June 20, 2026, Saturday
२०८३ असार ७ आईतवार

कथाः बूढो रूख र जुरेली

Advertisement

“प्रिय जून, अलिबेर अझै नअस्ताऊ है”, जुरेलीले भनी, “अन्यत्र कतैबाट उज्यालो आउने ठाउँ छैन । हेर, मैले आजको वासको टुङ्गो अझै लगाइसकेकी छैनँ ।”

Advertisement

आकाश सफा देखिए पनि मौसम निकै चिसो थियो । गोधूलिको अलिअलि उज्यालो बाँकी थियो र चन्द्रमा, पश्चिमी पहाडमाथिको आकाशमा राखिएको हिराको एउटा अर्धगोलजस्तो मात्रै देखिन्थ्यो ।

जुरेलीले अघिल्लो रातको कहर सम्झी र काँप्न थाली । कठै, कस्तो अत्यासपूर्ण अनुभव थियो त्यो ? दक्षिणतिर कसैले पूरा जङ्गल जल्ने गरी आगो झोसिदिएको थियो । जुरेलीले सानो गुँड बनाएको कटुसको रूख डढेलोमा पर्दा, त्यहाँभित्र रहेका उसका ससाना दुई बचेरा जलेर मरेका थिए ।

जुरेलीले आफ्ना सन्तानको सन्तापमा दुई थोपा आँसु खसाली, र त्यहाँबाट उडी । पर, मान्छेको बस्तीछेउ, फलामका पोस्टहरूबीच बाँधिएका बिजुलीका नाङ्गा तारहरूमा झुन्डिएर उसको रात कट्यो । उसलाई लागेको थियो, यस्ता तारहरूमा आगो सल्किँदैन । तर त्यसरी, तामाका तारमा रातभरि झुन्डिएर रात काट्नु कम कहरपूर्ण थिएन ।

सबेरै त्यहाँबाट उडेर ऊ अलि पर खुला, नाङ्गो र सपाट मैदानको बीचमा एक्लै उभिएको एउटा बूढो सिसौको रूखमा गएर एउटा हाँगामा बसी ।

केही बेरमा भनी, “प्रिय वृक्ष, आजको रात मलाई वास बस्न देऊ ल ? आखिर, हामी दुवै छिटै मर्दैछौँ ।”

“तिमी त्यस्तो कसरी भन्न सक्छ्यौ ?” रूखले सोध्यो ।

“तिम्रा गोडा जमिनमा गाडिएका छन् । तिमी हिँड्डुल गर्न सक्दैनौ । त्यसैले, दुनियाँमा के भइरहेको छ तिमीलाई थाहै हुँदैन । म त उडिरहन्छु । सबै कुरा देख्छु । कुन मुर्दाले दक्षिणको सारा जङ्गलमा आगो लगाइदिएको छ । त्यो आगो छिटै यहाँ पनि आइपुग्छ”, जुरेलीले भनी ।

“अहो, कस्तो अशुभ समाचार ? ”

रूखले दुई ठूला दाना आँसु झार्‍यो । अनि भन्यो, “प्रिय जुरेली, मेरो जीउमा एउटा छिद्र छ । तर मैले त्यहाँ एउटा लोखर्केलाई वास दिएको छु । आजको रातका लागि तिमीले त्यसलाई आश्रय बनाउन सक्छ्यौ । भोलि बिहानै जानू । मेरो लोखर्के मानसरोवर गएको छ । भोलि त पक्कै आइपुग्छ ।”

“धन्यवाद, प्रिय वृक्ष । सबेरै म तिम्रो लागि मैले जानेको सबैभन्दा मीठो गीत गाएर बिदा हुनेछु ।”

त्यस बेलासम्म चन्द्रमा सुदूरको पहाडबाट पनि घर्किसकेको थियो । “पर्ख,” जुरेलीले चन्द्रमातिर फर्केर फेरि भनी, “म ओछ्यानमा नपुग्दासम्म मलाई उज्यालो दिइराख । भोलि सबेरै, म तिम्रो लागि पनि मैले जानेको सबैभन्दा मिठो गीत गाइदिने छु ।”

जुरेलीले रूखको न्यानो छिद्रमा आफ्ना लागि सुरक्षित स्थान नभेट्दासम्म चन्द्रमाले पनि पर्खियो । जुरेलीले बढो होसियारीका साथ छिद्रभित्र हेरी । कुनै छापामार सर्प छैन भन्ने थाहा भएपछि ढुक्कसँग भित्र पसेर विश्राम लिई ।

