April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

गणतन्त्र : के सोचेको के भयो !

  • जगत नेपाल 

मुलुकमा २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन २०६५ जेठ १५ गतेको डायरीबाट यो आलेख सुुरु गर्दै छु । तिनताका म कान्तिपुर टेलिभिजनमा समाचार संयोजक थिएँ ।

Advertisement

त्यस दिन बिहान ७ बजे उठेर अफिस गएको मान्छे घर फर्किँदा त रातको १ बजेछ । थाकेर लखतरान थिएँ । मलाई कुर्दाकुर्दा पत्नी एक वर्षको छोरा च्यापेर कति बेला निदाइन् थाहा भएन । ढोका खोल्दा उनी निद्रामै थिइन् । एक मनले सोचेँ चिसो खाना ग्वामगुम खाएर पल्टिदिऊँ । अर्को मनले भन्यो — यत्रो परिवर्तन भएको छ । दिनभरका घटनाक्रम आज डायरीमा नटिप्ने हो भने ऐतिहासिक दिनको साक्षी भएको महत्त्व नै के रहन्छ र ? 

Advertisement

बिजुली बजारको डेरामा एउटा कोठा र किचनमात्र थियो । पत्नीलाई भने–  ल तिमी सुत, म एकछिन डायरी लेख्छु । उनले भनिन् — ‘तपाईंलाई  कुर्दा कुर्दा बल्लतल्ल छोरालाई सुताएकी छु । बत्ती बाल्यो भने उठ्छ । भोलि लेख्दा हुँदैन ।’

एक छिन सुत्न प्रयास गरेँ । निद्रा लागे पो । अनि कलम र डायरी समातेर किचनतिर लागेँ । चकटीमा बसेर लेख्न थाल्दा घडीमा रातको एक बजेर तीस मिनेट भएको थियो ।
२०६५ जेठ १५

विसं २०४६ सालको जनआन्दोलनपछि पत्रकारिता पेसामा आएको हाम्रो पुस्ताले प्रेस स्वतन्त्रताको भरपूर उपभोग गर्न पाएको थियो । तर, राजाले २०६१ माघ १९ मा शासन सत्ता हातमा लिएपछि ‘न्युज रुम’मा सेनाको ब्यारेक नै बस्यो । सञ्चारगृहको सुरक्षाका लागि नभएर समाचार र प्रकाशन तथा प्रसारण हुने सामग्रीमा ‘सेन्सर’ गर्न । 

मैले पढेको पत्रकारिताले भन्छ – ‘‘समाचार त्यो हो जसलाई सम्पादकले प्रकाशन वा प्रसारणका लागि स्वीकृति दिन्छ । तीबाहेक सबै सूचना हुन्, समाचार होइनन् ।’’

माघ १९ को दिन राजाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई वर्खास्त गरी मुलुकको शासनभार आफूले लिएको घोषणा गर्दा नगर्दै कान्तिपुर परिसरभित्र हतियारधारी सेनाको गतिविधि सुरु भयो । केही समयपछि त्यस दिनका लागि के के समाचार बनाउने भन्ने गृहकार्य गर्न हाम्रो बैठक सुरु भयो । 

राजाले प्रजातन्त्र खोसे, प्रधानमन्त्रीसहित प्रमुख दलका नेता सुरक्षाकर्मीको कब्जामा छन्, मिडियामा कडा सेन्सरसीप छ । तर, हामीलाई चाँही खेतीपाती, कुलोपानी जस्ता विषयमा समाचार बनाउनु भनियो । 

त्यो दिनको बैठक मेरो पत्रकारिता जीवनका लागि अविस्मरणीय छ । समाचार प्रमुख तीर्थ कोइरालाले भनेको सम्झन्छु — ‘‘राजनीतिक घटनाक्रम सबै खिचेर राख्नु । आजको समाचारका लागि चाँही होइन, बजाउन पाइयो भने अर्को वर्ष माघ १९ मा यस्तोसम्म भएको थियो भनेर समाचार बनाउन पाइन्छ ।’’

संयोगले त्यस दिन समाचार प्रमुख कोइरालाकी बहिनीको विवाह परेको थियो । उनले भने – ‘‘ल मिलाएर काम गर्नु म त हिँडे ।’’

त्यस दिन मलाई प्रधानमन्त्री निवास बालुवाटार, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगन्ज र नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित निवासका अतिरिक्त प्रमुख पार्टीका कार्यालयको दृश्य खिचेर ‘आर्काइभ’ गर्ने जिम्मेवारी थियो । सुरुमा बालुवाटार गए । प्रधानमन्त्री निवास सुनसान थियो । केही समय कुरेपछि एक नम्बर गेटबाट प्रधानमन्त्रीका सहयोगी नैनसिंह महर भेटिए । उनी भन्दै थिए – ‘‘प्रधानमन्त्री देउवा भित्रै हुनुहुन्छ । सैन्य निगरानीमा । मन्त्रीहरू केही ‘होम एरेस्ट’मा हुनुहुन्छ, केही सुरक्षा पहरा छलेर उम्किनु भयो भन्ने सूचना आएको छ ।’’

