हरियो तरकारीमा ह्वास्स विष


भैरहवा– सिद्धार्थनगर–८ की शोभा खनालले सोमबार बिहान कान्छी बजारस्थित तरकारी मण्डीमा पुगेर एक मुठा खुर्सानी साग गरिद गरिन । खरिद गर्ने बेला सागको पात किराले खाए–नखाएको हेरेकी थिइन् । पात किराले खाएको देखेपछि विषादी नभएको विश्वासमा एक मुठाको २० रुपैयाँ तिरेर किनिन् । घरमा ल्याएर केलाएर पकाइन् । अहिले हरियो परियोको सिजन भएकाले पनि उनलाई उक्त साग विषादीरहित भएकोमा विश्वास लागेको थियो ।
‘पकाएर खाने बेला साग मुखमा हालेको त ह्वास्स विषको स्वाद आयो,’ उनले भनिन्, ‘पहिलो गास त निले, त्यसपछि खानै सकिनँ ।’ सागको स्वादै फरक भएपछि उनले सबैं तरकारी बारीमा फ्याँकिन । परिवारका अन्य सदस्यलाई पनि दिइनन् । पहिलोपटक उनले तरकारीमा हालेको विषादी सेवन गरेकी होइनन्, केही महिना अघि रायोको साग किनेर ल्याउँदा पनि यही नियति भोग्नु परेको थियो । ‘हरियो खाने भनेर के गर्नु,’ उनले भनिन्, ‘सिधैं पेटमा विष पुग्छ ।’
भैरहवाकै अरुणा गुरुङले केही दिन अघि बजारबाट कलकलाउँदो हरियो काँक्रा खरिद गरेर ल्याइन् । गर्मीको बेला सलाद खानुपर्छ भनेर काँक्रा खाइन् । तर, काँक्राले उनको पाचन सुधार गर्ने भन्दा घाँटीमा समस्या ल्यायो । स्वर बसेर बोल्न समस्या भयो । ‘सिजनको तरकारी भनेर खानै नसकिने भयो,’ उनले भनिन्, ‘यसरी विष सेवन गर्ने हो भने जटिल रोग लाग्ने पक्का छ ।’ गर्मीबाट बच्न पनि हरियो तरकारी र सलाद खानुपर्ने हुन्छ । दीर्घ रोगीलाई पनि सागपात जरुरी हुन्छ । ‘भैरहवाको तरकारी खाएर स्वस्थ्य होइन, रोगी हुने पक्का छ,’ उनले भनिन् ।
जिल्ला प्रशासन र नगरपालिकाले तरकारी र फलफूलमा विषादी भए–नभएको अनुगमन गर्नु पर्ने हो । भैरहवाका मण्डिमा भारतबाट तरकारी भित्रिने गरेको छ । त्यसरी भित्रिने तरकारीको नाकामा विषादी र गुणस्तर परीक्षण गरिँदैन । भारतीय गाउँ र बजारबाट सिधैं तरकारी मण्डीमा आउने गरेको छ । साइकल, मोटरसाइकलमा तरकारी ओसार्ने गरिएको छ । ‘फर्सीको मुन्टादेखि रायोको सागसम्म सीमा पारीबाट ओसार्ने गरिएको छ,’ कान्छी बजारमा भेटिएका एक स्थानीयले भने, ‘मन मारेरै तरकारी खानु परेको छ । यो तरकारीले कुन दिन के रोग लाग्ने हो पत्तैं भएन ।’
रुपन्देहीका ग्रामीण क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ । किसानले तरकारी फलाउन रासायनिक मल र विषादीको प्रयोग गर्छन् । तर, तरकारी टिपेर उपभोक्ता समक्ष लैजानु भन्दा एक साता पहिल्यैं विषादी प्रयोग गर्नुपर्छ । विषादी हालेको केही दिनसम्म विक्रीका लागि तरकारी टिप्नु हुँदैन । तर, नाफा कमाउने लोभमा किसानले पनि यस्तो मापदण्ड पालना गर्दैनन् । जसले गर्दा साधरण तरकारीका नाममा विष सेवन गर्न बाध्य छन् । अहिले भैरहवा लगायत जिल्लामा घातक र दीर्घ रोग बढिरहेका छन् । त्यसको एउटा कारण तरकारी हुन सक्ने स्थानीय बताउँछन् ।








प्रतिकृया दिनुहोस्