको हुने व्यवस्था छ । खाँनको कपिलवस्तुको सीमा क्षेत्रमा दबदबा थियो । तत्कालीन माओवादीका नेता शिवपुजन चौधरीको हत्या अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ गते अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटेका थिए ।
पुनरावेदन अदालतले थुनामै राख्न आदेश दिएको थियो । फरार पाण्डेले खाँनसँगै जोडिएको मुद्दामा सफाई पाएका छन् । पाण्डे काँग्रेस कार्यकता हुन् । उनकी श्रीमती सुधादेवी पाण्डे काँग्रेसबाट शुद्धोदन गाउँपालिका उपाध्यक्ष छन् । थुनामा रहेका हथिहवामा धर्मेन्द्रसिंह क्षेत्रीले तीनवटा कर्तब्य ज्यान मुद्दामा सफाई पाएका छन् । सिंह कारागारमा छन् । ‘मोस्ट वान्टेड’ खाँनलाई ०७६ असार अन्तिममा काठमाडौंबाट पक्राउ गरिएको थियो । यी मुद्दाको प्रक्रिया नपुर्याई फैसला हुँदा अस्वभाविक देखिएको अधिवक्ता बृजेन्द्र चौधरीले जनाए ।








प्रतिकृया दिनुहोस्