लघुकथा: साहित्य र समाज


ती दिनहरूमा– जब म लेखक बन्न चाहन्थें, आफूले लेखेको कथा समाजसँग मिल्यो मिलेन भन्नेमा मलाई ठूलो चासो हुने गर्थ्यो ।
विद्वान्, संवेदनशील र मेरो लेखनप्रति सधैँ सदाशयता देखाउने मेरो एकजना पुरानो साथी थियो । एकपल्ट मेरो एउटा कथा उसलाई पठाएँ, “हेरिदेऊ है” भनेर ।
धेरै दिनसम्म उसले जवाफ दिएन । व्यस्त होला भनेर मैले प्रतीक्षा गरिरहेँ, तर ऊ मौन नै रह्यो । समय बित्यो, मैले पनि बिर्सिएँ ।
फेरि अर्को कथा लेखेँ । फेरि उसैलाई पठाएँ । यसपटक पनि ऊ अल्छीझैँ चुपचाप ! म ढुक्क भएँ– अब उसले कथा पढ्दैन ।
केही महिनापछि म तेस्रो कथामा डुबें । लेखिसिध्याएर हेर्दा– संयोगवश, मुख्य पात्रको नाम त त्यही साथीकै नामसँग मिल्न पुगेछ ! झ्वाट्ट उसैलाई सम्झिएर फेरि पनि उसैलाई पठाउन मन लाग्यो । यस पटक पढिदिन्छ कि भन्ने आसमा, मजाकमै एउटा म्यासेज पनि लेखें– “तिम्रै कथा हो, पढ है !”
भोलिपल्टै ऊ घाइते आवाजमा फोनमा झस्कियो, “ए, तिमीले मेरो गोप्य कुरा कसरी थाहा पायौ ? कसले भन्यो ?”
म अचम्ममा परेँ । “यो त काल्पनिक कथा हो, मित्र”, मैले सम्झाएँ । तर उसले मान्दै मानेन । झन् झन् आत्तिँदै भन्न थाल्यो, “अनि कसरी ठ्याक्कै मिल्छ त ? प्रेम प्रस्ताव, औंठी उपहार, विवाहको वाचा…अनि अन्त्यमा धोखा !”
म अवाक भएँ । जे होस– आफूले लेखेको कथा समाजसँग मिलेछ भन्नेमा मलाई आनन्द र सन्तोष भयो ।
–sahityapost








प्रतिकृया दिनुहोस्