रोटरीद्वारा बाग्लुङको विद्यालयमा कम्प्युटर प्रयोगशाला, झोला र पोशाक हस्तान्तरण


भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जैमिनी नगरपालिका–५, बागलुङस्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालयमा सहयोग गरेको छ । भैरहवाबाट सहयोग लिएर क्लब बाग्लुङ पुगेको हो ।
उक्त विद्यालयलाई १० वटा कम्प्युटरसँगै प्रयोगशाला, दुई सय थान विद्यालय झोला तथा ५ जना सविपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरेको क्लबका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । ‘हाम्रो क्लब स्थापनाको उद्देश्य नै सेवा गर्नु हो’, उनले भने, ‘यही सेवा भावले बाग्लुङ पुगेर विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरेका हौं ।’
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाले विद्यार्थीहरूलाई डिजिटल तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले शिक्षा क्षेत्रमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिने उनको आग्रह छ ।
विद्यालयका प्रधानाध्यापक भवानी आचार्यले विद्यालयको शैक्षिक तथा प्राविधिक विकासमा यस सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कम्प्युटर प्रयोगशालाको संरक्षण र प्रभावकारी उपयोग गरिने प्रतिबद्धता व्यक्त गरे । क्लबको सहयोगले विद्यार्थीहरुको मनोबल बद्धिसँगै शैक्षिक विकासमा सहयोग पुग्ने उनको भनाई छ ।
क्लबका अध्यक्ष शर्माले रोटरीको मूल मन्त्र नै सेवाभाव रहेको जनाउँदै शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि क्लब निरन्तर क्रियाशील रहने बताए । उनले सामुदायिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने रोटरीको अभियानलाई निरन्तरता दिइने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र केसी, शिक्षक अभिभावक संघका अध्यक्ष रविप्रसाद शर्मा, विद्यालयका बाल क्लबका अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का आईसीएम चेयर कृष्ण पाण्डे, क्लबका पूर्वअध्यक्ष हिराबहादुर शाह, रोटेरियन बिक्रम मल्ल, गोपाल शर्मा, शान्ति शर्मा आचार्य, राजेश अग्रहरी तथा उपेन्द्र यादव लगायतले विद्यालयको शैक्षिक विकासबारे धारणा राखेका थिए । रोटेरियनहरू अर्चना मल्ल, श्वेता बडाल तथा सुनिता लम्सालपनि सहभागिता थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालय परिवारले रोटरी क्लबप्रति आभार व्यक्त गरेका थिए । क्लबका सचिव बासु बडालको संचालनमा कार्यक्रम भएको थयो ।








प्रतिकृया दिनुहोस्