सिद्धबाबा सुरूङबाट गाडी ओहोरदोहोर गर्ने समय तीन महिना धकेलियो



भैरहवा– जुन उत्साहसाथ आयोजना शिलान्यास गरिन्छ, त्यही उमंगसाथ त्यसको निर्माण पूरा नहुँदा नागरिकमा निराशा छाउने गरेको छ । रुपन्देहीमा रहेका धेरै जसो ठूला र महत्वकांक्षी आयोजनाको यस्तै हालत छ । लामो समय गुजारेर निर्माण सकिएका आयोजना सञ्चालनको टुंगो नलाग्दा लगानी खेर जाने अवस्था छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको काम पनि समयमा सकिएको छैन । झन मुलुकले भोग्नु परेका विभिन्न विपद्का कारण यसको निर्माणमा ढिलाई भइरहेको छ । त्यसले गर्दा सुरुङमार्ग भएर ओहोरदोहोर अनिश्चित बन्दैं गएको छ । असोज अन्तिमसम्म सुरुङ मार्गबाट गाडी सञ्चालन गर्ने तयारी थियो । भोटेकोशी र कालीगण्डकीको बाढीका कारण उपकरण ल्याउन ढिलो भएपछि सुरूङ मार्गबाट गाडीको ओहोरदोहोर तीन महिना पछाडि धकेलिएको छ ।
सुरुङमार्ग आयोजनाले दसैं अगाडि नै निर्माण सकेर गाडी सञ्चालन हुने जनाएको थियो । त्यही अनुसार तयारीपनि गरिएको थियो । आयोजनाका अनुसार सुरुङको भौतिक तर्पm ७० दशमलब २६ प्रतिशत काम सकिएको छ । वित्तीयतर्पm ६३ दशमलब ५५ प्रतिशत प्रगति छ । टनेल भित्रका अन्य संरचनागत काम सकेर कन्ट्रोल रुमसँगको कनेन्सन गराउने काम पनि सकिएको छ । तर, सुरुङ मार्ग संचालनका लागि आवश्यक इलेक्ट्रोनिक (लाईटिङ), भेन्टिलेसन, साउण्ड कन्ट्रोल सिस्टम र इमजेन्सी टेलिफोनको लाइनिङको काम बाँकी छ ।
सुरक्षासँग सम्बिन्धित केही काम र सडकदेखि ४ फिटसम्मको वालमा रंगरोगनको काम पनि बाँकी छन् । सुरुङ मार्ग निर्माण कम्पनी चिनिया कम्पनी हो । कम्पनीले टनेल निर्माणका अधिकांश सामाग्री चीनबाट ल्याउने गरेको छ । कार्यालयकी सूचना अधिकारी एवं इन्जिनियर सौम्या आनन्दका अनुसार भदौ १० गते अघिसम्म आवश्यक निर्माण सामाग्री रसुवा नाकाबाटै आउने गरेको थियो । पछिल्लो समय इलेक्ट्रिक, सुरक्षासँग सम्बन्धित सामाग्री र केही उपकरण रसुवा नाका हुँदै आइरहेको थियो । तर, भोटेकोशीमा बाढी आएपछि सामान बाटोमै रोकियो । फेरी त्यसलाई फर्काएर कोराला नाका पुर्याइएको थियो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ फागुनमा सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि ठेक्का सम्झौता गरे पनि २०७९ अन्तिमतिरबाट निर्माण सुरु गरेको थियो । ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का लिएको कम्पनीले हालसम्म ६३ दशमलब ५५ प्रतिशत भुक्तानी लगेको छ । कम्पनीले सुरुङ मार्ग निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८३ चैत मसान्त हो । २०८१ माघ ११ गते सुरुङको ब्रेकथ्रु गरेको कम्पनीले अन्य निर्माणका काम पनि तोकिएको समय भन्दा चारमहिना अघि सक्ने गरी काम गरिरहेको छ ।








प्रतिकृया दिनुहोस्