खाद्यमा हुन थाल्यो धानको खरिद बिक्री, बढ्न थाल्यो चहलपहल


भैरहवा–मुलुकको विभिन्न स्थानमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयहरुमा धान खरिद बिक्रीको चहलपहल भैरहदा लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा भने मंसिरको तेश्रो हप्तासम्म सुनसान थियो ।
साँवा मनसुली धानको खरिद गर्न अनुमती पाएको मुलुकभरिमैं एकमात्र यो प्रादेशिक कार्यालयमा धान खरिद कार्यक्रम खुल्ला गरेको तेश्रो हप्ता बित्न लाग्दासम्मपनि धान बिक्री गर्ने कुनैपनि किसान आएका थिएनन् । कम्पनीका कर्मचारी निराश थिए । अहिले भने यो कार्यालयको अवस्था अलि फेरिएको छ । किसान धान बिक्री गर्न आउन थालेका छन् । कार्यालयमा चहलपहल अलि बढेको छ । कम्पनीको खाली रहेका गोदाम धानको बोराले भरिन थालेका छन् ।
कम्पनीको प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकृत तथा गुण नियन्त्रण अधिकारी बसन्तराज अधिकारीले मंसिरको अन्तिम हप्तातिरबाट किसानहरु साँवा मनसुली धान लिएर बिक्री गर्न आउन थालेको बताए । ‘किसानहरु धान बिक्री गर्न आउने क्रम बढ्दो छ’ अधिकारीले भने, ‘किसानको बढ्दो उपस्थितिले हामी कर्मचारीको मनोबलपनि अलि बढेको छ ।’
उनका अनुसार, पुस ६ गतेसम्म यस कार्यालयमा करिव २० जना किसानले कम्पनीले निर्धारण गरेको मापदण्ड अनुरुपको धान बिक्री गरेका छन् । उनिहरुबाट कम्पनीले २ हजार क्विन्टल साँवा मनसुली धान खरिद गरेको छ ।
यस बर्षका लागि प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँमा किसानबाट ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने कार्यक्रम यस कार्यालयको छ । बजारमा भने येही धानको खरिद मुल्य प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मात्र छ ।
धान खरिदका लागि बजार भाउ भन्दा महँगो भुक्तानी दिँदा पनि धान बिक्री गर्न किसानहरु कम्पनीमा नआएर व्यापारी तथा मिल उद्योगमा जानुले यस कार्यालयको धान खरिद कार्यक्रम नै असफल हुने आशंका उत्पन्न गराएको थियो । कम्पनीका कर्मचारी यसको कारण खोज्दै थिए ।
प्राथमिक खरिद समितिले धान खरिद गर्ने समर्थन मुल्य कायम गरेर गत मंसिर ५ गत देखि यस कार्यालयले धान खरिद कार्यक्रम सुरु गरेको थियो । रुपन्देही आसपासका क्षेत्रमा बढी मात्रामा किसानले साँवा मनसुली धान लगाउने भएकाले भैरहवाबाट यस बर्ष सावा मनसुली धानकोमात्र खरिद गर्ने योजना कम्पनीले राखेको हो । कार्यालयका अनुसार, यतिवेला धान बिक्रीका लागि रुपन्देहीको लुम्बिनी, पर्साचोक, सियारी, मायाँदेवी कपिलबस्तुको कृष्णनगर बाणगंगा र नवलपरासीदेखि किसान आउन थालेका छन् ।

बजार मुल्य भन्दा प्रति क्विन्टल २ सय रुपैयाँ धेरै पाएपछि घरमा भएको धान बिक्री गर्न आँफु कम्पनीमा आएको रुपन्देहीको सियारी–६ मदनगञ्जका किसान गुलावचन्द्र बानियाले पब्लिककुरासँग बताए । ‘कम्पनिले धान खरिद कार्यक्रम एक महिना ढिला गर्यो । अलि पहिला खरिद गरेको भए धेरै किसान बिक्री गर्न कम्पनीमैं आउने थिए’ बानियाले भने, ‘आजभोली किसानले धान खेतबाटै व्यापारीलाई बिक्री गर्ने गर्छन् । धान काट्ने, सुकाउने, दाउने जस्ता झन्झट गर्न छाडेका छन् ।’
बनियाका अनुसार, पछिल्लो समयमा ७५ प्रतिशत किसानले धान खेतबाटै व्यापारीलाई बिक्री गर्ने गर्छन् । व्यापारी तथा मिल उद्योगले साँवा मनसुली धानसँङ्गै अन्य मोटा जातका धानको मिश्रण भएपनि खरिद गर्ने गर्छन् । काँचो धान पनि खरिद गर्ने गर्छन् । मुल्य भने कम्पनीको भन्दा केही कमी हुने गर्छ ।
कम्पनीले खरिद गर्ने धानको मापदण्ड अनुरुप धान सुक्न कम्तीमा एक महिना किसानले पर्खिनु पर्ने भएकाले किसान चाँडै काटेर व्यापारीसँग पुग्नुको मुख्य कारण भएको भनाइ बानियाको छ । ‘व्यावसायिक किसानले काटेको धान खेत वा घरमा ल्याएर एक महिनासम्म सुकाउन पर्खिने झन्झट गर्दैनन्’ बानियाले भने, ‘धान काट्नासाथ गँहु वा अन्य खेती लगाउन खेत तयार पार्न ढिला हुने गर्छ ।’
कम्पनीले खरिद गर्ने धान भुस, पराल नभएको, अन्य धान नमिसीएको, धानमा बढि चिसोपन नभएको, नबिग्रिएको लगायतका मापदण्ड आवश्यक पर्छ । सूचना अधिकृत अधिकारीले धेरै किसानले भैरहवास्थित कम्पनीको प्रादेशिक कार्यालयले मोटा धानपनि खरिद गरिदिनु पर्ने आग्रह गर्न थालेको बताए ।








लेखकको सम्वन्धमा