June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

बाँके निकुञ्जमा कृत्रिम पोखरी निर्माण, गाउँबस्ती सुरक्षित बन्दै

Advertisement

बाँके—चरम सुख्खा र गर्मीयाम सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतहरू सुक्न थालेपछि वन्यजन्तुहरू खानेपानीको खोजीमा निकुञ्ज बाहिर निस्कन्थे । पानी र आहारा खोज्दै वन्यजन्तुहरू मानव बस्तीतिर पस्दा मानव–वन्यजन्तुबिच द्वन्द्वका घटनाहरू वर्षेनी बढ्दो क्रममा थिए । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने, स्थानीय घाइते हुने र बालीनाली सखाप हुने समस्याले निकुञ्ज आसपासका बासिन्दा सधैँ त्रासमा बाँच्नुपर्ने अवस्था थियो ।

Advertisement

तर, पछिल्लो समय यो समस्याको दीर्घकालीन समाधानका लागि बाँके राष्ट्रिय निकुञ्जले एउटा प्रशंसनीय कदम चालेको छ । निकुञ्जको भित्री र सुख्खा क्षेत्रलाई लक्षित गरी वन्यजन्तुका लागि ३० वटा कृत्रिम पोखरी निर्माण गरिएका छन ।

निकुञ्जभित्र प्राकृतिक रूपमा चङ्गाई नाला र मुगुवाखोलाबाहेक बाह्रैमहिना पानी उपलब्ध हुने अन्य कुनै भरपर्दो स्रोत छैन । वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्ज प्रशासनले सौर्य ऊर्जा (सोलार) प्रणाली जडान गरी भूमिगत पानी तानेर पोखरी भर्ने व्यवस्था मिलाएको छ ।

निकुञ्जभित्र पानीको व्यवस्था भएपछि पानीका लागि गाउँबस्तीतिर आउने वन्यजन्तुको संख्या निकै कम भएको अनुभव राप्तिसोनारी गाउँपालिकाका स्थानीय बासिन्दा प्रेमबहादुर कुमालको छ । ‘अगैयाका समुदाय र वन्यजन्तुबिच हुने द्वन्द्व उल्लेख्य रूपमा घटेको हामीले अनुभव गरेका छौँ’ उनले भने ।

निकुञ्जभित्रै बाह्रैमहिना पानी र घाँसे मैदानको उचित व्यवस्थापन भएपछि वन्यजन्तुको वासस्थानमा उल्लेख्य सुधार आएको निकुञ्ज प्रशासनको दाबी छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार वासस्थान सुध्रिएसँगै बाघको मुख्य आहार मानिने वन्यजन्तुहरूको संख्यामा समेत वृद्धि भएको छ ।

विगतका वर्षहरूमा पानी र आहाराको अभाव झेल्दै मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँके, दाङ र सल्यान जिल्लाका गाउँबस्तीसम्म पुग्ने वन्यजन्तुहरू अहिले निकुञ्जकै भित्री क्षेत्रमा रम्न थालेको भनाइ उनको छ । संरक्षणकर्मी कृष्णप्रसाद थारूले कृत्रिम पोखरी निर्माणले निकुञ्ज आसपासका मानवबस्तीलाई सुरक्षित त बनाएको बताए ।