ऊ सुरक्षित भित्र पसेर बसिसकेपछि चन्द्रमाले बिदाइको अन्तिम दृष्टि दियो र आँखा झिम्क्याएर बिदा भयो । रातको कालो पर्दाले रूखलाई चारैतिरबाट घेरा हाल्यो ।

आहा, कति न्यानो थियो त्यो रात ? छिटै जुरेली गहिरो निद्रामा परी र टाढा, श्लेष्मान्तक वनको सपना देख्न थाली । उसको सपनाको वनमा रूखहरू फलले लटरम्म थिए । माथि आकाशमा, बादलको जहाज चढेर मलया जान लागेकी राजकुमारीको सम्मानमा उसले मिठो गीत गाई । त्यस स्वप्नवनमा कहिल्यै, कुनै व्याधा आउँदैनथ्यो । उसलाई आश्रय दिने रूखमाथि कुनै दाउरेले बन्चरो प्रहार गर्दैनथ्यो ।

उज्यालो भइसकेपछि जुरेलीले “सिऽऽऽऽऽ सिट” गरेर आवाज गरी, र निदाएको रूखलाई ब्यूँझाई । फुटेको चुराको अंशजत्रो मात्रै देखियो चन्द्रमा, माऽथि आकाशमा । त्यसलाई पनि जुरेलीले “सिऽऽऽऽऽ सिट” गरेर गीत गाइदिई, र उसको गुनको मोल चुक्ता गरी ।

घाम निकै माथि आइसकेपछि जुरेलीले बूढो रूखलाई धन्यवाद दिई र आफ्नो बाटो लागी ।

उड्दै ऊ बागमती नदीमाथिको आकाशमा पुगी । तल, नदीको पानीमा नग्न बालकहरू दहमा हाम्फाल्दै भक्तहरूले फालेका सिक्का बटुल्न व्यस्त देखिन्थे । ऊ जल्दै गरेका मानवशरीरको माथिबाट पनि उडी । तिनलाई देख्दा उसले जलेर मरेका आफ्ना अबोध बचेराका निष्प्राण शरीर सम्झी । उसलाई भित्रैबाट भक्कानो फुटेर आयो । सोची, ‘चरा र मान्छे उस्तै त रहेछन् ।’

ऊ उत्तरतर्फ बेगिई ।

उत्तरतिर मनसुन तुफानको बुई चढेर प्रलय मच्चाइरहेको थियो । मुसलधारे पानीले जुरेलीलाई निथ्रुक्क भिजायो । अविरल वर्षाले त्यहाँको भिरालो भूगोलमा पहिरो लडाइरहेको थियो र त्यसमा परेर घरदेखि रूखसम्म, कटुसदेखि सल्लासम्म, सबै सबै बगिरहेका थिए । मानिसहरू भगवान् इन्द्रलाई गाली गर्दै जताततै कुदिरहेका थिए । उनीहरू शायद ठान्थे— इन्द्रले सारा नीलसागर ल्याएर त्यहाँको भूगोलमाथि खन्याइरहेका छन् ।

“यो पहिरो रोक्न एउटा पनि रूख छैन,” एकजना वृद्ध मानिसले भने । “कुन चैँ मुर्दाले सारा वन फँडानी गरिसकेछ ? यै बाढीले लैजाओस् तेल्लाई”, उनले थपे ।

‘दुःखद्’ त्यस जुरेलीले सोची, र आफ्नो पुच्छर फुत्त घुमाएर दिशा परिवर्तन गरी । ‘यो ठाउँभन्दा त म हिजो वास बसेको रूख नै जाती । जान्छु उतै । शायद अब एक रात बस्न पाउँछु ।’

रूखमा पुगेपछि जुरेलीले भनी, “प्रिय वृक्ष, तिम्रो हाँगाबाहेक अरू कतै पनि मेरो मन अडिएन । जहाँ पुग्छु मेरा बचेराकै लास सम्झन्छु । भक्कानिन्छु । मलाई थप एक रातका लागि वास देऊ न । आखिर, हामी दुवै चाँडै मर्दैछौँ क्यारे ।”

