November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

मर्चवार क्षेत्र विकासको नवीन दृष्टिकोण

Advertisement

रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित मर्चवार प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, श्रमशक्ति, सीमावर्ती अवस्थिति र सांस्कृतिक सम्पदाका दृष्टिले सम्भावनायुक्त क्षेत्र हो। भारतसँगको भौगोलिक निकटता, अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य लुम्बिनीसँगको सामीप्यता तथा कृषि उत्पादनका लागि अनुकूल वातावरण यस क्षेत्रका प्रमुख आर्थिक आधार हुन्। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि मर्चवारको विकासले अपेक्षित गति र दिशा प्राप्त गर्न सकेको छैन। सडक, सिँचाइ, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापार र रोजगारीका क्षेत्रमा विद्यमान कमजोरीले यस क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा अवरोध सिर्जना गरेको छ। मर्चवारलाई विगतको विकासको पछौटेपनबाट बाहिर निकाल्न परम्परागत विकास सोचबाट माथि उठेर एकीकृत, उत्पादनमुखी र परिणाममुखी विकासको नवीन दृष्टिकोण आवश्यक छ।

Advertisement

विकासको सम्भावना र उपयोगको अवस्था
मर्चवारको अर्थतन्त्रको मुख्य आधार कृषि हो। यहाँ धान, गहुँ, मकै, दलहन, तरकारी, केरा तथा पशुपालनको व्यावसायिक विकास गर्न सकिने पर्याप्त सम्भावना छ। तर भरपर्दो सिँचाइ, आधुनिक कृषि प्रविधि, गुणस्तरीय बीउ तथा मल, कृषि प्राविधिक सेवा, भण्डारण र बजारीकरणको अभावले कृषि क्षेत्र निर्वाहमुखी प्रवृत्तिबाट माथि उठ्न सकेको छैन। किसानले उत्पादन त गर्छन्, तर उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्न कठिनाइ भोगिरहेका छन्।

मर्चवार लिफ्ट सिँचाइ आयोजनाजस्ता पूर्वाधारको पूर्ण क्षमतामा उपयोग हुन नसक्नु कृषि विकासको अर्को चुनौती हो। सिँचाइका संरचना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन, तिनको नियमित सञ्चालन, मर्मतसम्भार, विद्युत् आपूर्ति र वितरण प्रणालीलाई पनि दिगो बनाउनुपर्छ। कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानको लागत र जोखिम बढ्ने तथा बिचौलियामा निर्भरता कायम रहने अवस्था छ।

त्यस्तै, वर्षायाममा हुने बाढी, डुबान र अव्यवस्थित ढलनिकासले खेतीयोग्य जमिन, बस्ती तथा यातायातलाई प्रभावित गर्ने गरेको छ। एकातिर सिँचाइको अभाव र अर्कोतिर वर्षायाममा डुबानको समस्या हुनु विकास व्यवस्थापनको विडम्बनापूर्ण अवस्था हो। यसका लागि नदी नियन्त्रण, तटबन्ध, नाला व्यवस्थापन र प्राकृतिक जलनिकासको संरक्षणलाई एकीकृत जल व्यवस्थापन योजनासँग जोड्नुपर्छ।

भौतिक पूर्वाधारको अवस्था पनि अपेक्षाअनुसार छैन। सडकको गुणस्तर, पुल तथा कल्भर्ट, ग्रामीण सडकको स्तरोन्नति र बजारसँगको पहुँचमा सुधार आवश्यक छ। सडक विकासलाई केवल आवागमनको सुविधाका रूपमा नभई कृषि उत्पादन, बजार, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको आर्थिक पूर्वाधारका रूपमा बुझ्नुपर्छ।

मानव विकास र रोजगारीको चुनौती
कुनै पनि क्षेत्रको समृद्धि भौतिक संरचनाले मात्र सुनिश्चित गर्दैन। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सीप विकास र रोजगारी त्यसका आधार हुन्। मर्चवारमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच, विशेषज्ञ चिकित्सक, आवश्यक स्वास्थ्य उपकरण र आकस्मिक उपचार सुविधाको विस्तार आवश्यक छ। शिक्षाको क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षण सिकाइको गुणस्तर, प्रविधिको प्रयोग, प्राविधिक शिक्षा र व्यावसायिक सीप विकासमा जोड दिनुपर्छ।

