April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रथम इको क्लब सम्मेलन: इको क्लब अभियानलाई तिव्रता दिने निर्णय

भैरहवा- विद्यार्थी मार्फत जैविक विविधता र पर्यावरण संरक्षणलाई प्रभावकारी तुल्याउन इको क्लब अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । चितवनको सौराहामा शनिवार आयोजित प्रथम इको क्लव सम्मेलनमा यस्तो निर्णय गरिएको हो । विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालको आयोजनामा भएको सम्मेलनमा १४ जिल्लास्थित विद्यालयमा रहेका इको क्लवमा आवद्ध छात्रछात्रा र शिक्षकको सहभागिता रहेको थियो । विश्व पृथ्वी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरिएको हो ।

Advertisement

करिब तीन दशक अघि बर्दियाको जगदम्बा माबिमा पहिलो इको क्लव गठन भएको थियो । उक्त विद्यालयबाट सुरु इको क्लब अभियान अहिले मुलुकभर फैलिएको छ । वातावरण संरक्षणमा क्रियाशील विद्यार्थी र शिक्षकलाई संगठित गरेर सेन्स नेपाल संस्था बनेको हो । उक्त संस्थाले विद्यालयमा वातावरण शिक्षा लागू गरेर संरक्षणका क्रियाकलापमा जोड दिँदै आएको छ । कोरोना महामारीका कारण बीचमा गतिविधि सुस्ताएका थिए । महामारीमा कमी आएपछि सेन्स नेपालले इको क्लबका गतिविधिलाई तिव्रता दिएको जनाएको छ ।

Advertisement

विश्व वन्यजन्तु कोष (डब्लडब्लुएफ)को सहयोगमा पहिलो इको क्लव सम्मेलन आयोजना गरिएको सेन्स नेपालका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र गौतमले जानकारी दिए । विद्यार्थी मार्फत संरक्षण चेतना परिवार र समाजमा फैलाउन इको क्लब अभियान सुरुवात गरिएको उनले बताए । `पहिले विद्यालयमा मात्र सिमिति थियौं,’ उनले भने, संरक्षण अभियानलाई देशब्यापी बनाउन सञ्जाल गठन गरिएको हो । अहिले हामीले मुलुकका विभिन्न जिल्लामा संरक्षण सम्बन्धि कार्यक्रम आयोजना गरिरहेका छौं ।’

सम्मेलनमा विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले इको क्लव, संरक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका कारण मुलुकमा जैविक विविधतामा टेवा पुगेको उल्लेख गर्दै आगामी दिनमा इको क्लब अभियानलाई थप प्रभावकारी तुल्याउनु पर्नेमा जोड दिए । अहिले जताततै वातावरणमा असर देखिरहेको छ,’ उनले भने,यस्तो बेला हामीले हातेमालो गरेनौं भने हाम्रा सन्तानले दु:ख पाउँछन् । त्यसैले हामी एकजुट हुन जरुरी छ ।’

बैंकर्स अनिल केशरी शाहले तीन दशक लामो बैंकिङ करियर पूरा गरेर अहिले युवाहरुको नेतृत्व बिकासका लागि क्रियाशील हुन पाएकोमा खुसी व्यक्त गरे । अहिले पुथ्वी माताको अवस्था खलबलिएको छ,’ सम्मेलनमा उनले भने,पृथ्वीको स्वास्थ्य सुधारका लागि इको क्लवको भूमिका धेरै रहेको छ । यसमा सबै क्षेत्रबाट हातेमालो गरौं ।’ संरक्षण र पर्यावरणको महत्त्वबारे विद्यार्थी मार्फत समाजलाई संदेश पुग्ने उनले बताए । यस्ता अभियानमा सहभागिताले पृथ्वीलाई माया गर्न सिकाउँछ,’ उनले भने,अब अरुले गर्लान भनेर पर्खिने बेला छैन, हाम्रो अभियानलाई ब्यापक तुल्याउन जरुरी छ ।’

संघीय शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले २०७५ कार्तिक १५ गते हरित विद्यालय निर्देशिका तयार भइसकेको जानकारी दिए । उक्त निर्देशिका तत्काल लागू गर्न कोरोनाले बाधा पुर्यायो,’ उनले भने,अहिले अवस्था सहज भयो । अब यसले निरन्तरता पाउँछ ।’ सम्मेलनमा १४ जिल्लाबाट दुइ सयभन्दा बढी शिक्षक र विद्यार्थी सहभागी थिए । कार्यक्रममा बाग्मती, मधेश र लुम्बिनी प्रदेशस्थित शिक्षा मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागीले आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रमबारे रणनीति तयार गरिएको छ ।

सेन्स नेपालका केन्द्रिय उपाध्यक्ष पुष्पराज मरहठ्ठाले कोरोना महामारीका कारण संस्थाका गतिविधि केही सुस्त बनेको बताए । कोरोना महामारी भन्दा अगाडि संस्थाका गतिविधि तिव्र थिए,’ उनले भने,अहिले फेरि गति दिने बेला भएको छ ।’ ब्रह्माण्डको सुरक्षाका लागि बालबालिकालाई संरक्षणमा सहभागी गराउनु पर्ने उनले बताए । भेलामा हरित विद्यालय निर्माणका आधार र कार्ययोजनाबारे छलफल गरिएको उनले बताए । सेन्स नेपालका अध्यक्ष गौतमले संस्थामा बारादेखि डडेल्धुरासम्म १४ जिल्लाका पाँच सय २६ विद्यालय आवद्ध रहेको जनाए । संस्थामा दुई लाख ५० हजार विद्यार्थी गाँसिएका छन्,’ उनले भने,हरेक विद्यालयमा इको क्लव गठन गरेर संरक्षण क्रियाकलाप भइरहेका छन् ।’ शिक्षक सहभागी संस्थाका कारण विद्यार्थीको व्यक्तित्व र नेतृत्व बिकासमा सहयोग पुगेको उनले बताए । तीन दशकदेखि विद्यालयमा वातावरण समूह गठन गरेर जैविक विविधता संरक्षणका कार्य गर्दै आएको उनले बताए ।