June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

कमरेडहरूलाई चिट्ठीः एमाले बचाउने कि नेतृत्वको अहंकार जोगाउने ?

Advertisement

आदरणीय कमरेडहरु,
अभिवादन !
आज म तपाईंलाई इतिहासको एउटा यस्तो मोड सम्झाउन चाहन्छु, जहाँ एक व्यक्तिको ‘सत्य’ पुरै राज्यको ‘सत्ता’ भन्दा भारी भएको थियो । प्राचीन युनानमा दार्शनिक सुकरातलाई राज्यले मृत्युदण्डको सजाय सुनायो । उनको अपराध यति मात्र थियो कि उनले युवाहरूलाई ‘प्रश्न गर्न’ सिकाएका थिए । उनले शासकहरूका गलत नीति र अन्धविश्वासमाथि औँला ठड्याएका थिए ।

Advertisement

जतिबेला सुकरातलाई विषको प्याला (हेमलक) पिउन दिइँदै थियो, उनका अनुयायीहरूले उनलाई जेलबाट भाग्न र ज्यान जोगाउन आग्रह गरे । तर सुकरातले मुस्कुराउँदै भने– ‘शरीर त मर्छ, तर यदि मैले आज आफ्नो सत्यसँग सम्झौता गरेर ज्यान जोगाएँ भने, मेरो विचार र मेरो आत्मा सधैँका लागि मर्नेछ । म सत्य बोलेर मर्न तयार छु, तर झुटो बनेर बाँच्न तयार छैन ।’ उनले थपे– ‘अन्वेषण नगरिएको जीवन बाँच्नुको कुनै अर्थ छैन ।’ अर्थात्, जुन संगठन वा जीवनमा प्रश्न गरिँदैन र गल्ती औँल्याइँदैन, त्यो बिस्तारै मृत बन्दै जान्छ ।

आदरणीय कमरेडहरु, नेकपा (एमाले) कुनै आकस्मिक संयोगले बनेको पार्टी (संगठन) होइन । यो झापा विद्रोहको राप र सेल कमिटीहरूको त्यागबाट उठेर आएको एउटा महाअभियान हो । यो त्यो पार्टी हो, जसले मनमोहन अधिकारी जस्ता निष्कलङ्क सादगी र मदन भण्डारी जस्ता प्रखर विचारक जन्मायो । तपाईंहरु त्यो पार्टीको सिपाही हो, जसले ‘जनताको बहुदलीय जनवाद’ मार्फत कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र जीवन्त बनाउन सिकायो । तर आज त्यही एमालेभित्र सुकरातले जस्तै ‘सत्यको प्याला’ पिउने साहस भएका नेता–कार्यकर्ताहरूको खडेरी देखिन थालेको छ ।

पार्टीभित्र नेतृत्वले लिने कतिपय निर्णयहरूले संगठनको लोकतान्त्रिक चरित्र, तपार्ईंहरुको गौरवशाली इतिहास र जनताको अटुट विश्वासलाई कमजोर बनाइरहेका छन् । हिजो पञ्चायतको कालकोठरीमा नझुकेका टाउकाहरू आज आफ्नै नेतृत्वको गलत कदममा ‘हो मा हो’ मिलाएर पद सुरक्षित गर्न व्यस्त देखिनु इतिहासकै सबैभन्दा विडम्बनापूर्ण दृश्य हो ।

तपाईंहरु जस्तो क्रान्तिकारी कार्यकर्ताहरूले पार्टीको गौरवशाली इतिहासलाई साक्षी राखेर यी गम्भीर प्रश्नमा घोत्लिनुपर्ने बेला आएको छः

१. प्रश्नको खडेरी र विचारको मरण
यदि पार्टीभित्र नेतृत्वको कार्यशैली गलत हुँदा पनि प्रश्न उठ्दैन भने, बुझ्नुहोस् त्यो संगठन विचार शून्य हुँदैछ । मदन भण्डारीले भन्नुभएको थियो, ‘विचारहीनताको दासता कम्युनिष्टका लागि मृत्यु हो ।’ जब पार्टीमा तर्कको सट्टा भक्ति र विमर्षको सट्टा तालीको खेती हुन्छ, तब बुझ्नुपर्छ कि पार्टी सुकरातको एथेन्स जस्तै गल्ती गर्दैछ ।