स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा युवा जनशक्ति अन्य सहर तथा विदेशतर्फ आकर्षित भइरहेको छ। यसले स्थानीय अर्थतन्त्रमा श्रमशक्तिको अभाव मात्र सिर्जना गरेको छैन, उत्पादनशील उमेरको जनशक्ति पलायन हुने जोखिमसमेत बढाएको छ। स्थानीय स्रोत र सीपमा आधारित उद्योग तथा उद्यमशीलताको विकास गर्न सके यसलाई रोक्न सकिन्छ।

मर्चवारको अर्को महत्त्वपूर्ण सम्भावना सीमावर्ती व्यापार हो। भारतसँगको निकटतालाई कृषि उपजको बजार विस्तार, व्यापारिक सेवा, गोदाम, संकलन केन्द्र तथा प्रशोधन उद्योगको विकाससँग जोड्न सकिन्छ। त्यस्तै, मर्चवारीमाई, कोटहीमाई र सम्मरीमाईका धार्मिक तथा सांस्कृतिक सम्पदालाई लुम्बिनी पर्यटनसँग जोडेर नयाँ पर्यटकीय सम्भावना सिर्जना गर्न सकिन्छ। तर यी अवसरको उपयोगका लागि आवश्यक पूर्वाधार, प्रचारप्रसार र संस्थागत पहल आवश्यक छ।

विकासको दृष्टिकोणमा परिवर्तन आवश्यक
मर्चवारको विकासमा देखिएको एउटा महत्त्वपूर्ण समस्या क्षेत्रीय दृष्टिकोणको अभाव हो। कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका आ–आफ्ना योजना, प्राथमिकता र बजेट छन्। तर सडक, सिँचाइ, नदी नियन्त्रण, बजार, कृषि उत्पादन र पर्यटनजस्ता विषय प्रशासनिक सीमाभन्दा बाहिरका साझा आर्थिक तथा सामाजिक मुद्दा हुन्। एउटा पालिकाले निर्माण गरेको सडक अर्को पालिकाको बजार वा उत्पादन क्षेत्रसँग जोडिएन भने त्यसको आर्थिक उपयोगिता सीमित हुन्छ। त्यस्तै, एउटा पालिकामा गरिएको नदी नियन्त्रणको कामले अर्को पालिकाको डुबान समस्या समाधान नहुन सक्छ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात् गरेको छ। तर व्यवहारमा तीन तहका योजना, बजेट र आयोजना छनोटबीच पर्याप्त तादात्म्यता स्थापित हुन सकेको छैन। यही चुनौती मर्चवारको विकासमा पनि देखिन्छ।

संघीय शासन प्रणालीको मूल मर्मअनुसार स्थानीय आवश्यकताबाट विकासको प्राथमिकता निर्धारण हुनुपर्छ, प्रदेशले अन्तरस्थानीय तह समन्वय र क्षेत्रीय पूर्वाधारमा भूमिका खेल्नुपर्छ भने संघले राष्ट्रिय प्राथमिकता, ठूला रणनीतिक आयोजना, स्रोत व्यवस्थापन र नीतिगत सहजीकरण गर्नुपर्छ। यसरी तीन तहका सरकारको भूमिका स्पष्ट र परिपूरक हुन सके विकासको प्रभावकारिता बढ्छ।

त्यसैले मर्चवारलाई तीनवटा स्थानीय तहको प्रशासनिक सीमाभित्र सीमित क्षेत्रका रूपमा नभई साझा आर्थिक विकास क्षेत्रका रूपमा बुझ्नुपर्छ। यो सोच विकासको नवीन दृष्टिकोण हो, जहाँ प्रशासनिक विभाजनभन्दा आर्थिक अन्तरसम्बन्ध, राजनीतिक प्रतिस्पर्धाभन्दा साझा प्रतिबद्धता र वार्षिक बजेटभन्दा दीर्घकालीन नतिजालाई प्राथमिकता दिइन्छ।