“त्यो तिमी कसरी भन्न सक्छ्यौ ?” रूखले भन्यो ।

“माथि, उत्तरतिर, भगवान् रिसाएर सारा नीलसागर धरतीमाथि खन्याइरहेका छन् । जताततै पहिरो गएर ठूला साना सबै रूख भीरैभीर बगाइरहको छ । नदीहरू भरिएर आकाश छुन थालिसकेका छन् । सारा सृष्टि सकिन्छ जस्तो छ । प्रिय वृक्ष, तिमी पनि प्रलयमा पर्यौ भने त म असाध्यै दुःखी हुनेछु ।”

“ओहो, कस्तो दुःखद्”, रूखले भन्यो, र आँसुका दुई ढिक्का जमिनमा झार्‍यो । “आजको रात यहीँ बस, प्रिय चरी । बरू बिहान उज्यालो भएपछि, मेरो शरीरबाट भैँ झरेका मेरा प्रिय पातहरूको नाममा एउटा गीत गाइदेऊ । तिनलाई सम्झेर मेरो मन कति रुन्छ”, उसले आग्रह गर्‍यो ।

“तिमी कति दयालु, प्रिय वृक्ष ? तिमीलाई धेरै धन्यवाद । बिहान म तिम्रो लागि, आफूले जानेको सबैभन्दा मीठो गीत गाइदिने छु ।”

यसरी, दोस्रो रातका लागि पनि जुरेली त्यसै रूखमा वास बसी । भोलिपल्ट बिहान, सबेरै उसले रूखबाट झरेका पातका नाममा एउटा कारुणिक गीत गाई र भनी, “मेरो प्यारो वृक्ष ? छिटै तिमी पनि आफ्ना झरेका पातसँगै हुनेछौ ।”

“कसरी ?” भर्खरै ब्यूझँदै गरेको रूखले झस्कँदै भन्यो ।

“तिमी पनि मुर्दा भएर तिनै पातहरूमाथि ढल्नेछौ । बर्सात तिमीमाथि बर्सने छ । तिमी उभिएको जमिन भासिने छ ।”

रूखले फेरि आँसुका ढिक्का खसाल्यो । बाढीले ध्वस्त पार्नुभन्दा अगाडिको जीवन सुखद रहोस् भन्ने कामना गरेर जुरेली बिदा भई । पश्चिममा सबैभन्दा मिठा खन्यूँ फल्ने रूखहरू छन् भन्ने उसले सुनेकी थिई । ऊ त्यतैतिर उडी ।

रातभरिको अविरल रोदनपछि आकाश खुलेको थियो । घामका चम्किला किरणहरूले धरती पुलकित देखिन्थ्यो । जुरेली दिनभरि उडी । अबेर दिउँसो, घामका किरणहरू सिधै आएर उसका ससाना आँखाहरूमा ठोक्किए । जुरेलीले आकाशमा तैरिरहेका धेरै रङहरू देखी — रातो, नीलो, हरियो र बैजनी ।

अलि पर कतै उसले पहेँलो टोप लगाएको एउटा मोटो मान्छे देखी । ऊ जङ्गलको बीचैबीच एउटा विशालकाय पहेँलो यन्त्र चलाइरहेको थियो । त्यस यन्त्रले आफ्नो अघिल्तिरका सारा रूख ढलाइरहेको थियो र जमिनलाई सम्म बनाइरहेको थियो ।

यसरी त्यो ठूलो यन्त्रले रूख ढाल्न र जमिन सम्याउन लागेको देखेर नजिकैको बस्तीका मान्छेहरू भेला भए । किन र केका लागि भनेर प्रश्नहरू गरिए ।

“हामी यहाँ महानगर बनाउँछौँ”, राजनेताले भने ।

केटाहरूले भने, “हाम्रा लागि एउटा खेल मैदान पनि है, नेताज्यू ।”

“स्विमिङ पुल”,  बालबालिका कराए ।

महिलाहरू देशकै सबैभन्दा ठूलो सिनेमा घरको पक्षमा थिए ।

इँटाका व्यापारी भन्दै थिए, “यहाँको माटो इँटा बनाउनलाई उत्कृष्ट छ । यहाँ एउटा इँटाभट्टा बनाउनुपर्छ ।”

जुरेलीले सोची, ‘यहाँभन्दा त बूढो रूख नै उत्तम छ मेरा लागि ।’ ऊ फनक्क फर्किई । लोखर्के फर्केर आइपुग्यो कि र रूखले वास नदिने पो हो कि भन्ने डर पनि मनमा नभएको होइन । तर पनि ऊ फर्किई ।

