नेपाल भित्राइएका मुर्रा राँगाको वीर्यको माग उच्च


बाँके–भारत सरकारले नेपाललाई उपहारस्वरूप दिएको उन्नत जातका मुर्रा राँगाबाट उत्पादित ‘जमेको वीर्य’ को माग अत्यधिक बढेको छ । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेका मुर्रा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु भएसँगै किसानहरूमाझ यसको माग उच्च भएको हो ।
नेपालमा रैथाने भैँसीको नश्ल सुधार गरी दुध तथा मासुको उत्पादन तेब्बरसम्म वृद्धि गर्ने उद्देश्यका साथ भारतबाट १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको थियो । तीमध्ये बाँकेमा रहेका तीनवटा मुर्रा राँगामध्ये दुई वटाबाट २०८० चैत महिनादेखि नियमित रूपमा वीर्य सङ्कलन र उत्पादन भइरहेको छ ।
पशु विकास कार्यालय बाँकेका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालका अनुसार नेपाली रैथाने वा सामान्य मुर्रा राँगाबाट गर्भाधान गराइएका भैँसीले प्रतिबेत औसत २ हजारदेखि २५ सय लिटरसम्म दुध दिन्छन् । तर, भारतबाट ल्याइएका यी उन्नत जातका राँगाको आमाको दुध उत्पादन क्षमता प्रतिबेत ३८ सयदेखि ४ हजार लिटरसम्म छ ।
आमाको दुध उत्पादन क्षमता उच्च रहेकाले यी राँगाको वीर्यबाट जन्मने पाडी वा भैँसीले पनि सोही अनुपातमा बढी दुध दिने हुँदा किसानहरूमाझ यसको आकर्षण र माग तीव्र रूपमा बढेको हो । ‘हामीले अपेक्षा गरेअनुसारकै प्रतिफल पाउन थालेपछि जमेको वीर्यको माग धान्न नै गाह्रो भइरहेको छ’ डा.खनालले भने ।
यी मुर्रा राँगाको वीर्य प्रयोग गरी गराइएको कृत्रिम गर्भाधानबाट नेपालमा सफलतापूर्वक पाडा उत्पादन भइसकेको छ । खजुरा गाउँपालिका–२ एलगाउँका किसान बमराज रेग्मीले पालेको भैँसीले यी मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको थियो । नेपाल भित्रायएका १५ वटै राँगाको वीर्यमध्येबाट भएको यो नै पहिलो सफल उत्पादन हो ।
बाँकेमा वीर्य सङ्कलन सुरु भएयता हालसम्म ३५ हजार ७२७ डोज जमेको वीर्य उत्पादन भइसकेको छ । जसमध्ये २९ हजार ६३८ डोज वीर्य देशका विभिन्न भागमा वितरण भइसकेको कार्यालयले जनाएको छ ।
भारत सरकारले २०८० मङ्सिर महिनामा नेपाललाई १५ वटा मुर्रा राँगा हस्तान्तरण गरेको थियो । बाँके बाहेक पोखरास्थित कार्यालयमा ७ वटा र लहानस्थित कार्यालयमा ५ वटा मुर्रा राँगा राखिएको छ ।








प्रतिकृया दिनुहोस्