दस वर्षे एकीकृत मर्चवार विकास गुरुयोजना
मर्चवारको दीर्घकालीन विकासका लागि १० वर्षे ‘एकीकृत मर्चवार विकास गुरुयोजना’ तयार गर्नु अहिलेको आवश्यकता हो। यस योजनाले सडक, सिँचाइ, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, व्यापार, पर्यटन, वातावरण र सुशासनलाई एउटै विकास दृष्टिकोणमा समेट्नुपर्छ।

पहिलो प्राथमिकता सडक तथा यातायात पूर्वाधारलाई दिनुपर्छ। मर्चवारलाई भैरहवा, लुम्बिनी र भारतीय सीमा नाकासँग जोड्ने मुख्य सडकहरूलाई चार लेनमा स्तरोन्नति गर्ने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना चल्ने गरी कालोपत्रे गर्नुपर्छ। बेलबास–बेथरी–मर्चवार सडकलाई रणनीतिक आर्थिक मार्गका रूपमा विकास गर्दै गाउँपालिका केन्द्र, कृषि उत्पादन क्षेत्र, बजार, धार्मिक स्थल र सीमावर्ती क्षेत्रलाई भरपर्दो सडक सञ्जालबाट जोड्नुपर्छ। सडक निर्माणसँगै पुल, कल्भर्ट, नाला र सडक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ। यसले कृषि उत्पादनको ढुवानी लागत घटाउनुका साथै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नेछ।

मर्चवारको मुख्य आर्थिक शक्ति र सम्भावना यहाँको उर्वर माटो हो, जसलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिक र प्रविधिमैत्री बनाउनु जरुरी छ । त्यसैले दोस्रो प्राथमिकता कृषि र सिँचाइमा केन्द्रित हुनुपर्छ। मर्चवार लिफ्ट सिँचाइ आयोजनाको स्तरोन्नति, भूमिगत जलस्रोतको दिगो उपयोग, कृषि विद्युतीकरण र आधुनिक सिँचाइ प्रविधिको विस्तार गर्नुपर्छ। आकाशे पानीको निर्भरता हटाउन डिप ट्युबवेल, सौर्य सिँचाइ प्रणाली र मझौला सिँचाइ आयोजनाको विस्तार गर्नुपर्छ।

धान, गहुँ, उखु र तरकारी खेतीका लागि पकेट क्षेत्र घोषणा गरी मल, उन्नत बीउ र प्राविधिक सहयोग सहज उपलब्ध गराउनुपर्छ। कृषिलाई उत्पादनमा मात्र सीमित नराखी प्रशोधन, भण्डारण र बजारीकरणसँग जोड्नुपर्छ। कृषि संकलन केन्द्र, शीतभण्डार, खाद्यान्न तथा तरकारी प्रशोधन उद्योग र व्यवस्थित कृषि बजार स्थापना गर्न सके किसानको आम्दानी वृद्धि तथा स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ।

तेस्रो प्राथमिकता स्वास्थ्य, शिक्षा र मानव पुँजी विकास हुनुपर्छ। मर्चवारमा सुविधासम्पन्न अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नुका साथै विद्यालय शिक्षाको गुणस्तर सुधार, प्राविधिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ। स्थानीय युवालाई कृषि, पशुपालन, निर्माण, पर्यटन, सूचना प्रविधि तथा उद्यमशीलतासँग जोड्न आवश्यक छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै स्थानीय आवश्यकताअनुसार कृषि, पशुविज्ञान र प्राविधिक शिक्षाका शिक्षालय स्थापना गर्नुपर्छ। यसले वैदेशिक रोजगारी वा अन्य सहरमा जानुपर्ने बाध्यतालाई क्रमशः कम गर्न सहयोग पु¥याउनेछ। सामान्य उपचारका लागि पनि भैरहवा वा बुटवल धाउनुपर्ने बाध्यता अन्त्य गर्न विशेषज्ञ सेवासहितको सुविधायुक्त स्थानीय अस्पताल निर्माण गर्नुपर्छ।