ऊ साँझको घुर्मैलो आकाशमा, धुवाँ र दुर्गन्धको पर्दा चिरेर उडिरही । कहरपूर्ण हावाले उसका आँखा झन्डै दृष्टिविहीन बनाइदियो ।

“प्रिय वृक्ष । म फेरि आइपुगेँ । मलाई तिम्रो धेरै नै माया छ । आज पनि मलाई वास देऊ है, अब केवल एक रातको लागि हो । आखिर, छिटै हामी दुवैको मृत्यु हुँदैछ ।”

“त्यस्तो कसरी हुन्छ ?” रूखले सोध्यो ।

“उता पश्चिममा एउटा पहेँलो मान्छेले पहेँलै यन्त्रले सबै वन फाँडिरहेको छ । महानगर बनाउने भन्दै सबै रूख ढालिरहेको छ । मलाई ऊ छिटै यहाँ पनि आइपुग्छ जस्तो लाग्छ ।”

“कस्तो भयानक ?”

रूखले आँसुका दुई ठूल्ठूला थोपा खसाल्यो । अनि भन्यो, “प्रिय चरी । तिमी एक दिन अझै वास बस, मसँग । भोलि, उज्यालो भएपछि, पश्चिममा त्यो पहेँलो मान्छेले काटेर मारेका मेरा आफन्तको नाममा एउटा गीत गाइदेऊ । अनि जानू, ल ?”

“अवश्य ।”

यति भनेर जुरेलीले त्यस बूढो रूखको मूल हाँगोको टुप्पोमा चुम्बन गरिदिई अनि आफूले वास बस्ने गरेको छिद्रमा आएर लुसुक्क पसी । धन्न लोखर्के फर्केको रहेनछ ?

“उत्तरमा आएको बाढीले शायद त्यस लोखर्केलाई मारिदियो”, जुरेलीले बूढो रूखलाई भनी ।

“त्यसो नभन, प्रिय चरी”, रूखले भन्यो । “ऊ मसँग यत्तिका दिनदेखि बसिरहेको छ । म उसलाई मेरो जीउबाट झरिगएका कुनै पातलाई भन्दा पनि बढी माया गर्छु । ऊ मर्‍यो भने त म पनि मर्छु ।”

“तिम्रो आयु लामो होस्, प्रिय वृक्ष ?” जुरेलीले भनी । तर एकप्रकारको चिसो भाव उसको हृदयमा प्रवेश गरिसकेको थियो ।

रूखले आफ्नो जीउमा बचेका थोरै पातहरूलाई सुस्तरी हल्लाउन आइपुगेको साँझको चिसो बतासलाई साउती गरेर केही भन्यो । अनि फेरि चरीतिर फर्केर भन्यो, “शुभरात्रि ।”

भोलिपल्ट बिहान सबेरै जुरेलीले आफूले जानेको सबैभन्दा कर्णप्रिय गीत गाई, र टाढा, पश्चिममा मारिएका रूखहरूको नाममा शोक–सन्देश सुनाई । यो गीत सुनेर बूढो रूख पनि ब्यूँझियो । आजसम्म उसले सुनेका गीतहरूमा यो नै सबैभन्दा कारुणिक गीत थियो ।

जुरेलीले भनी, “अब बिदा पाऊँ । राम्ररी बस्नू ल । अनि, मलाई नबिर्सनू नि ।”

“बिर्सन्नँ । शायद आज राति त मेरो लोखर्के पनि आइपुग्छ । गएको पनि धेरै दिन भइसक्यो । कस्तो निष्ठुरी, अलि छिटै घर फर्कने त नामै पो लिँदैन । ऊ नहुँदा कस्तो न्यास्रो लाग्छ आफूलाई ।”

“शायद उत्तरतिरको बाढीमा परेर मरिसक्यो ।”

“भगवान्का नाममा त्यसो नभन । उसलाई केही भइहाल्यो भने त म पनि मुटु फुटेर मर्छु ।”

“त्यस्तो त नहोस्”, जुरेलीले उदास भावमा भनी । एकछिनमा फेरि थपी, “तिमीलाई केही भइहाल्यो भने म तिम्रा लागि प्रार्थना गरिदिन्छु । अहिले म जान्छु ल ?”

