६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा
तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको हो ।
‘शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गर्न थालेका हौं’, नगर प्रमुख बासुदेव घिमिरेले भने । केवलानीको सभाहल नयाँ रहेकाले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माणको काम तीव्रता साथ अघि बढाइएको उनले बताए ।
नगरपालिकाले केवलानीमा आवश्यक पूर्वाधार व्यवस्थाप गरी आइसोलेशन निर्माण कार्यको लागि शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख उपसचिव गंगाराम आचार्यलाई जिम्मेवारी दिएको छ ।
यस्तै, आवश्यक सहयोग एवं सहजीकरणका लागि वडा नं. ९ को कार्यालय, स्वास्थ्य शाखा, नगर प्रहरी, सूचना प्रविधि शाखालाई भनिएको छ । केवलानीमा समेत शंकरनमा जस्तै सुविधाको आइसोलेशन सेन्टर सञ्चालन गरिने कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । महामारीको पूर्वतयारी स्वरुप एक तहको कोरोना अस्पताल बनाउने गरी काम अघि बढाइएको हो ।
आइसोलेशन सेन्टरमा चाहिने जनशक्तिको समेत व्यवस्थापन गरिने बताउँदै कोरोना फोकल पर्सन भट्टराईले महामारी नियन्त्रणमा सम्बद्ध संघसंस्था, निकाय, नगरबासी सबैको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको जनाए । आइसोलेशन सेन्टरमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार हुनेछ ।
नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरिएको छ ।
यस्तै आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघसंगठनहरुलाई अनुरोध गरिएको छ । नगरपालिकाले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज—भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न÷नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्