चौथो प्राथमिकता औद्योगिकीकरण र व्यापार विस्तार हुनुपर्छ। कृषि तथा स्थानीय कच्चा पदार्थमा आधारित औद्योगिक ग्राम स्थापना गरी चामल, दाल, दुग्ध पदार्थ, फलफूल तथा तरकारी प्रशोधन उद्योग विकास गर्न सकिन्छ। सीमावर्ती अवस्थिति उपयोग गर्दै वैधानिक व्यापार सहजीकरण, गोदाम, थोक बजार र कृषि उपज संकलन केन्द्र निर्माण गर्नुपर्छ। यसले मर्चवारलाई उत्पादन गर्ने क्षेत्रबाट उत्पादन प्रशोधन र व्यापार गर्ने आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्न सक्छ। वैदेशिक रोजगारीको विकल्पमा युवालाई सीपमूलक तालिम, सहुलियतपूर्ण कर्जा र साना तथा मझौला उद्यम सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ।

पाँचौँ प्राथमिकता पर्यटन विकास हुनुपर्छ। मर्चवारीमाई, कोटहीमाई र सम्मरीमाईका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै लुम्बिनीसँग जोडिएको धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्न सकिन्छ। विश्व शान्तिको मुहान लुम्बिनीसँग नजिकै रहेको फाइदा उठाउँदै मर्चवारीमाई मन्दिर लगायतका स्थानीय धार्मिक तथा सांस्कृतिक स्थललाई वुद्ध सर्किटसँग जोड्नुपर्छ। यसबाट स्थानीय होटल, यातायात, हस्तकला, कृषि उत्पादन र साना व्यवसायले समेत लाभ लिन सक्छन्।

छैटौँ प्राथमिकता विपद् व्यवस्थापन र वातावरण संरक्षण हुनुपर्छ। नदी तथा खोलाको जोखिम नक्साङ्कन, तटबन्ध निर्माण, प्राकृतिक जलनिकासको संरक्षण, डुबान नियन्त्रण र जलवायु अनुकूल कृषि प्रणाली विकास गर्नुपर्छ। विकासका नाममा प्राकृतिक निकास अवरुद्ध गर्ने र वातावरणीय जोखिम बढाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ। तिनाउ र दानव नदीबाट हुने कटान तथा डुबानको समस्या समाधान गर्न दिगो तटबन्ध निर्माण र जलनिकास व्यवस्थापन गर्नुपर्छ।

संस्थागत समन्वय र लगानीको नयाँ ढाँचा
दस वर्षे गुरुयोजनाको सफलताका लागि तीनवटै गाउँपालिकाको सहभागितामा एकीकृत मर्चवार विकास समन्वय परिषद् गठन गर्न सकिन्छ। यसमा सम्बन्धित गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश तथा संघीय प्रतिनिधि, विषयविज्ञ, निजी क्षेत्र र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नुपर्छ। आवश्यक कानुनी व्यवस्था र अन्तरस्थानीय तह सम्झौतामार्फत यसलाई संस्थागत गर्न सकिन्छ।

यस संयन्त्रले साझा विकास प्राथमिकता निर्धारण, आयोजना बैंक निर्माण, बजेट समन्वय, लगानी साझेदारी, कार्यान्वयन अनुगमन र उपलब्धिको मूल्याङ्कन गर्नुपर्छ। यसले स्थानीय तहको संवैधानिक अधिकारलाई प्रतिस्थापन गर्ने होइन, साझा समस्याको समाधान र क्षेत्रीय विकासका लागि सहकार्यलाई संस्थागत गर्ने हो।

गुरुयोजना कार्यान्वयनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको बजेटलाई साझा प्राथमिकतासँग आबद्ध गर्नुपर्छ। निजी क्षेत्र, सहकारी, विकास साझेदार र समुदायको सहलगानीसमेत परिचालन गर्नुपर्छ। प्रत्येक आयोजनाको लागत, समयसीमा, जिम्मेवार निकाय र नतिजा सूचक स्पष्ट हुने गरी आयोजना बैंक तयार गर्नुपर्छ।