जुरेलीले तीव्र गतिमा उडान भरी र पूर्वतिर लागी । पूर्वमा सृष्टिको सुरूकै दिनदेखि बग्दै आएका लामा लामा नदीका किनारमा, फाँटैभरि बयर पाकेका भेटिन्छन् भन्ने उसले सुनेकी थिई ।

पूर्वमा, धेरै नै पर पुगेपछि उसले आकाशैभरि उडिरहेका ठूला ठूला चरा देखी । उसले यस्ता भीमकाय चरा एकै ठाउँ उडेको त कहिल्यै कल्पनासम्म पनि गरेकी थिइन । कहिलेकाहीँ फाट्टफुट्ट यस्ता चरा नदेखेकी भने होइन, तर यत्तिको सङ्ख्यामा, यसरी हल्ला गर्दै उड्ने चरा उसले आजसम्म देखेकी थिइन ।

ऊ सबै पात पहेँलिएर ओइलाउन लागेको कटुसको एउटा सानो हाँगोमा बसी र ती बडेमानका चराको उडान र खेल हेर्न थाली । अहो, कस्तो भयङ्कर खेल तिनको ? बेलाबेला दुई चरा आपसमा ठोक्किन्थे, फुट्थे, र धूलोपीठो भएर भुइँमा खस्थे ।

लामो पर्खाइपछि, जुरेलीले आफूले बुझ्नै नसक्ने एउटा दृश्य देखी । आफूले देखेकामध्ये सबैभन्दा तीव्र गतिमा उड्ने एउटा कालो चराले आकाशमा उड्दाउड्दै एउटा बडेमानको अण्डा पार्‍यो । त्यो अण्डा तीव्र गतिमा भुइँमा झर्‍यो र प्रलयङ्कारी आवाजसहित फुट्यो । एकैछिनमा त्यहाँबाट धुवाँ उठ्यो र आकाशै ढाक्न थाल्यो । हेर्दाहेर्दै पूर्वको त्यस भूगोलभरि चारैतिर आगाका लप्का दौडन थाले ।

त्यो दृश्य हेर्न नसकेर जुरेली त्यहाँबाट भागी । आकाशैभरि फैलिएको जहरिलो धुवाँले झण्डै उसका कलिला फोक्सा फुटाएर ज्यान नलिएको ?

उड्दाउड्दै बाटोमा रिँगटा लागेर जुरेलीको टाउको हल्लियो । आफूले जान खोजेको बूढो रूखको दिशा पहिल्याउन उसले सकिन । रात छिपिँदै जाँदा ऊ कतै ढलभित्र पसी । तर त्यहाँको फोहोर र दुर्गन्धले ऊ झन्डै निसास्सिई । उसका साना खुट्टामुनि बगिरहेको थियो ढल । त्यसमा महानगरका अनेक किसिमका फोहोरहरू विद्यमान थिए । बेलाबेला उसका खुट्टाले त्यो लेदो र भुइँको हिलो छुन्थे । ढलमाथि भने रातैभरि खै के–केका गोडाहरू अचम्मको आवाज गर्दै कुदेको सुनिन्थ्यो । फोहोरको पानी वा लेदोमा खसेर मर्छु कि भन्ने डरले रातैभरि निदाउन सकिन जुरेली ।

जब त्यो कहरपूर्ण रात बित्यो र घाम उदायो, ऊ ढलभित्रबाट बाहिर आई र एउटा रूखमा बसी । भर्खरै झुल्किएको शिशु घामको स्वागतमा ऊ एउटा मिठो गीत गाउन चाहन्थी, तर त्यसदिन उसको गलाबाट एउटा मधुरो, र कष्टपूर्ण क्रन्दनबाहेक केही पनि निस्केन । जीवनमा पहिलोपल्ट उसलाई बोध भयो — कहिलेकाहीँ उसको गलाको गीत पनि रोकिँदो रहेछ ।

तर उसको दृष्टि भने हिजोको भन्दा अहिले अलि बढी स्पष्ट भएको थियो । उसले चारैतिर आँखा डुलाई र हेरी । पर, डाँडामा एउटा गुम्बाका लुङ्दरहरू हावामा हल्लिरहेका देखिए । ‘गुम्बाबाट पश्चिमतिर पर्छ मेरो बूढो रूख’ उसले सोची, र ढिलो नगरी त्यस दयालु रूखको एउटा हाँगामा दाखिल भई ।

ऊ धेरैबेर त्यसै हाँगामा बसिरही तर केही बोलिन । रूखलाई सुनाउनलाई ऊसँग धेरै कुरा थिए, तर उसको मुखबाट कुनै शब्द निस्कन सकिरहेको थिएन । ऊ आफूले वास बस्ने गरेको छिद्रको बाहिर, रूखका हाँगामा बसिरही । उसको शिर झुकेको थियो, र आँखा तल भुइँतिर केन्द्रित थिए ।

