November 27, 2026, Friday
२०८३ मंसिर ११ शुक्रबार

साढे ३० करोड लागतमा बन्यो सुनवल नगरपालिकाको भवन, मुख्यमन्त्रीद्वारा उद्घाटन

Advertisement

सुनवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि निर्वाचनपछि विकास र जनताको हितका लागि एक ठाउँमा उभिनुपर्ने बताएका छन् । गाउँ, पालिका, प्रदेश हुँदै सिंगो मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए।

Advertisement

शुक्रबार नवलपरासीको सुनवल नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले राजनीतिक दलहरू निर्वाचनका बेला आ–आफ्ना एजेण्डा र नारासहित प्रतिस्पर्धामा उत्रिनु स्वाभाविक भए पनि निर्वाचनपछि विकासका काममा एकताबद्ध भएर अघि बढ्नुपर्ने जनाए । ‘गाउँ बनाउन, पालिका बनाउन र सिंगो मुलुक बनाउन राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी छ’, उनले भने ।

मुख्यमन्त्री आचार्यले पछिल्लो ३५ वर्षमा मुलुकमा विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताए । हिजो धुलो उड्ने सडक रहेका ठाउँमा अहिले पक्की सडक बनेको, घरघरमा खानेपानी पुगेको र विद्यालयको अवस्थामा सुधार आएको उल्लेख गर्दै उनले विकासका उपलब्धिलाई पनि मूल्यांकन गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका कारण जनताको अपेक्षाअनुसार सबै काम गर्न नसकिए पनि विकास निर्माणका काम नभएका होइनन्, यस अवधिमा धेरै परिवर्तन भएको उनको भनाइ थियो ।

‘जनतासँग धोका दिँदैनौँ । उपलब्ध सीमित स्रोत र साधनको सदुपयोग गर्दै प्राथमिकता निर्धारण गरेका छौँ । त्यसैलाई आधार मानेर आगामी दिनमा पनि काम अघि बढाउनेछौँ’, मुख्यमन्त्री आचार्यले भने । प्रदेश सरकारले आफ्नो जिम्मेवारी र प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाइरहेको बताउँदै उनले सुनवल नगरपालिकालाई हेर्ने प्रदेश सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।

नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि भ्याटसहित ३० करोड ४४ लाख १२ हजार १२ रुपैयाँ ५३ पैसा लागत अनुमान गरिएको थियो । साढे तीन तलाको भवनमा ७५ वटा कोठा, एउटा बहुउद्देश्यीय सभाहल र चारवटा बैठक कक्ष रहेका छन् । भवनको क्षेत्रफल १ हजार ५७६ दशमलव ८५ वर्गमिटर रहेको छ ।

भवन निर्माणका लागि २०७५ फागुन २६ गते तत्कालीन नगरप्रमुख भीमबहादुर थापाको अध्यक्षता तथा तत्कालीन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीबाट शिलान्यास गरिएको थियो । २०७५ चैत ११ गते बहुवर्षीय योजनाअन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइएको भवन निर्माणका लागि २०७६ असार १२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ३६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको निर्माण कार्य २०८० माघ २३ गते सम्पन्न भएको हो ।

भवन निर्माणमा नेपाल सरकारको अर्थ मन्त्रालयबाट ४० प्रतिशत समपूरक अनुदान र सुनवल नगरपालिकाको ६० प्रतिशत लगानी रहेको छ । भवन भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अग्नि नियन्त्रण प्रणाली तथा अपांगमैत्री संरचनासहित निर्माण गरिएको भए पनि लिफ्ट जडानको काम भने बाँकी रहेको छ । भवन निर्माणका लागि स्वर्गीय मुरारी शर्माको स्मृतिमा उहाँका छोराहरू ठाकुरप्रसाद शर्मा, किशोरप्रसाद शर्मा, अशोक शर्मा र लोकेश शर्माले चार कठ्ठा जग्गा दान गरेका थिए । प्रशासकीय भवन निर्माण स्थल चार बिघा क्षेत्रफलमा रहेको छ ।