यसका अतिरिक्त मर्चवारको सामाजिक, आर्थिक तथा भौतिक अवस्थाको आधाररेखा तयार गरी एकीकृत डिजिटल तथ्याङ्क प्रणाली स्थापना गर्नुपर्छ। कुन क्षेत्रमा कति सडक आवश्यक छ, कति जमिनमा सिँचाइ सुविधा पुगेको छ, कति किसान व्यावसायिक उत्पादनमा संलग्न छन्, कति युवा रोजगारीको खोजीमा छन् र कुन बस्ती विपद्को जोखिममा छ भन्ने तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ। विकासको सफलता बजेट खर्चको प्रतिशतले मात्र होइन, किसानको आम्दानी, रोजगारी, शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको पहुँच र नागरिकको जीवनस्तरमा आएको सुधारबाट मापन गरिनुपर्छ।

अब साझा प्रतिबद्धता आवश्यक
मर्चवारको विकास कुनै एक राजनीतिक दल, जनप्रतिनिधि वा स्थानीय सरकारको एकल जिम्मेवारी होइन। यो सम्पूर्ण क्षेत्रको साझा सरोकार हो। त्यसैले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर विकासका न्यूनतम साझा प्राथमिकता निर्धारण गर्नुपर्छ। चुनावी घोषणापत्रमा समेटिएका प्रतिबद्धतालाई गुरुयोजनामा आबद्ध गरी सरकार परिवर्तन भए पनि निरन्तरता पाउने संस्थागत व्यवस्था आवश्यक छ।

यसका लागि पहिलो चरणमा तीनवटै गाउँपालिकाले संयुक्त बैठक गरी गुरुयोजना निर्माणको औपचारिक पहल गर्नुपर्छ। त्यसपछि विस्तृत अध्ययन, स्थानीय नागरिकसँग परामर्श, आयोजना छनोट, लागत अनुमान र वित्तीय स्रोतको पहिचान गरी गुरुयोजनालाई सम्बन्धित गाउँसभाबाट स्वीकृत गराउन सकिन्छ। संघीय तथा प्रदेश सरकारसँग समेत साझा विकास प्रतिबद्धता र लगानी साझेदारीको प्रस्ताव प्रस्तुत गर्नुपर्छ। यस प्रक्रियामा किसान, युवा, महिला, व्यवसायी, बुद्धिजीवी तथा नागरिक समाजको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्छ।

मर्चवारको समस्या सम्भावनाको अभाव होइन, सम्भावनालाई परिणाममा रूपान्तरण गर्ने प्रभावकारी योजना र कार्यान्वयनको कमी हो। उर्वर भूमि भएर पनि किसानले सिँचाइ र बजारको समस्या भोग्नुपर्ने, सीमावर्ती क्षेत्र भएर पनि व्यापारिक अवसर उपयोग गर्न नसक्ने, लुम्बिनीसँग नजिक भएर पनि पर्यटनको लाभ लिन नसक्ने र युवा जनशक्ति भएर पनि स्थानीय रोजगारी सिर्जना नहुने अवस्था बदल्न अब ढिला गर्नु हुँदैन।

मर्चवारलाई विकासको मूल प्रवाहमा ल्याउन अब टुक्रे आयोजना र अल्पकालीन सोचबाट माथि उठ्नुपर्छ। साझा दृष्टिकोण, एकीकृत योजना, पर्याप्त लगानी, अन्तरसरकारी समन्वय र परिणाममुखी कार्यान्वयन नै यसको आधार बन्नुपर्छ।

मर्चवारको विकास अब आश्वासनबाट होइन, साझा प्रतिबद्धताबाट, टुक्रे आयोजनाबाट होइन, एकीकृत गुरुयोजनाबाट र बजेट खर्चबाट होइन, नागरिकको जीवनस्तरमा देखिने परिणामबाट मापन हुनुपर्छ।
(लेखक पाण्डेय मर्चवारका स्थानीय बासिन्दा हुन् । हाल उनी नेपाल सरकारको उपसचिव छन् ।)