“ओहो”, जुरेलीले एक्कासि भनी । उसको आवाजको उसले यसअघि गाउने गरेको गीतसँग कुनै पनि समानता थिएन ।

“तिमी फर्कियौ ? राम्रो भयो । हिजो राति साह्रै न्यास्रो लागेको थियो”, रूखले भन्यो ।

“तर, वृक्ष ? अब त तिम्रो मृत्यु निश्चित छ । र, तिमीसँगै म पनि मर्नेछु ।”

“के भयो फेरि ? तिमी कसरी यस्तो भन्न सक्यौ ?” रूखले सोध्यो ।

धेरैबेरसम्म जुरेली शिर झुकाएर हाँगामा बसिरही । उसका आँखा आँसुले भरिएर आए । ती आँसु, उसका साना आँखाबाट बर्सातको पानीका थोपाजस्तै बनेर भुइँमा टप्किए ।

“तिम्रो लोखर्के तिम्रै फेदमा मृत बनेर लडेको छ । उः, तल हेर त, ऐँसेलुको बोटमुनि, झाडीमा । मरेर लडेको छ । उसको जीउ पनि अह्ररिसकेको छ ।”

“त्यसो नभन”, रूख चिच्यायो । तर उसको शिरतिर अलिअलि बचेका पातहरूले आफूमा रहेका छिद्रबाट त्यस लोखर्केको मृत शरीर देखिसकेका थिए ।

“मरिसक्यो”, जुरेलीले भनी र लामो सुस्केरा हाली । अनि एकछिनपछि फेरि भनी, “म एकपल्ट तल जान्छु । कसरी मरेछ हेर्छु ल ?”

हाँगाबाट तल ओर्लिई जुरेली । ऊ लोखर्केको छेउमा गई र उसको मृत शरीरलाई नियालेर हेरी । माथि, रूखको आँखाबाट तप्प तप्प बर्सिरहेका आँसुका ढिक्काहरू जुरेलीका प्वाँखमाथि खसिरहेका थिए । हो, कसैले गुलेलीले हानेको रहेछ लोखर्केलाई । मट्याङ्ग्राले उसको सानो शिरको बीच भागमै लागेको रहेछ । मट्याङ्ग्राले लागेको ठाउँमा भएको प्वालबाहिर अलिकति रगत सुकेर टाटो बसेको पनि देखिन्थ्यो ।

उदास र एक्लो रूखले भन्यो, “अब म पनि मर्छु ।”

“म पनि,” जुरेलीले हत्तपत्त भनी र भक्कानिई ।

यसपछि भुइँबाट भुर्र उडेर ऊ रूखको मूल हाँगोमा गएर बसी ।

“अब त सबै सकियो ? अब म तिम्रो नाममा अन्तिम गीत गाउँछु ल ?”

यसो भनेर जुरेली जीवनको करुणतम गीत गाउन थाली । उसले दक्षिणको आगलागी, उत्तरको बाढीपहिरो, पश्चिममा देखेको ठूलो पहेँलो यन्त्र तथा पूर्वमा देखेको आगोको अण्डाको कथा सुनाई । उसले जीवन, सन्तान र मृत्युको गीत पनि गाउन खोजी, तर भक्कानोले दिएन । आवाज पनि निस्कन सकेन । दुवै जनाले आँसुका अनगिन्ती ढिक्काहरू झारे ।

रूखको फेदमा मृत बनेर लडेको लोखर्केको जीउ पूरै आँसुमा भिज्यो ।

“बिदा पाऊँ, प्रिय वृक्ष”, जुरेलीले भनी, र हाँगाबाट एक्कासि भुइँमा झरी । ऊ रूखको फेदमा रहेको लोखर्केको मृत शरीरमाथि नै खसी ।

त्यसै दिन अपराह्नतिर केही सहयोगी लिएर एउटा अग्लो, मोटो मान्छे त्यहाँ आयो । उसले भन्यो, “यो त सिसौ हो । यसको काठ सिनेमाघरका सिट बनाउन सबैभन्दा उत्तम हुन्छ ।”

उनीहरूले केहीछिनमै आरा लगाए र रूख ढाले ।

—०—

(कथासङ्ग्रह ‘अपरिचित अनुहार’बाट ।  -sahityapost