त्यसपछि हाम्रो टोली पुग्यो कांग्रेस सभापति कोइरालाको निवास महाराजगन्जमा । घर जाने बाटो सशस्त्र प्रहरीका दुईवटा भ्यान राखेर बन्द गरिएको थियो । नजिक जान दिइएन । टाढाबाट क्यामराले खिचेको दृश्यमा सशस्त्र प्रहरीको गस्ती देखिन्थ्यो ।

एकजना सुरक्षा अधिकारीले कोइरालालाई घरमै नजरबन्द गरिएको बताए । 

त्यसपछि हामी एमाले कार्यालय बल्खु र कांग्रेस मुख्यालय सानेपा पुग्याैँ । त्यहाँ कुनै गतिविधि थिएन । खाली केही सुरक्षाकर्मी तैनाथ थिए । 

अन्तिममा एमाले महासचिव नेपालको कोटेश्वरस्थित निवासमा पुग्यौँ । उनलाई पनि नजरबन्द गरिएको रहेछ । नेपालले छतबाट हात हल्लाउदै सोधेको मधुरो स्वर सुनियो –‘‘बाहिरको खबर के छ ?’’

त्यसपछि हामी अफिस आयाैँ । समाचार बनाउने आदेश नभएकाले ‘भिजुअल आर्काइभ’को काम गरे । बेलुका फेरि के के समाचार आयो र तिनलाई कसरी कुन प्राथमिकताका आधारमा बजाउने भनेर बैठक भयो । त्यत्रो घटना भएको छ, हामीले राजाको शाही घोषणाका अतिरिक्त जिल्लाबाट आएका कुलो, पानी र खेतीका समाचारमात्र बजाउने ‘रनडाउन’ बनायौँ । 

अन्तिममा सबै समाचारको कपी लिएर हाम्रा एक जना दाइ हतारहतार हिँड्दै गरेको देखियो । हामीले भन्यौ – दाइ कता ? उनी भन्दै थिए — सेन्सरका लागि सेनालाई देखाउनु पर्ने रे !’’ काम नभएपछि हामी एउटा कोठामा जम्मा भएर कुरा गर्न थाल्याैँ ।

हेर्दाहेर्दै कस्तो दिन आयो बा ? सधैँ हामी समाचारको कपी बोकेर सम्पादनका लागि सम्पादक कहाँ जान्थ्यौँ । आज त उनैले प्रधान सम्पादक (सेनाको मेजर) कहाँ धाई रहनु परेको छ । 

त्यस माघ २० गते समाचार प्रमुखको कार्यकक्षमा मेजर आफैँ आए । दुई जनाबीच एक अर्काको व्यावसायिक मर्यादा कायम राखेर काम गराैँ भन्ने कुरा भएछ । त्यसपछि सेन्सर त भयो तर समाचार सेनालाई देखाउनु परेन ।

त्यसको एक सातासम्म टेलिफोन र इन्टरनेट सम्पर्क विच्छेद गरियो । 

कुनै प्रकारको बाधाअवरोधविना पत्रकारिता गरिआएको मेरा पुस्ताले जीवन कालमा यसरी काम गर्नुपर्ला भन्ने न विश्वविद्यालयको कक्षामा पढेको थियो न त कल्पना नै गरेको हुँदो हो । 

मसहित मेरा सहकर्मीलाई शाही शासन विरोधी बनाउन यो घटनाले सबैभन्दा बढी भूमिका खेल्यो भन्ने लाग्छ । त्यसअघि मेरा एक जना साथी सधैँ दलहरूले केही गरेनन्, यीनको काम छैन, यिनीहरू भन्दा त राजै ठीक भन्ने गर्थे ।  

शाही ‘कु’ पछि भने उनी राजाको उग्र विरोधी भएर निस्किए । एक दिन मैले उनलाई त्यसको कारण सोधेँ । साथीको कुरा सुनेर चकित भएँ । उनी भन्दै थिए – ‘‘ साता दिन भइसक्यो, न इन्टरनेट छ, न मोबाइल, न त ल्यान्डलाइन । गर्लफ्रेन्डसँग कुरा गर्न पाएको हैन । आजको जमानामा मूर्खले मात्र राजालाई समर्थन गर्न सक्छ ।’’

मानिसका लागि प्रजातन्त्र, संविधान र व्यवस्था केही रहेनछ । सबैभन्दा ठूलो त स्वतन्त्रता पो रहेछ भन्ने मैले त्यही दिन बुझेँ । 

यिनै पृष्ठभूमिमा हाम्रो पुस्ताले जनआन्दोलनका समाचारलाई प्राथमिकता दिँदै गयो र राजतन्त्र विरोधी कित्तामा उभियो । 

