April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

बुटवलमा १२ संक्रमितको मृत्यु

रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना रहेको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल–११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको हो । यस्तै सैनामैनाका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।
सैनामैनाकै ४२ वर्षीय पुरुषको २६ गते राति ८ बजे, बुटवल–११ का ३६ वर्षीय पुरुषको मध्यराति १२ः४५ बजे, कंचन गाउँपालिका–४ का ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
यस्तै अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका ३ जनाको शव उठाउन आफन्त कोही नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको छ । कपिलवस्तु, सैनामैना र सुनवलका संक्रमितहरुको मृत्यु पछि शव उठाउन आफन्त आएका थिएनन् । अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको हो । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।
अस्पतालकाअनुसार बुद्धभूमि नगरपालिका ४० वर्षीय पुरुषको २४ गते राति १२ः३० बजे, बुद्धभुमिकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटाका ३३ वर्षीय पुरुषको सोमबार राति ११ बजे मृत्यु भएको छ । डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र सुनवल १० नवलपरासीका ५९ वर्षीय पुरुषको २६ गते बिहान ३ः४५ बजे मृत्यु भएको थियो ।
एकैपल्ट यति धेरै संक्रमितहरुको मृत्युपछि शव व्यवस्थापनमा समस्या आएको अस्पतालका प्रवक्ता डा. गौतमले जनाए । आज थपिएका मृतकसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

Advertisement