July 10, 2026, Friday
२०८३ असार २७ शनिबार

अफ सिजनमा होटललाई ‘अफर’को भर

Advertisement

भैरहवा – वर्षात सुरु भएपछि घुमफिर गर्ने याममा विश्राम लाग्छ । बाढी, पहिरो, डुवानका कारण सडकमार्ग जोखिमपूर्ण हुन्छन् । जसले गर्दा विदेशीसँगै आन्तरिक पर्यटकको आगमनमा कमी आउँछ । यसलाई पर्यटन व्यवसायीले ‘अफ सिजन’ भन्ने गरेका छन् ।

Advertisement

यस्तो बेला होटल व्यवसाय धान्नका लागि लगानीकर्ताले फरक उपाय लगाउन थालेका छन् । मनसुनका बेला पाहुना आकर्षित गरेर व्यवसाय चलायमान बनाउन विभिन्न अफर सार्वजनिक गरिरहेका छन् । केही होटलले एक–दुई महिनाकै लागि अफर ल्याएका छन् ।

केही होटलले विशेष अवसर पारेर सिमित समयका लागि अफर सार्वजनिक गरिरहेका छन् । बुटवलस्थित पाँचतारे होटल हयात प्लेसकी एशोसियट डाइरेक्टर अफ सेल्स निशा घर्ती थापाका अनुसार शनिवार पाहुना आकर्षित गर्न फोमफेष्ट पाइजामा पार्टी आयोजना गरिएको छ । स्वदेशी र भारतीय पर्यटक लक्षित गरेर २ हजार ४ सय ९९ देखि ३ हजार ४ सय ९९ रुपैयाँका विभिन्न अफर रहेका छन् ।

त्यस्तै १४ हजार ४ सय ९९ मा दुई वयस्क र एउटा बच्चाका लागि रुम अफर पनि सार्वजनिक गरेको थापाले बताइन् । लुम्बिनी होक्के होटलले नेपाली नागरिकका लागि वेलनेश स्टे भन्दैं ४ हजार ९ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त रकम खर्च गरेमा विहान ब्रेकफाष्ट, योगा शेसन, साइकिलिङ, पिस प्यागोडा वाक, परिकारमा १० प्रतिशत छुट र डिलक्स कोठा उपलब्ध गराउने उल्लेख गरेको छ ।

सोल्टी हस्पिटालिटीले पनि आफ्ना विभिन्न स्थानमा रहेका होटल तथा रिसोर्टका लागि समर अफर ल्याएको छ । स्वदेशी र भारतीय पाहुना लक्षित गरेर रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस बाई सोल्टी र पोखराको लेकसाइडमा रहेको सोल्टी वेष्टन्र्ड पोखरा समेटेर तीन रात, चार दिनका लागि २५ हजार २ सय ५० रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ ।

उक्त प्याकेज अनुसार दुई रात पोखरास्थित सोल्टी वेष्टन्र्ड र एक रात भैरहवास्थित टाइगर प्यालेस बाई सोल्टीमा बस्न मिल्नेछ । उक्त रकममा दैनिक ब्रेकफाष्ट र डिनर, यातायात सुविधा समेटिएको छ । विभिन्न अवसर पारेर टाइगर प्यालेस बाई सोल्टीले छुट्टै अफर पनि ल्याउने गरेको छ । भैरहवास्थित पाँचतारे सिद्धार्थ भिलासाले पनि मनसुन प्याकेज सार्वजनिक गरेको छ ।

मनसुन प्याकेज रेगुलर भन्दा सस्तो हुने गरेको सिद्धार्थ भिलासाकी सेल्स म्यानेजर सालु कुँवरले बताइन् । नेपाली र भारतीय लक्षित गरेर यो प्याकेज ल्याइएको उनले बताइन् । नेपाली १३ हजार ६ सय रुपैयाँको प्याकेज खरिद गरेपछि दुई जना लाई एक रातका लागि बास, खाना, आधा घण्टा स्पा, ब्रेक फाष्ट, डिनर, स्वीमीङ पुलको सुविधा प्रदान गरिने उनले बताइन् ।

‘अफ सिजनमा पनि होटल चलायमान होस भन्ने उद्देश्य हो,’ उनले भनिन् । यो अफर जुलाई २९ सम्मका लागि रहेको छ । रुपन्देहीमा पाँच र चारतारे गरेर दुई दर्जन होटल छन् । सबै होटलले समर लक्षित गरेर अफरसँगैं छुटको व्यवस्था गरेका छन् ।

स्तरीय होटलको संख्या एक सय भन्दा बढी छ । होटल र रिसोर्टमा एक खर्ब भन्दा बढी लगानी रहेको सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बताए । यतिबेला भारतीय पर्यटक गर्मी छल्न आउने गरेका छन् । उनीहरु सिधैं मुक्तिनाथ, पोखरा गइरहेका छन् ।

‘यहाँबाट हिल स्टेशनमा जाने पर्यटकलाई एक रात भए पनि रुपन्देहीमा बसाउने उद्देश्य हो,’ उनले भने, ‘त्यसका लागि पाहुना आकर्षित गर्न बाह्रैमास विभिन्न अफर र इभेन्ट भइरहेका छन् ।’ रुपन्देहीमा जाडो याममा पनि यस्तै अफर ल्याउने गरिएको छ । यस्ता अफर रेगुलर प्याकेज भन्दा सस्तो हुने गरेका छन् । आवास र खाना सस्तो भएका बेला पर्यटक परिवारसहित घुम्न आउँछन् ।