मेसीको कीर्तिमानसँगै अर्जेन्टिना अपराजित रहँदै नकआउटमा, अल्जेरिया र अस्ट्रिया पनि पुगे


फिफा विश्वकप फुटबलमा अर्जेन्टिना शतप्रतिशत जित सहित समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ। अर्जेन्टिना अपराजित रहँदा कप्तान लियोनेल मेसीले एक अर्को कीर्तिमान बनाएका छन्।
मेसी फिफा विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। अघिल्ला विश्वकपमा लगतार ४ खेलमा गोल गरेका उनले जारी समूहचरणमा सबै तीन खेलमा गोल गर्दै यो यात्रालाई कायम राखेका हुन्।
अर्जेन्टिनाले जोर्डन विरुद्ध ३-१ को जित निकाल्दा ‘सब्सटिच्युट’ खेलाडीका रुपमा मैदान छिरेका मेसीले ८० औं मिनेटमा फ्रिकीकमार्फत आकर्षक गोल गरेका थिए। उनको यो विश्वकपमा १९ औं गोलका रुपमा रह्यो। त्यसअघि पहिलो हाफको १९औँ मिनेटमा जी. लो सेल्सोले फ्रि-किकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २-० ले पछि परेको जोर्डनका लागि ५५औँ मिनेटमा मुसा अल तामारीले एहसान हदादको पासमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएका थिए। तर, खेलको ८०औँ मिनेटमा लियोनेल मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको ३-१ को जित सुनिश्चित गरे। हारपछि जोर्डन अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
रोमाञ्चक बराबरीले दुवै टिम नकआउटमा
अल्जेरिया र अस्ट्रियाबिचको रोमाञ्चक ३-३ गोलको बराबले दुवै टोली फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका छन्।
कन्सास सिटी रंगशालामा भएको रोमाञ्चक खेलमा दुवै टोलीले निकै उत्कृष्ट प्रदर्शन गरे। खेलको २८औँ मिनेटमा एम. अर्नाउटोभिकले गोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेट आर. बेल्घालीले अल्जेरियाका लागि बराबरी गोल फर्काए।
दोस्रो हाफमा पनि खेल उस्तै रोमान्चक रह्यो। ५५औँ मिनेटमा एम. साबिट्जरले गोल गर्दै अस्ट्रियालाई पुनः २-१ को अग्रता दिलाए। त्यसको लगत्तै ६०औँ मिनेटमा अल्जेरियाका स्टार खेलाडी रियाद महरेजले गोल गर्दै खेललाई २-२ को स्थितिमा ल्याए।
खेलको ९३औँ मिनेटमा रियाद महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई ३-२ को जिततर्फ डोर्याहएका थिए। तर, खेल सकिनै लाग्दा (९६औँ मिनेटमा) अस्ट्रियाका सब्सटिच्युट खेलाडी एस. कालाज्दिचले उत्कृष्ट गोल गर्दै खेल ३-३ को बराबरीमा टुङ्ग्याए र अस्ट्रियाको संकट टारे।
यो बराबरीसँगै अस्ट्रिया समूह ‘जे’ को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ, जहाँ उसले स्पेनको सामना गर्नेछ। यस्तै, तेस्रो स्थानमा रहँदै अर्को चरणमा पुगेको अल्जेरियाले अब स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यसै खेलको नतिजाका कारण इरान भने विश्वकपबाट बाहिरिएको छ।








प्रतिकृया दिनुहोस्