November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रूपन्देहीमा कार्तिक महिनामा १३० मुद्दा दर्ता, २३४ सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Advertisement

भैरहवा– रुपन्देहीमा गएको कात्तिक महिनामा विभिन्न अपराधका १३० वटा मुद्दा दर्ता भएका छन् । यो तथ्यांक जिल्ला प्रहरी र मातहतका कार्यालयसहितको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सार्वजनिक गरेको कात्तिक महिनाको प्रगति विवरणअनुसार उक्त अवधिमा १२६ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

Advertisement

प्रहरीसका अनुसार एक महिनाको अवधिमा ज्यान सम्बन्धी २६, आत्महत्याका १३, चोरीका ११, संगठित तथा आर्थिक अपराधका ३५, सामाजिक अपराधका २२, महिला तथा बालबालिकाका ११, सवारीका ११ र विविध एउटा मुद्दा दर्ता भएका छन् ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्णकुमार चन्दले कार्तिक महिनामा अपराध नियन्त्रण र शान्ति, सुरक्षा कायम गर्न रुपन्देही प्रहरी सफल भएको जनाए ।

उनले भने, ‘चार्डपर्वको बेलामा जिल्लाभर एक हजार दुई सय प्रहरी परीचालन गरेका थियौं । सुक्ष्म निगरानीका कारण शान्ति पूर्वक चाडपर्व सम्पन्न भएका छन् ।’

प्रहरीका अनुसार कार्तिक महिनामा रुपन्देहीमा २३४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ६ जनाको मृत्यु हुँदा ३७३ जना घाइते भएका छन् भने दुर्घटनामा ३३० वटा सवारीसाधन संलग्न थिए ।

प्रहरीले ट्राफिक चेकजाँचका क्रममा २ हजार १७२ वटा सवारीसाधनलाई कारबाही गरी ३६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कात्तिक महिनामा प्रहरीले अनुसन्धान गरेको महत्वपूर्ण घटनाका रूपमा कोटहीमाई गाउँपालिका–६ र ७ बीचको धानखेतमा एक महिलाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ४१ वर्षीया जुबेदा खातुनको हत्या गरी कानमा लगाएको सुनको गहना लुटिएको घटनामा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, १८ वर्षअघि भएको गोली हानी हत्या घटनाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरेको छ । लागूऔषध नियन्त्रणतर्फ पाँच मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले विभिन्न प्रकारका लागूऔषध ४३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ । यसैगरी, अवैध भन्सार छली नियन्त्रणका क्रममा आठ जना पक्राउ परेका छन् भने नौ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । जसबाट एक करोड ७३ लाख २० हजार ८९४ रुपैयाँ राजस्व संकलन भएको डीएसपी चन्दले जनाए ।

प्रहरीका अनुसार कात्तिक महिनामा आगलागीका १२ सहित १८ वटा विपद्का घटना भएका छन् । साथै, सार्वजनिक स्थानमा देउसीभैलोका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।