June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

गती लिने क्रममा ‘रात्रीकालिन पर्यटन’ गन्तब्यको बेलवास–बेथरी सडक

Advertisement

भैरहवा–नहरमा बगिरहेको पानी । नहरको दुबै किनारामा दुई–दुई लेनको वन वे का सडक । सडकको दुवै किनारमा आर्कषक विद्युतीय बत्तीको सजावट । बिचमा बगिरहेको नहरको पानीमा बोटिङ (डुँगा) सञ्चालन । सुन्दापनि रोमान्चित गराउने २२ किमी लामो बेलवास–बेथरी सडक खण्डको निर्माण येही अवधारणा अनुरुप २०७३ सालमा सुरु गरिएको थियो । यो सडक आवागमनकालागि मात्र नभएर पानी,बत्तिको आकर्षक सजावट र नहरमा बोटिङ (डुँगा) सञ्चालन गरेर ‘रात्रीकालिन पर्यटन’को गन्तब्य स्थल बनाउने लक्ष्य पनि हो ।

Advertisement

६ बर्ष अघि निर्माण सम्पन्न भैसक्नु पर्ने यो सडक आयोजना बजेट र संघ, प्रदेशको समन्वयको अभावले निर्माण कार्यको गती रोकिएको थियो । निर्माण कार्यमा अन्यौल देखा परेको थियो । मोतीपुर क्षेत्र (बेतहानीदेखि नहरपुरसम्म)को करिब ३ किलोमिटर सडक खण्ड बजेटको अभावले निर्माण नहुँदा खाल्डाखुल्डी, धुलो र हिलोले स्थानियवासी र यात्रु प्रताडित थिए । यात्रुले सास्ती पाउने क्रम बिगत ९ बर्षदेखि नै बिद्यमान छ ।

तर अव भने, पर्यटकीय नमूनाको रुपमा लिइएको यो सडकको थप निर्माण कार्य अगाडि बढ्ने भएको छ । पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकसँग प्रत्यक्ष जोडेर लुम्बिनीको पर्यटनका लागि ‘लाइफलाइन’ को रुपमा पनि लिइन्छ । निर्माण कार्य स्थगित हुन पुगेको यो सडकलाई चालु आर्थिक बर्षका लागि बजेट उपलब्ध गराइएपछि निर्माण कार्यले निरन्तरता पाउने भएको हो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि १८ करोड बजेट आउने सुनिश्चितता भएपछि निर्माण कार्यले निरन्तरता पाउने बताए । संघीय सरकारले सुरुमा योजना मात्र दिएपनि बजेट नदिएपछि समस्या भएकोमा अब त्यो समस्या नरहेको र अपुग बजेट पुन माग्ने भनाइ उनको छ । यो सडक २०७६ असारमा निर्माण सम्पन्न हुनु पर्ने हो । संघीय सरकारले प्रदेशलाई बजेट बिना हस्तान्तरण गरेपछि निर्माणमा अन्योल थियो । अहिले संघीय सरकारले प्रदेश मार्फत कार्यान्वयन गर्ने गरी चालु आर्थिक वर्षका लागि १८ करोड बजेट उपलब्ध गराएको छ ।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको यो सडक दानव नदीबाट निस्केको सिँचाइ नहरको दुई किनारसँग जोडिएको छ । सिंगो लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय सडक बनाउने अवधारणा छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार, नहरलाई व्यवस्थित गरी दुवैतर्फ हरियाली, नहरको दुई किनारमा सात–सात मिटरको फराकिलो सडक, २ मिटरको साइकल लेन र १ दशलमव ८ मिटरको फुटपाथ निर्माण गर्ने योजना रहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार समग्र सडकको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत मात्र छ । सुरुवाती चरणमा १ अर्ब ६७ करोड रुपैयाँको अनुमानित लागत रहेको यो आयोजनाको लागत बढेर अहिले २ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी पुग्न थालेको छ । आयोजनाको गुरुयोजना अनुसार पूर्णरूपमा पर्यटन मार्गका रूपमा विकास गर्न थप १ अर्ब रुपैयाँ आवश्यक पर्ने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डे बताउँछन् । लागत बढे पनि आवश्यकता अनुसार बजेट माग गर्दै जाने गरी स्रोतको सुनिश्चितता भएको भनाइ उनको छ ।