प्रधानमन्त्रीको अभिव्यक्ति ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’: खनाल


पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भनेका छन् ।
उनले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध सङ्घर्षरत रहेको उल्लेख गर्दै देशमाथि भइरहेको अतिक्रमणलाई सामान्यीकरण गर्ने वा हलुका बनाउने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि आघात पुग्ने बताएका छन् ।
खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्ताबेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन् । उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका करोडौँ नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको दाबी खनालको छ । ‘यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ खनालले भनेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म उनको अभिव्यक्तिको विरोध र भर्त्सना गर्न सम्पूर्ण देशभक्त जनता तथा राजनीतिक शक्तिलाई आह्वान गरेका छन् । साथै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसँग आग्रहसमेत गरेका छन्। खनालले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती अभिव्यक्ति’ को संज्ञा दिएका छन् ।








प्रतिकृया दिनुहोस्