April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

कोरोना कहरः बालबालिका कति जोखिममा ?

डा. प्रज्ज्वल पौडेल 

Advertisement

समग्र स्वास्थ्य प्रणाली कोभिड-१९ का कारण प्रभावित हुँदा बालबालिकामा भने पहिलो लहरमा यसको असर कमै परेको देखिएको थियो । विश्वभर नै १८ वर्षभन्दा तलको उमेरको समुदायमा संक्रमणको दर कम देखियो भने जटिलता र मृत्युदर पनि न्यून रह्यो ।

Advertisement

ब्रिटेनमा पहिलो पटक भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति बी-११७ अन्य मुलुकमा पनि तीव्रताका साथ फैलिएसँगै बालबालिकामा कोभिडको संक्रमण बढेको खबर एसियाली, अमेरिकी र अन्य युरोपेली मुलुकबाट पनि सुनिन थालेका छन् ।

हाल, नेपालमा २ वटा नयाँ प्रजाति बी- १.६१७ र र बी-११७को संक्रमण तीव्ररूपले फैलिरहेको पाइएको छ ।

सामान्यतः यो जीवाणु श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । त्यसपछि, नाक र घाँटीभित्र हुने ए.सी.ई रिसेप्टरसँग टाँसिने गर्छ । यी रिसेप्टरहरू कम उमेरका बालबालिकामा थोरै मात्रामा पाइन्छन् । यसैले गर्दा पनि बालबालिकामा संक्रमण न्यून रूपमा देखिएको हो । हाल सबै वर्गमा नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको छ, र बालबालिकामा पनि पहिलेको तुलनामा संक्रमण बढ्दै छ ।

केही अध्ययनले देखाएअनुसार वयस्कहरूका तुलनामा बालबालिकामा संक्रमण हुने दर एक तिहाइदेखि आधा कम हुन्छ । साथै उनीहरूबाट अरूलाई सर्न सक्ने जोखिम पनि वयस्कको तुलनामा ४० प्रतिशत कम छ । तथापि, वयस्कमा जस्तै बालबालिकामा पनि देखिने यस रोगका लक्षण भने मिल्दजुल्दा छन् । ज्वरो, रुघा, खोकी, जीउ दुख्ने, पखाला लाग्नेजस्ता लक्षण प्रायः संक्रमित बालबालिकामा देखिएका छन् ।

तर, केही बच्चामा भने धेरै ज्वरो आउने, पेट दुख्ने, आँखा रातो हुने, मुटुको धड्कन बढ्ने, हात खुट्टा र मुख सुन्निने, शरीरमा डाबर आउने, घाँटीका ग्रन्थी बढ्ने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छन् ।

यस्ता लक्षण देखिएमा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम (एमआईएस- सी) हुन सक्छ जसले कोभिड भएको केही सातामा मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि विभिन्न अंगमा असर गरी बालबालिकाको ज्यान समेत लिनसक्छ । कोभिड भएको २ देखि ४ सातापछि यो समस्या केही बालबालिकामा देखिन सक्छ । 

के नयाँ प्रजातिका कोरोना भाइरसह बढ्दै गइरहेको अहिलेको अवस्थामा बालबालिकामा गम्भीर प्रकृतिका असर बढ्ने छन् त ? यो प्रश्नले बाल चिकित्सासँग सम्बन्धित सबै विज्ञलाई चिन्तित बनाएको त छ  नै घरपरिवार र सिङ्गो समाज झनै त्रसित  छ । 

विभिन्न देशका बालरोग विशेषज्ञको अनुभवमा पहिलेको दाँजोमा अहिले बालबालिकामा हुने मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोममा संख्यात्मक वृद्धि भएको छ । यसका दुईवटा कारण हुन सक्छन् । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणमा बढी जटिलता हुनसक्छ वा हाल बालबालिकामा संक्रमण दर बढेकोले यस्ता जटिलता बढेको हुनसक्छ । 

विश्वप्रसिद्ध जर्नल द ल्यानसेटमा प्रकाशित एक अध्ययनले गत महिनामात्र लन्डनमा एक साताको अन्तरालमा ८ जना बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम वा शरीरका सम्पूर्ण अङ्गलाई गम्भीर असर गर्ने जटिल संक्रमण देखिएको पुष्टि गरेको थियो जुन पहिले एकैपटक देखिएको थिएन । यीमध्ये अधिकांशलाई उच्च ज्वरो, आँखा रातो र सुन्निने, जीउ सुन्निने, सम्पूर्ण जीउ दुख्ने र मुटुसम्बन्धी समस्या पनि देखिएको थियो । तर उनीहरु सबैलाई २-४ साता पहिले कोभिडका लक्षण भने थिएनन् ।  

लगत्तै, न्यु योर्कमा दसौं बच्चाहरूमा यस्तै जटिलता देखियो र ३ जनाको मृत्यु समेत भयो । यो विशेषगरी ३-१२ वर्ष उमेर समुदायमा देखिएको छ तर २१ भन्दा कम उमेर समूहमा पनि हुनसक्छ । 

नेपालमा कुल संक्रमितमध्ये ५-६ प्रतिशत बालबालिका हुने गरेको पाइएको थियो भने कोरोनाको दोस्रो लहरमा संक्रमितमध्ये १७ प्रतिशतभन्दा बढी बालबालिका हुनेगरेको पाइएको छ ।

नेपालको एकमात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालमा प्रतिमहिना औसतमा १० जना कोभिड संक्रमित बालबालिका उपचारका लागि भर्ना हुने गरेको उपचारमा संलग्न एक चिकित्सकको भनाइ थियो । यो साल भने वैशाखमा मात्र ३५ भन्दा बढी संक्रमित बालबालिका भर्ना भइसकेका छन्।