त्यसपछिका घटनाक्रम नेपाली राजनीतिमा ऐतिहासिक छन् । दोस्रो जनआन्दोलन, माओवादी हिंसाको शान्तिपूर्ण अवतरण, अन्तरिम संसद् हुँदै मुलुक संविधान सभा निर्वाचनमा होमियो । नेपाली जनताको छ दशकदेखिको चाहनाबमोजिम बनेको पहिलो संविधान सभाको बैठकको समाचार कभर गर्न पाउनु हाम्रा लागि युगान्तकारी अवसर थियो ।  

संविधान सभा बैठक (२०६५ जेठ १५) बिहान ११ बोलाइएको भए पनि म सातै बजे अफिस पुगेँ । लाइभ प्रसारणको तयारीका लागि ओवी भ्यान अघिल्लो दिन नै तम्तयार अवस्थामा थियो । समयमै बैठक सुरु भएन भने पनि समाचारमा ‘लाइभ अपडेट’ दिनुपर्छ भनेर एक जना वरिष्ठ साथीका साथ टिम पठाउने व्यवस्था मिलाइयो । 

तर, दिनभर बैठक सुरु भएन । बेलुका पख संविधान सभा भवन आसपास बम विस्फोट भयो । क्षणक्षणमा हल्ला आइरहेको छ । दरबारले कुनै हालतमा गणतन्त्र घोषणा दिँदैन बरु त्यसअघि नै संविधान सभा भवन सेनाले कब्जा गर्नसक्छ भनेर । 

मैले बेलुका ७ बजेको समाचारमा लाइभ गराउन खोजेँ । तर फिल्डमा खटाएका वरिष्ठ साथीहरूको फोन अफ छ । अर्का साथीलाई फोन गर्न गंगा बीसीलाई भने । उनले भने – ‘अर्को साथीको फोन अफ छ । कता हो ? ’ भन्दा गंगाले सुनाए ‘दाइले मेरो कानमा बिस्तारै भन्नुभयो गंगाजी बाहिर बम पड्किएको पड्कियै छ  । मेरो डेरा पनि बानेश्वरमै छ । भर्खर बिहा गरेकी श्रीमती एक्लै छिन् । उनी डराउलिन् भनेर म त घरतिर लागेँ । यो कुरा जगतजीलाई नभन्नु रिसाउँछ । अरू मिलाएर गर्नु ।’’

झन् विश्वास गरेर पठाएको साथी । त्यसरी थाहै नदिएर हिँडेको थाहा पाएपछि झोँक पनि चल्यो । हाँसो पनि उठ्यो । ब्याक अपका लागि अर्को साथीलाई पठाएँ । सात बजेको समाचार सकिएपछि संविधान सभा भवन पुगे । 

बैठक सुरु हुँदा रातको ९.१५ बजिसकेको थियो । दलहरूबीच गणतन्त्र कार्यान्वयन भएपछि राष्ट्रपतिको काम, कर्तव्य र अधिकार के हुने भन्ने विषयमा सहमति हुन नसक्दा समय लागेको जानकारी नेताहरूले दिए । बिहानैदेखि सञ्चार माध्यमहरूले लगातार प्रत्यक्ष प्रसारणबाट पल पलका सूचना प्रवाह गरिरहेका थिए । 

बैठक सुरु भएपछि प्रधानमन्त्री कोइरालाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव राख्दै भने – ‘‘ आज मेरो सपना पूरा भएको दिन, सायद राष्ट्रको सपना पूरा भएको पनि आज नै हो ।’’ 

तालीको गडगडाहट सुरु भयो । 

ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सभामा गणतन्त्र कार्यान्वयनको प्रस्ताव राखे । जममा ६०१ सदस्यीय संविधान सभामा प्रस्तावको पक्षमा ५६० र विपक्षमा ४ मत पर्‍यो । यसरी २३८ वर्ष लामो राजतन्त्र शान्तिपूर्णरूपमा अन्त्य भयो । 

गणतन्त्रको घोषणा गर्दा रातको ११ त संविधान सभा भवनमै बजिसकेको थियो । गणतन्त्र घोषणाको खुसीयालीमा संविधान सभा भवन परिसरमा रंगीविरंगी पटाका पड्काएर आतिसवाजी गरियो । देशभर घर घरमा दीपावली भयो । 

जनताले ठाने गणतन्त्र घोषणा भएपछि नेपाली जनताले अधिकारका लागि आन्दोलन गर्नुपर्ने युगको अन्त्य भयो । गणतन्त्रको प्राथमिकता ‘‘शान्ति, समृद्धि र विकास हुनेछ ।’’ यही विन्दुमा डायरी लेख्ने काम सकियो । अब त सुत्नुपर्‍यो भनेर घडी हेरेँ । बिहानको चार बजिसकेको रहेछ । By baahrakhari online