२. सत्यको ओजन र इतिहासको कसी
नेतृत्वलाई ‘तपाईं गलत हुनुहुन्छ’ भन्नु आजको समयमा कठिन छ, तर यो पार्टी बचाउने एक मात्र ‘औषधी’ हो । हिजो मनमोहन अधिकारी र मदन भण्डारीले सिकाएको निष्ठाको बाटो यही थियो । सत्य बोल्दा तत्कालका लागि तपाईंलाई अवसरहरूबाट वञ्चित गरिएला, टिकट नपाइएला वा पद खोसिएला, कारवाही होला तर इतिहासले तपाईंलाई एक ‘निष्ठावान योद्धा’ को रूपमा स्वर्ण अक्षरले लेख्नेछ । पद त आउँछन्, जान्छन्, तर एउटा कम्युनिष्टको नैतिकता मेटियो भने त्यो कहिल्यै फर्किएर आउँदैन ।

३. अनुशासन कि दासता ?
पार्टी अनुशासनको नाममा गलत निर्णयलाई चुपचाप स्वीकार गर्नु ‘राजनीतिक दासता’ हो । अनुशासन संगठनको मियो हो, तर जब यो विचार र विवेक बन्धक राख्ने अस्त्र बन्छ, तब यसले संगठनलाई खोक्रो बनाउँछ । सच्चा कम्युनिष्ट त्यो हो, जसले नेतृत्वलाई सही बाटो देखाउन आफ्नो अडानमा सम्झौता गर्दैन । हामीले रगत बगाएर ल्याएको लोकतन्त्र पार्टीभित्रै निसास्सिएको टुलुटुलु हेरेर बस्न मिल्दैन ।

कमरेडहरु,
यो पार्टी केवल केन्द्रीय कार्यालयको भौतिक संरचना होइन । यो त ती आमाहरूको आँसु हो, जसका छोराहरूले सुखानीदेखि छिन्ताङसम्म सहिदको माला पहिरिए । यो ती कार्यकर्ताहरूको पसिना हो जसले आफ्नो घरबारी धितो राखेर पार्टीको झण्डा उठाउँदै आएका छन् । एमाले केवल एउटा व्यक्तिको इच्छामा चल्ने ‘निजी कम्पनी’ होइन, बरु हजारौँ सहिदको रगत र लाखौँ कार्यकर्ताको पसिनाले बनेको सार्वजनिक सम्पत्ति हो ।

आज नेतृत्वको वरिपरि ‘चाकरीबाज’हरूको पर्खाल छ, जसले सत्यलाई भित्र छिर्न दिँदैन । तपाईं त्यो पर्खाल भत्काउने सुकरात बन्नुपर्छ । पार्टीका बैठकहरूमा, मञ्चहरूमा र व्यक्तिगत संवादहरूमा पनि नेतृत्वलाई ऐना देखाउने साहस गर्नुहोस् । नेतृत्वलाई यो महसुस गराउनुहोस् कि नेतृत्व जतिसुकै शक्तिशाली किन नहोस्, ऊ पार्टीको विधि, पद्धति र कार्यकर्ताको भावनाभन्दा माथि हुन सक्दैन ।

सुकरातले विष पिएर सत्यलाई जीवित राखे जस्तै, तपाईंले पनि आफ्नो राजनीतिक भविष्यको जोखिम मोलेरै भए पनि पार्टीभित्र सत्य, न्याय र आन्तरिक लोकतन्त्रको आवाज बुलन्द गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

याद राख्नुहोस्, नेताहरू बदलिन्छन्, पात्रहरू फेरिन्छन्, तर पार्टीको विचार र कार्यकर्ताको निष्ठा अमर रहनुपर्छ । भोलिको पुस्ताले हामीलाई सोध्नेछ– ‘जब पार्टी बाटो बिराउँदै थियो र नेतृत्व अहंकारमा डुबेको थियो, तिमी कहाँ थियौ र के गर्दै थियौ ?’ त्यो बेला शिर उठाएर गर्वका साथ भन्न सकियोस्, ‘म सत्यको पक्षमा उभिएको थिएँ र नेतृत्वलाई सच्चिन चेतावनी दिइरहेको थिएँ ।’

सत्य कहिल्यै पराजित हुँदैन, यो केवल केही समयका लागि ओझेल पर्न सक्छ। पार्टीलाई यो ओझेलबाट बाहिर निकाल्ने जिम्मेवारी तपाईं आमकार्यकर्ताको काँधमा छ ।

सत्य र निष्ठाको पक्षधर, तपाईंको एक शुभचिन्तक