हृदयघातका बिरामीको उपचारका लागि सिद्धार्थनगर सिटी हस्पिटलमा अत्याधुनिक सेवा



भैरहवा– हृदयघात तथा मुटुरोगसम्बन्धी समस्या भएका बिरामीलाई सहज, सुलभ र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मुटुरोगसम्बन्धी अत्याधुनिक उपचार सेवा सञ्चालनमा ल्याएको छ ।
हृदयघात भएका बिरामीको उपचारमा समय अत्यन्तै महत्वपूर्ण हुने भएकाले अस्पतालले आवश्यक आधुनिक उपकरण, प्रविधि र दक्ष चिकित्सकीय जनशक्तिसहित सेवा विस्तार गरेको हो । समयमै उपचार नपाउँदा मुटुरोगका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने भएकाले यस क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य अस्पतालले राखेको छ ।
अस्पतालका अनुसार मुटुरोगसम्बन्धी उपचारका लागि आवश्यक अत्याधुनिक मेसिन तथा उपकरण जडान गरी विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार मुटुरोगको उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो । मुटुका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न अस्पतालले आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरेको उनले जनाए ।
‘मुटुका बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने थुप्रै उदाहरण हाम्रो आसपासमै छन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन सकियोस् र उनीहरूको जीवन रक्षा गर्न सकियोस् भन्ने उद्देश्यले अस्पतालले मुटुरोगसम्बन्धी सेवा विस्तार गरेको हो,’ पौडेलले भने ।
अस्पतालले हृदयघातका बिरामीलाई लक्षित गरी २४ सै घण्टा उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । मुटुरोगसम्बन्धी उपचारअन्तर्गत एन्जियोग्राम, एन्जियोप्लास्टी, पर्मानेन्ट पेसमेकर, पेरिफेरल एन्जियोप्लास्टी, रिदमसम्बन्धी उपचार लगायतका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । साथै मुटुरोगका बिरामीलाई आवश्यक पर्ने आईसीयू तथा अन्य विशेषज्ञ उपचार सेवासमेत उपलब्ध गराइनेछ ।
अस्पतालले समयक्रमसँगै आधुनिक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्दै बहुविशेषज्ञ अस्पतालका रूपमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । रेडियोलोजी विभागमा ६४ स्लाइस सीटी स्क्यान, आधुनिक प्रयोगशाला तथा सुविधासम्पन्न शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउनु पनि अस्पतालको सेवा विस्तारका महत्वपूर्ण उपलब्धि हुन् ।
मुटुरोगसम्बन्धी अत्याधुनिक उपचार सेवा विस्तारले रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई स्थानीयस्तरमै विशेषज्ञ उपचार प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी हृदयघातजस्तो संवेदनशील स्वास्थ्य समस्यामा समयमै उपचार उपलब्ध गराउन सकिए बिरामीको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने अस्पतालको विश्वास छ ।








प्रतिकृया दिनुहोस्