नेपालका बालरोग विशेषज्ञहरूको बुझाइमा कोभिड संक्रमित बालबालिकामा हाल वयस्कमा देखिएजस्तो, अक्सिजनको मात्रामा शीघ्र कमी आउने, कडा निमोनिया हुनेजस्ता गम्भीर असर बढेका भने छैनन् । अहिले संक्रमण दर बढे पनि मृत्यु दर त्यही अनुपातमा बढेको देखिएको छैन ।

गत वर्ष कोभिड भएको २ -४ सातापछि देखिने मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम केही बच्चामा मात्रै देखिएको थियो भने कोरोनाको दोस्रो लहरमा संक्रमित बालबालिकामा यो जटिलता कुन रुपमा प्रस्तुत हुने छ भन्ने आकलन अन्य देशका ट्रेन्ड हेरेरमात्र गर्न सकिने अवस्था छ ।

त्यसैले यो समयमा नानीबाबुहरूलाई उच्च ज्वरो, आँखा रातो र सुन्निने, जीउ सुन्निने, सम्पूर्ण जीउ दुख्ने, पेट दुख्ने, शरीरमा डाबर आउनेजस्ता समस्या देखिएमा तुरुन्त उपचार र परामर्शका लागि स्वास्थ संस्था लगी मृत्युको जोखिमबाट बचाउनुपर्छ ।
अध्ययन र परीक्षणले नयाँ प्रजातिको कोरोना भाइरसको शरीरका रिसेप्टरमा टाँसिने क्षमता बढी भएको र यो भाइरस पहिलेको भन्दा ३० देखि ७० प्रतिशत बढी शक्तिशाली भएको देखाएको छ ।

यसकारण नयाँ प्रजातिको भाइरसबाट बालबालिकामा पनि संक्रमण सजिलै हुन थालेको हो । एक व्यक्तिबाट अर्कोमा नयाँ प्रजातिको यो भाइरस सजिलै सर्न सक्छ भने यसले जटिलता पनि बढाउँछ । फलस्वरूप, स्वास्थ संस्थामा बिरामीको चाप बढ्ने, अक्सिजन, औषधिलगायत अन्य सामाग्री कमी हुने र मृत्युदर पनि बढ्ने गरेको हो । त्यसैले यस अवस्थामा बालबालिका कम संक्रमित भए पनि स्वास्थ संस्थाको दयनीय अवस्थाका कारण राम्रो उपचार नपाएर हुने दुःखद परिणामको उच्च जोखिममा देखिन्छन् । 
विज्ञहरूका अनुसार, महामारीका सुरुका दिनमा सर्वत्र स्कुल बन्द गरिएको र केटाकेटीमा संक्रमण कम रहेको अनि जटिलता पनि धेरै नदेखिएको हुनुपर्छ । तर, केही महिनाअघि विद्यालय भौतिकरूपमा सञ्चालन गरिनु र नयाँ प्रजाति पनि देखिनुले केटाकेटीमा संक्रमण बढेको हो ।

विश्वको ३२ प्रतिशत जनसंख्या १८ वर्षभन्दा कम उमेरका अर्थात् बालबालिकाको छ । प्रत्येक ९ जना संक्रमितमध्ये १ जना संक्रमित बालबालिका हुन्छन् र अस्पताल भर्ना भएकामध्ये २ प्रतिशत बालबालिका भएको अध्ययनले देखाएका छन् । प्रत्येक ३ हजार ५०० जना संक्रमित बालबालिका मध्ये १ जनाको मृत्यु हुने गरेको छ भने संक्रमित वयस्कमा ६० जनामध्ये १ जनाको मृत्यु हुनेगरेको पाइएको छ । 
कोभिड विरुद्धको लडाइँमा खोप प्रभावकारी भएको केही अध्ययनहरूले पुष्टि गरेका छन् । हाल उपलब्ध खोप भने १८ वर्ष माथिका व्यक्तिमा मात्र प्रयोग गरिएको छ ।

तसर्थ, बालबालिकालाई खोप लगाउनु आवश्यक छ । हाल अमेरिका र बेलायतमा बालबालिकाको लागि कोभिडको खोप सुरक्षित र प्रभावकारी भए नभएको अध्ययन, अनुसन्धान भइरहेको छ र प्रारम्भिक अध्ययनले बालबालिकामा कोभिड विरुद्धका लागि यो खोप शत प्रतिशतसम्म उपयोगी हुनसक्ने देखाएको छ ।

खोप पूर्णरूपमा तयार हुन अझै एक वर्ष लाग्नसक्छ । त्यस्तै केही  दिनअघि मात्र भारतमा २ वर्षमाथिका बच्चामा खोपको प्रभावकारिता  बारे परीक्षण सुरु भएको छ । आशा गरौँ, सन् २०२१ को अन्त्यसम्म बालबालिकाका लागि कोभिडविरुद्धको खोप अभियान चलाउन सकिएला । 
कोभिड विरुद्धको लडाइँमा यो अभियान ‘गेम चेन्जर’ हुनेछ । किनभने भाइरोलोजिस्टका अनुसार कोभिडको तेस्रो लहरमा सबैभन्दा बढी जोखिम बालबालिकालाई छ ।

अहिलेको अवस्थासम्म आइपुग्दा पहिलो लहरमा भन्दा दोस्रो लहरमा बालबालिकाका लागि खतरा बढेको छ र तेस्रो लहर आएमा खोपबाट वञ्चित यो समुदाय उच्च जोखिममा पर्ने सहजै अनुमान गर्न सकिन्छ ।  यसलाई दृष्टिगत गरी व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय  सबै तहमा समयमै पूर्वतयारी गर्नु जरुरी देखिन्छ । (बालरोग विशेषज्ञ)/ By baaharakhari.com